तुलसीपुरकी महिला उद्यमी ज्ञानुमाया भण्डारीलाई स्यानिटाइजर बनाउन भ्याइनभ्याई छ।
साथीहरुसँग कुन रसायनको मात्रा कति राख्ने भन्ने छलफलमा व्यस्त उनलाई एकैछिन कुरा गर्न पनि फुर्सद छैन। तुलसीपुरमा सुरु भएको स्यानिटाइजर उत्पादन कार्यमा उनी जस्तै ५० स्वयंसेवक काम गरिरहेका छन्।
‘लकडाउनको पट्यारलाग्दो समयमा सीप सिक्न पाउनु ठूलो अवसर हो,’ भण्डारीले भनिन् ‘यसले एकातिर क्षमता विकास गर्न सघाएको छ भने अर्कोतर्फ समाजसेवा पनि गर्ने अवसर जुरेको छ।’
तुलसीपुर दोघरे निवासी भण्डारी स्यानिटाइजर बनाउन जानेपछि उत्साहित छिन्। भनिन् ‘स्यानिटाइजर बनाउने तालिम लिएपछि विश्वास बढेको छ, कुनै स्वास्थ्य संस्थाले अर्डर गरे स्यानिटाइजर उत्पादन गरेर दिन सकिन्छ।’
किटाणु मार्नका लागि आफूहरुले हाल स्यानिटाइजर उत्पादन गरेता पनि सिकेको तालिमलाई सदुयोग गर्दै अब फ्लेवरका रुपमा एलोभेरा जेल राखेर उत्पादन गर्न सकिने बताइन्।
त्यसका लागि पानीको मात्रामा एलोभेरा जेल र गुलाव जल राख्नु पर्ने रहेछ भन्ने ज्ञान आफुले तालिमबाट सिकेको उनले बताइन्।
उनले ग्रिसलिन, अल्कोहल, हाइड्रोजन पेरोक्साइड, डिस्टिल्ड वाटरको समिश्रण गरेर स्यानिटाइजर उत्पादन गरिएको जानकारी दिइन्।
तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रवर्द्धन महाशाखा र जिल्ला स्वास्थ्यको समन्वयमा ५० जना स्वयंमसेवकलाई स्यानिटाइजर उत्पादन तालिम प्रदान गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय दाङका फार्मेसी अधिकृत प्रविन तिमिल्सिनाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार र औषधि व्यवस्था विभागको ह्यान्ड स्यानिटाइजर २०७६ सँग सम्बन्धित रहेर आवश्यक रसायनको समिश्रण गरिएको जानकारी दिए।
तुलसीपुर क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक संस्थाका भोलेन्टियर ५० जनाले तालिमपछि स्यानिटाइजर उत्पादनको काम सुरु गरेका हुन्।
यो अभियानमा तुलसीपुर नगर जेसिज, रोटरी, रोट्रयाक लगायत विभिन्न वडाका स्वास्थ्य स्वयंमसेवक पनि सहभागी छन्।
तुलसीपुर उद्योग वाणिज्य संघका सचिव तथा स्यानिटाइजर उत्पादन कार्यक्रमका टिम लिडर विनिल केसीले युसएआइडी विपद् जोखिम व्यवस्थापन परियोजना - तयार नेपालको आर्थिक सहयोग तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा साढे १२ सय लिटर स्यानिटाइजर उत्पादन गर्ने क्रम सुरु भएको जानकारी दिए। उनले यो अभियान जेठ ९ गतेसम्म जारी रहने बताए।
त्यसरी उत्पादित स्यानिटाइजर उपमहानगरपालिकासँग समन्वय गरी नगरका १९ वडाका फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई निशुल्क प्रदान गरिने तुलसीपुरका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए।
उनले उद्योग वाणिज्य संघको पहलमा उत्पादित स्यानिटाइजर नगरका १९ वटै वडाका स्वास्थ्य संस्थाहरुमा आवश्यकता अनुसार निशुल्क वितरण गर्ने उनले बताए।
वडाहरुको अवस्था र विरामीको चापका आधारमा उत्पादित स्यानिटाइजर वितरण गरिने उनले जानकारी दिए।