कोरोना डरबीच पनि केन्द्रीय राजधानी काठमाडौंलाई यति बेला दसैंको रौनकले छपक्कै छोपेको छ।
कतिपयलाई थातथलो पुग्ने हतारो छ त कतिलाई किनमेलको चटारो। दसैंको किनमेलमा छुट्दै नछुट्ने वस्तु हो माछामासु। त्यसमा पनि खसीबोकाको मासु दसैंसँगै जोडिएर आउँछ।
अन्य समयमा भन्दा दसैंको पूर्वसन्ध्यामा खसीबोकाको मासुको विशेष महत्व हुन्छ। दसैं कहिले आउला र खसी खाउँला भन्ने त आमजनमानसमा भनाइ नै बनेको छ।
राजधानीवासीलाई खसीबोका खोज्न परपर धाइरहनु पर्दैन। एक त सरकारले आफैं पनि खाद्य संस्थान मार्फत बिक्री-वितरण गर्दै आएको छ। अर्कोतिर उपत्यका आसपासका ठाउँबाट घरमा पालेको खसीबोका बेच्न स्थानीयहरू आफैं ग्राहकसम्म धाउँछन्।
यसरी धाउनेमध्येका एक व्यापारी हुन्, मोतिमाया बल। उनी काभ्रे, तालढुङ्गाकी स्थायी वासिन्दा हुन्। दसैंले लाली हाल्ने समयमा उनी हरेक वर्ष खसीबोका लिएर उपत्यका आउँछिन्।
बबरमहल मोतिमायाको प्रिय स्थान हो। उनीसँग विगतका वर्षमा त्यहीँबाट व्यापार गरेको अनुभव छ। यस वर्ष पनि उनी खसीबोका बेच्न उपत्यका आएकी छन्। तर, कोरोना कहर समयमा उनले सोचेजस्तो व्यापार भएन।
'पोहोर पोहोर त थुप्रो हुन्थ्यो। अहिले त छैन,' उनलाई अलि दिक्क लागेको छ।
यसरी व्यापार गर्ने योजना कसरी बन्यो भन्ने हाम्रो प्रश्नमा उनले आफ्ना बाबुबाजेकै पेसा अँगालेको बताइन्।
भनिन्, 'मेरा बाबाले यहीँ ल्याएर बेच्ने गर्नु हुन्थ्यो। पछि मेरो बिहे भएपछि श्रीमानले पनि निरन्तरता दिनुभएको छ। हामीसँगै छोरा पनि यहीँ छ। हामी पछि उसले गर्छ होला!'
नयाँ पुस्ताले परम्परागत पेसा अँगाल्छन् भन्नेमा भने उनी निश्चिन्त भने छैनन्।
मोतिमायाको खसी स्टल बबरमहल, आर्ट काउन्सिलको आडैमा छ। त्यहाँ निख्खर काला बोकादेखि छिर्केमिर्के खसी बेच्न राखेकी छन् उनले। प्रतिकिलो ६ सय रूपैयाँ तिरेपछि ग्राहकले रोजेरै किन्न पाउँछन्।
अन्य रङका बोकाभन्दा काला बोकाको प्रतिकिलो ५० रूपैयाँ महँगो पर्छ।
किन त?
उनी सहज जवाफ दिन्छिन्, 'दसैंमा कालो बोको भाकल पूरा गर्न प्रयोग हुने भएकाले त्यसको विशेष महत्व हुन्छ। विशेष चिज त अलिक महँगो हुने भैहाल्यो।'
यी खसीबोका काभ्रेको तालढुङ्गाबाट पनौतीसम्म उनीहरू हिँडाएरै ल्याउँछन्। त्यसपछि काठमाडौंसम्म ओसार्न बल्ल गाडीमा हाल्छन्। ग्रामिण भेगमा यातायात महँगो भएर त्यसो गर्नु परेको उनी गुनासो गर्छिन्।
उनीहरूले खसीबोका व्यापार गरेर आफ्नो मात्र होइन, अरूहरूको पनि गर्जो टार्दिने गरेका छन्। मोतिमाया भन्छिन्, 'गाउँबाट आफ्नो मान्छे भए मात्र हो उधारोमा दिने। नत्र नगदमा किनेर ल्याउनुपर्छ।'
यति भनेर एकैछिन सोचे झें गरिन् र फेरि भन्न सुरू गरिन्, 'ब्याजमा पैसा तिरेर व्यापार गर्दा नाफा मात्र होइन, घाटा पनि हुन्छ। अब यी स्याहार गर्ने केटाहरूलाई पनि ज्याला ज्याला दिनुपर्यो। खाने-खुवाउने खर्च र पनौतीबाट काठमाडौंसम्म ल्याएको गाडी भाडा कटाउँदा त आफूलाई थोरै मात्र जोगिन्छ। तै पनि काम हो, गर्नु पर्छ। नाफाघाटा त भई नै रहन्छ।'
उनको पेसाप्रतिको बफादारी तारिफयोग्य सुनिन्छ।
मोतिमायाको स्टलमा करिब सय हाराहारी खसीबोका देखिन्थे। कम भयो भने पनौतीमा रहेको 'स्टक' काठमाडौं ल्याउँछन्।
उपत्यकामा मोतिमाया जस्ता व्यापारी धेरै छन् जो खुला सडकमा गाँस हाल्दै छाक टार्ने मेसो गरिरहेछन्। आफ्नो किनमेलको सानो अंश यता खर्चिएर चाडवाड अझै उल्लासमय बनाउन सकिने खसी किन्न आएका सुरेन्द्रले भने।
'हामी जहिल्यै यतै आएर किन्छौं। चाहेजस्तो खसी भेटियो,' उनी खुसी पनि देखिन्थे।