विश्वब्यापी रुपमा सूचना र सञ्चारको तीव्र विस्तारको वर्तमान युगमा पत्रकारिताको महत्व दिनानुदिन बढ्दै गएको छ। यसै पृष्ठभूमिलाइ मध्यनजर गरि नेपालमा पत्रकारिता विधाको विश्वविद्यालय खोल्ने पहल भइरहेको छ ।
नेपालमै पहिलो पटक पत्रकारिता विषयमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनको संस्थापक प्रमुख डा. मञ्जु मिश्रले नेपालमा निजी स्तरमा पहिलो पटक विश्वविद्यालय खोल्ने अठोट गरि सो अभियानमा जुटेकी हुन्।
पत्रकारिताको छुट्टै विश्वविद्यालय स्थापना हुनसकेमा हाम्रो हातमा अधिकार निहित हुन्छ र हामी स्वतन्त्र रुपमा काम गरी अघी बढ्न सक्ने डा. मञ्जु बताउँछिन्। कलेज अफ जोर्नालिजम एण्ड मास कम्युनिकेशन (सि.जे.एम.सी) नेपालमै पहिलो पत्रकारितामा स्नातकोत्तर तहको कलेज स्थापना गरि नेपाली पत्रकारिता शिक्षालाइ नयाँ उचाइमा पुर्याउँदै आएको छ ।
.jpg)
कलेजकी संस्थापक अध्यक्ष डा. मिश्र १५ वर्ष अघि देखिनै आफूले पत्रकारिताको छुट्टै निजी विश्वविद्यालयको माग गर्दै सो अभियानमा निरन्तर जुटिरहको बताउँछिन्।
‘त्रिभुवन विश्विद्यालयले २२- २३ वर्ष सम्म पनि पाठ्यक्रममा कुनै परिवर्तननै नगरी पुरानै पाठ्यक्रममा पढाइ रहेको अवस्थामा यस कलेजले पत्रकारिता उच्च शिक्षाको इतिहासमै नयाँ अध्याय सूरु गरेको हो’ उनले भनिन्, ‘पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको परीक्षा, नतिजा, रजिष्ट्रेशन नम्बर, मार्कसिट सबै कुरामा सो विश्वविद्यालयमा र्निभर रहन बाध्य भएको छ।’
उनका अनुसार कुनै एउटा विषय नयाँ समावेश गर्नुपर्यो भने प्रक्रिया नै लामो र जटिल छ यसको निमित्त सम्बन्धित विषयको विषय समिति बनाउनु पर्छ।
उसले पास गरेको पाठ्यक्रम पूर्वाञ्चल विश्वविद्यालय जान्छ तत् पश्चात प्राज्ञ परिषद्ले पाठ्यक्रम पास गरिसकेपछि मात्र डिनको कार्यालयले परिक्षा नियन्त्रण कार्यालयमा पठाउँदछ।
आजभन्दा ठिक १५ वर्ष अगाडि २०६१ साल पुष १५ गते छुट्टै आमसंचार विश्वविद्यालय (कम्युनिकेशन युनिभरसिटी अफ नेपाल) शिक्षा मन्त्रालयमा दर्ता गराउँदा जम्मा चार ओटा विश्वविद्यालयको निवेदन परेको थियो, त्यसमा म मात्र महिला थिए, उनले विगत सुनाइन्
अहिले शिक्षा मन्त्रालयमा दुइ दर्जन भन्दा बढि विश्वविद्यालयको निवेदन परेकोमा महिलाले नेतृत्व गरेको विश्वविद्यालय सि.जे.एम.सि. मात्र हो ।
पत्रकारिता विषयमा विद्यावारिधी गरी नेपालकै दोश्रो महिलाको रुपमा स्थापित रहदा आफ्नो अभियानले सबैको साथ र सहयोग पाउने विश्वाश लिएको डा. मिश्र बताउँछिन्।
‘यदि सरकारले अनुमति दिएन भने बिना अनुमति खोल्ने तरखरमा छु’ उनले भनिन्, फ्रेन्च, रसियन, अंग्रेजी, नेपाली, हिन्दी गरि पाँच ओटा भाषामा सञ्चार गर्न सक्ने क्षमता म सँग नि छ।’
‘काठमाण्डौं विश्वविद्यालय डा. शुरेश राज शर्माको नेतृत्वमा विश्वविद्यालयको स्थापना विना पूर्वाधार खडा गरि आज एसीयाकै दश उत्कृष्ट विश्वविद्यालयमा रुपान्तरण गर्न सफल हुनुभयो । हामी पनि वहाँको पाइला पछ्याउदै अगाडि बढ्ने दृढता राखेका छाैँ, उनले भनिन्।
सरकारले छुट्टै आम सञ्चार विश्वविद्यालयको अनुमति दिएमा नयाँ नयाँ विषय सञ्चालन गर्नसक्ने योजना डा. मिश्रको छ।
उदारहणका लािग निमित फोटोग्राफी र भिडियोग्राफिमा स्नातकोत्तर, फाइन आर्टस, ग्राफिक डिजाइन र कम्प्युटर एनिमेशन, सोसल मिडिया आदी जस्ता विषयहरु एउटै छाता अन्र्तगत संचालन गर्न सकिनेछ।
हाल सम्म त्रि.वि., पुर्वाञ्चल, काठमाण्डौ र अन्य विश्वविद्यालयमा पनि यी विषय समावेश गरिएका छैन्न । यसबाट विद्यार्थी थप आकर्षित हुनेछन् भन्ने विश्वाश मञ्जु मिश्रले लिएकी छन्।
उनका अनुसार यस विश्वविद्यालयमा विदेशबाट विज्ञ ल्याएर अध्ययन अध्यापन गराइनेछ । अहिलेका अधिकाशं कलेजमा विद्यार्थीलाई आकर्षण गर्न नामको मात्र पत्रकारिता पढाई हुने गरेको र पत्रकारिता तथा आम सञ्चारको विषयको नाम देखाएर विद्यार्थी तान्ने होडवाजीनै चल्ने गरेको छ ।
वर्तमान परिप्रेक्ष्यमा पत्रकारितामा प्रयोगात्मक कक्षा र अनुसन्धान हुनसकेको छैन र यसलाई अनुगमन गर्ने कुनै निकायनै छैन । विद्यार्थीहरुको आधारभूत अधिकारलाई वास्ता नगरी पढाईने गरेको उनले बताइन् ।
२०६२-२०६३ सालको जनआन्दोलन पछि सोसल र अनलाइन आमसञ्चार माध्यमले पत्रकारिता क्षेत्रमा प्रभुत्व जमाउदै गएको अवस्थामा नेपालले दक्षिण एसियामै उदाहरणीय रुपमा पत्रकारिताको विकाश पनि गर्यो ।
नेपालमा जति सामुदायिक रेडियो टेलिभिजन, अनलाइन दैनिक, साप्ताहिक पाक्षिक पत्रकारिताको विकाश यति धेरै भयो कि छिमेकी मुलुक भारतमा पनि नभएको बताइन्छ । नेपाल जस्तो सानो मुलुकमा यति धेरै अनलाइन र सञ्चार माध्यम दर्ता हुनु आवश्यकता भन्दा बढी भएको जिकिर हिजोआज सञ्चार विज्ञहरुको छ जसले गर्दा पत्रकारिता पनि सँँगसँगै मौलाउन थाल्यो ।
राज्यको चौथो अंग मानिने पत्रकारीता क्षेत्रमा धेरै विकृति आउन थाले र समग्रमा केहि पत्रकारहरुले आफुलाई खरिद बक्रीको साधनको रुपमा प्रयोग गर्न थाले । नेपालमा पत्रकारिता शिक्षा प्रदान गर्ने माऊ कलेजको रुपमा रत्न राज्य कलेज देखिए पनि सन् २००२ सालसम्म पनि पत्रकारितामा उच्च शिक्षा सञ्चालन गर्न नसकेको अवस्थामा हामीले आम संचार विश्वविद्यालयको सपना देख्नु आफैमा चुनौति रहेको मिश्र बताउँछिन्।
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनले पत्रकारिता शिक्षामा आमूल परिवर्तन गरी समय सापेक्ष एक्काइसौ शताब्दी सुहाउँदो शिक्षा दिने उद्देश्यले निजी विषयगत विश्वविद्यालय माग गर्दै आएको उनको भनाइ छ।
पत्रकारिताको छुट्टै विश्वविद्यालयको स्थापना गरी दक्षिण एसियामै मिडिया हब वनाउने सोच मिश्रको बताउँछिन् । नेपाल सरकारले नयाँ विषयहरु समावेश गर्न, समयमै परीक्षा नतिजा प्रकाशित गर्न गराउन, अन्तराष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्न छुट्टै विश्वविद्यालय भए मात्र यि सबै कुराहरु सम्भव हुने भएकोले आफु विश्वविद्यालयको अभियानमा लागेको उनको भनाइ छ।
उनका अनुसार विश्वविद्यालयको स्वीकृतिको निमित्त सम्पुर्ण पूर्वाधार खडा भइसकेको छ ।
कम्प्यूटर ल्याब, अडियो भिजुएल ल्याब, रेकर्डिङ्ग स्टुडियो, अनलाइन, आफ्नै सि.जे.एम.सि. १०६ मेगाहर्ज रेडियो, डकुमेन्ट्री हल तथा आफ्नै अत्याधुनिक विशाल भवन र प्राध्यापकहरुको साथै दक्ष जनशक्ति उपलब्ध छ । यसको साथै विभिन्न विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गरि दुइ पक्षिय विद्यार्र्थी आदान प्रदानको सम्झौता भइसकेको मिश्रले बताइन्।
नेपाल सरकारले बैङ्क, अस्पताल, स्कुल कलेज, मेडिकल कलेज, हाइड्रो पावर, टेलिभिजन, रेडियो र अन्य धेरै क्षेत्रलाइ निजीरूपमा सञ्चालनको अनुमति दिएको अवस्थामा निजी विश्वविद्यालय चाहि किन दिन नमिल्ने? उनले प्रश्न राखिन्।
.jpg)
छिमेकी विशाल समाजवादी मुलुक चीनमा पनि धेरै निजी विषयगत विश्वविद्यालयको अनुमति सरकारले दिएको छ । त्यस्तै सैनिक शासन भएको मुलुक पाकिस्तानमा पनि निजी विश्वविद्यालयको सरकारले अनुमति प्रदान गरेको छ ।
यसै गरी वङ्गलादेशमा पनि निजी विषयगत विश्वविद्यालयहरु प्रशस्त खुलेको देख्न सकिन्छ । भारत र श्रीलङ्कामा यस्ता विश्वविद्यालयहरुको अनुमति सरकारले दिइएको छ । नेपालमा दुई तिहाइ बहुमतको सरकारले यसलाई उच्च प्राथमिकता दिनेमा आफु विश्वशत रहेको डा. मिश्र बताउँछिन् ।
‘नेपाल सरकारले छुट्टै एक्रेडिटेटिङ काउनशिल र विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभाकारी र शक्तिशाली बनाएको खण्डमा निजी क्षेत्रका स्कुल कलेज र विश्वविद्यालयलाई मनोमानी गर्नबाट नियन्त्रण गर्न सक्छ’ उनले भनिन्, ‘माथि उल्लिखित उद्धाहरणले पुष्टि गर्छ कि एक्काइसौ शताब्दीमा प्रवेश गरिसकेको र मुलुक संघीयतामा गइसकेको अवस्थामा नेपाल सरकारले निजी क्षेत्रको लगानीकर्तालाई प्रोत्साहन गर्न र उनीहरुको हक हित सुरक्षा र समृद्धिको निमित्त काम गर्न सक्ने वातावरणको सृजना गर्नु आवश्यक छ।’
आमसञ्चार विश्वविाद्यालय स्थापनाले पत्रकारिता शिक्षामै निकै ठूलो टेवा पुग्ने र नयाँ पुस्तालाई अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष पत्रकारको उत्पादन गर्न सक्छौ भन्ने हाम्रो दृढ विश्वाश रहेको उनले बताइन्। यस अभियानलाई वर्तमान सरकारले गम्भीरतापूर्वक र सकारात्मकरुपले लिई स्वीकृति प्रदान गर्नेछ भन्ने कुरामा मिश्र विश्वस्त छिन्।