ललितपुर, पुल्चोकमा छ बंगलामुखी पान पसल। यसलाई धेरैले 'फेमस पान पसल' पनि भन्छन्। यो पसलका सञ्चालक हुन् यशोधरा र टेकबहादुर अधिकारी।
पसलको पानले नेपाली मात्र नभई विदेशी समेतलाई लोभ्याउँछ। पान पारखीहरू यो पसल खोज्दै टाढादेखि आउँछन्।
उमेरले सात दशक पार गरिसकेका अधिकारी दम्पती आफूहरू संयोगले पान व्यवसायी बनेको बताउँछन्।
टेकबहादुरको घर लमजुङ हो। गाउँबाट उपत्यका आउँदासम्म उनले पान खाएका मात्रै थिए। बनाउने कुनै अनुभव थिएन।
'कुरा यस्तो छ,' अनुभव सुनाउँदै उनले भने, 'मान्छेले कुनै पनि सीप जन्मजात लिएर आएको हुँदैन। सिक्दै जाने हो। मैले पनि पसल थापेपछि मात्रै जानेको हुँ।'
पानको महत्व के? टेकबहादुर यसलाई आफ्नै हिसाबमा बुझाउँछन्।
'पानको पातले प्रेम पनि दर्शाउँछ। तर यसको पूजाआजामा पनि उत्तिकै प्रयोग हुन्छ,' उनले भने।
उनका अनुसार नेपाली समाजमा पानको विशेष महत्व छ। देवकार्य तथा पितृ कार्यमा पनि पान अपरिहार्य मानिन्छ। त्यति मात्र नभई रूघाखोकी लाग्दा, सुत्केरी हुँदा पनि पान खाए छिटो ज्यान तंग्रिने विश्वास छ। धनाढ्यहरूले भोज-भतेर गर्दा प्रतिष्ठाका रूपमा पनि पान उपयोग गर्ने चलन रहेको उनले बताए।
पानको व्याख्या गर्न टेकबहादुर पोख्त भए पनि यो पसल खासमा यशोधराले खोलेकी हुन्।
टेकबहादुर र यशोधराको भेट पनि पानको पात झैं प्रेमील छ। लमजुङका टेकबहादुर काठमाडौं उपत्यका उक्लनुअगाडि केही समय बुटवलमा शिक्षक थिए। त्यतिबेलै उनको भेट यशोधरासँग भयो।
हँसिली यशोधरासँगको भेटघाट प्रेममा बदलिन समय लागेन। अन्तरजातीय प्रेम समाजले स्वीकार्नु निक्कै सकसपूर्ण विषय थियो। समाजको पर्वाह नगरी प्रेमलाई लगनगाँठोसम्म डोर्याए। केही समयपछि उपत्यका आए।
पान व्यवसायी बन्नुअघि टेकबहादुर साझा यातायातमा जागिरे थिए। साझाको जागिरले दुई ज्यान जसोतसो धानिएकै थियो। तर यशोधरा श्रीमानको कमाइमा मात्र भर परेर बस्न सकिनन्। उनलाई पनि पाखुरा चलाएर केही गर्ने हुटहुटी थियो।
दुःखसुख जोगाएको दुई हजार रूपैयाँ उनीसँग थियो। त्यही पैसाले होटल चलाउने योजना बुन्दै थिइन्। उनीहरूले फर्निचर पनि जडिसकेका थिए। तर नियतिले अर्कै मोड लियो।
होटल खोल्ने ठिक्क परेका बेला उनीहरूकी भाउजूले पान बेच्ने सल्लाह दिइन्।
'पान बेच्नु चोखो काम हो,' भन्ने कुरा दुवैलाई चित्त बुझेको थियो। दुई हजारमा किनेको फर्निचर पाँच सयमै बेचिदिए। त्यही पैसाले मसला किन्न न्युरोड हानिइन् यशोधरा।
त्यो बेला मसला बेच्ने साहुले भनेका कुरा उनी कहिल्यै बिर्सिन्नन्।
'तिमी गर्न सक्दिनौ नानी, हेर्दै खानदानी छौ भने उल्याएका थिए,' यशोधरा सम्झिन्छिन्, 'तपाईं मलाई सामान दिएर हेर्नु, अनि म अर्कोपटक लिन आउँदा जवाफ लिएर आउँछु भन्दिएँ।’
आत्मविश्वासी उनी निर्णयबाट किन डग्थिन् र! यशोधराको यही हिम्मतले नै यहाँसम्म आइपुगेको स्वीकार्छन् टेकबहादुर।
यशोधराले श्रीमान टेकबहादुरको कार्यालय, साझा यातायातकै अगाडि पान पसल खोलिन्। साझामा काम गर्नेहरूले उनलाई जिस्क्याउँथे पनि, 'हाकिमकी श्रीमती भएर पनि के नाङ्ले पसल थापेको?'
उनी यसको उत्तर सजिलै दिन्थिन्, 'त्यो त उहाँको काम, मेरो कहाँ हो र?'
त्यतिबेला त उनलाई पान बेर्न समेत आउँदैनथ्यो। खानेहरू आफैं बेरेर खान्थे। उनीहरूलाई हेर्दै यशोधराले मसला भर्न र बेर्न सिकिन्। व्यापार फस्टाउँदै गएपछि पसल दमकलचोक सारिन्।
त्यहाँ पुगेपछि व्यापार झन् बढ्यो।
'वरपर नचिन्ने कोही थिएन, सबै हाम्रोमा पान खान आउने। उहाँ खाना खाएर अफिस गइहाल्ने। बिहान एकफेर त अफिस जाने कर्मचारीको लाइनै हुन्थ्यो। बालबच्चा सम्हालेर पान बेर्न आपत थियो नि मलाई,' विगत सम्झेर मुसुक्क मुस्काइन् यशोधरा।
उनलाई एक्लै काम धान्न मुश्किल पर्न थाल्यो। टेकबहादुरले जागिर छाडे। अनि डेरासँगैको पसलमा अधिकारी दम्पती नै खटिन थालेका हुन्। अहिले पुल्चोक पोखरीको ठीक सामुन्ने छ उनीहरूको पसल। त्यतिबेला गल्लीमा रहेको पसल अहिले मुख्य सडकमा सारेकै तीन दशक कटेको बताउँछिन् यशोधरा।
सात दशक कटेका अधिकारी दम्पती देखेर ग्राहक जति चकित हुन्छन्, त्योभन्दा कयौं गुणा प्रभाव यहाँको पानको स्वादले पार्छ।
आउनेहरू भन्छन्, 'उहाँहरूको हातमा जादु छ। यहाँको पानको स्वाद बिर्सने सकिन्न।'
पान खान आएका जमाल अली यस्तै ग्राहकमध्येका हुन्।
'अहिले त म पानको त्यति पारखी रहिनँ। तर कुनै समय म यहाँभन्दा अन्तको पान खान्नथेँ। अझै पनि भारत लगायत ठाउँबाट मेरा आफन्त आउँदा यहीँको पान खान मन पराउनुहुन्छ,' अलीले सुनाए।
पान मुखमा राख्दै अलीले थपे, 'अझै कतिसम्म भने, मेरा भिनाजुले त बाटो पर्दा वा उहाँको घर जानुपर्दा यहाँको पान प्याक गरेर ल्याइदिनु भन्नुहुन्छ।'
अहिलेका युवाले फेसनका रूपमा पनि पान खान थालेको अधिकारी दम्पतीको अनुभव छ। युवाहरूको रोजाइमा 'मिठा पान' पर्छ। उनीहरू सूर्ती मिसिएको खान मन पराउँदैनन्।
'सूर्ती मिसिएको पाने खानेमा व्यस्क तथा पान पारखीहरू हुन्छन्,' टेकबहादुर सुनाउँछन्।
जीवनको चार दशकभन्दा लामो समय अधिकारी दम्पतीले पान बेर्दै गुजारेका छन्। उमेर ढल्किँदा पनि उनीहरूको ठट्यौली मिजास ताजा पानको पात झैं हराभरा छ। यहीँको कमाइबाट उनीहरूले घर जोडे, छोराछोरी हुर्काए।
अहिले पनि टेकबहादुर र यशोधरा दिनभर यहीँ बस्छन्।
कोरोना महामारीपछि व्यापार धेरै छैन। नभए उनीहरूलाई बोल्ने फुर्सद पनि नहुने रहेछ।
'कुनैबेला दसैंतिहारमा पान खान लाइन बस्नुपर्थ्यो, अहिलेको व्यापार पनि व्यापार हो र,' उनी भन्छन्, 'बिहे-ब्रतबन्धको सिजनमा त झन् एक दिनअगाडि अर्डर लिएर मात्र काम गर्थ्यौं।'
कोरोना कहरले निम्तिएको चिन्ता उनीहरूको अनुहारमा स्पष्ट झल्किएको थियो।
पसलमा काम गर्ने अन्य तीन जना लकडाउनमा घर गएका छन्।
'पसलको कमाइले हामी दुईलाई रोजगारी मात्र होइन, अरू तीन जनाको पेट पालेको थियो। उनीहरू तिहार सकिएपछि फर्कन्छन्। भाइरसको डर छिट्टै सक्किए जीवन सहज हुने थियो,' उनीहरू भन्छन्।
अवस्था सामान्य भएपछि व्यापार लयमा फर्किनेमा यशोधरा र टेकबहादुर निश्चिन्त सुनिन्छन्।