कोहलपुरका मनोज केसीले दुई वर्षअगाडि होस्टल व्यवसायमा गर्ने विचार गरे। लगत्तै ललितपुरको मानभवनमा ३० जना क्षमताको 'एमएन ब्वाइज होस्टल' सञ्चालनमा ल्याए।
व्यवसाय ठिकै चल्दै थियो। २०–२५ जना विद्यार्थी कहिल्यै टुट्थेन। तर कोरोना लकडाउनपछि भने उनको व्यवसाय लथालिंग भयो। लकडाउनकै कारण विद्यार्थी सबै घर गए। अहिले अब न विद्यार्थी आए, न पैसा।
'विद्यार्थी सबै घर फर्किए। धेरैसँग पैसा लिन पनि पाएको छैन। कतिपयले त हामी फर्किंदैनौं, मेरो सामान तपाईं नै राख्नुस् भनेका छन्,' उनले सेतोपाटीसँग गुनासो पोखे, 'अब विद्यार्थीले लकडाउनपछिको पैसा दिँदैनन्। आफूले घरभाडा महिनाकै १ लाख तिर्नु परेको छ।'
लकडाउन खुले पनि विद्यार्थी नहुँदा उनले घरभाडा तिर्न सकेका छैनन्। त्यसैले भाडा तिर्नकै लागि होस्टलका खाट, दराज अहिले बिक्रीमा राखेका छन्। अझै केही महिना विद्यार्थी नआउने र सोझै घाटा बेहोर्नुपर्ने देखेर व्यवसाय नै छोड्न लागेको उनले बताए।
'जति घाटा भयो–भयो। अझै भाडा तिरेर बस्ने हो भने डिप्रेसनमा जान्छु होला,' मनोजले भने, 'सबै सामान लिलामीमा राखेको छु। बेचेर जति पैसा आउँछ, त्यसमा ऋण खोजेर घर भाडा तिर्छु। हलुका हुन्छु।'
मनोज जस्तै अरू धेरै होस्टल व्यवसायी यति बेला पलायन हुने अवस्थामा छन्। घरबेटीसँग समय सम्झौता गरेका कतिपय व्यवसायी होस्टलका कोठालाई व्यक्तिगत तवरमा भाडामा लगाइरहेका छन्। कोहीले त क्वारेन्टाइन पनि बनाएका छन्।
पुतलीसडकमा तीन वटा होस्टल सञ्चालन गरिरहेका डण्डीप्रसाद गौतमको स्थिति पनि उस्तै छ।
लकडाउन अघिसम्म उनले दुई वटा पुरुष होस्टल र एउटा महिला होस्टल चलाइरहेका थिए। बाह्रैमास भाषा सिक्ने, इन्ट्रान्स तयारी गर्ने, लोक सेवा पढ्ने विद्यार्थीले भरिने उनको होस्टल अहिले रित्तो छ।
विद्यार्थी नभएपछि आर्थिक भार कम गर्न दुइटा पुरुष होस्टल गाभेर एउटै बनाएको गौतमले बताए।
'मैले तीन वटा घरको ३ लाखभन्दा धेरै भाडा तिर्छु। अहिले पनि तिरिरहेको छु,' उनले भने, '६ महिनासम्म आम्दानी नहुँदा के हालत भयो होला! तै पनि अवस्था सामान्य हुन्छ कि भनेर बसिरहेको छु।'
बैंक ऋण लिन सहज प्रक्रिया नभएकाले झनै समस्या परेको उनको गुनासो छ।
नेपाल होस्टल एसोसिएसनको पछिल्लो तथ्यांकअनुसार नेपालमा साना-ठूला गरी करिब एक हजार २ सय होस्टल छन्। जसमा प्रत्यक्ष ६ हजारले रोजगारी पाइरहेका छन्।
सबैजसो होस्टलको अवस्था अहिले नाजुक भएको एसोसिएसनका अध्यक्ष भक्ति पाठक बताउँछन्।
'कतिपयले सबै सामान एउटै फ्ल्याटमा सारेर स्थिति सहज हुने समय पर्खेर बसेका छन्। कतिपय व्यवसायी सामान लिलामी गरेर पलायनै भएका छन्,' पाठकले भने, 'दैनिक ३ सयमा चार छाक खाना खुवाएर, कपडा धोइदिएर, बस्न दिएर थोरै मात्र नाफा कमाउने व्यावसायीले ६ महिनासम्म सञ्चालन गर्न नपाउँदाको पीडा कसले बुझिदेला?'
कोरोना महामारी र लकडाउनकै कारण ६ महिनाभित्र एक सयभन्दा धेरै हस्टेल बन्द भइसकेको उनले जानकारी दिए।
तर नाजुक स्थितिमा रहेको होस्टल व्यवसायलाई सरकारले बेवास्ता गरेको होस्टल सञ्चालक मनोजको आरोप छ।
'अलिअलि कमाइ भइरहेको व्यवसायलाई सरकारले सहुलियत ऋणको व्यवस्था गरेको छ। तर पूरै ठप्प भएको होस्टल व्यवसायलाई किन खोजखबर नगरेको होला?,' उनले दुखेसो पोखे।