आठ वर्ष कुखुरापालन गरेका भक्तपुरका कुमार खत्री अचेल हार्डवेयर व्यवसाय गर्छन्। गत वर्ष बर्डफ्लु फैलिएको भन्दै पशु स्वास्थ्य विभागले चलाएको कुखुरा मार्ने अभियानमा उनको व्यवसाय धरासयी भयो।
त्यतिबेला ६५ लाख रुपैयाँ बराबर नोक्सान भएको खत्री बताउँछन्।
'कुनै जाँचपड्तालविना मेरा भएभरका कुखुरा जिउँदै खाल्डोमा पुरियो। ऋणको भारी अझै मेरो टाउकोमा छ। म आफू मात्र डुबिनँ, मैले नै हौस्याएर कुखुरापालनमा ल्याएको दाइ, बहिनी र ज्वाईंलाई समेत डुबाएँ,' खत्रीले थकथकी मान्दै भने।
बर्डफ्लुको चर्चाले हरेक वर्ष साना-ठूला धेरै कुखुरापालन व्यवसायको सर्वस्व लुटिने गरेको छ। गत जेठमा बर्डफ्लुकै कारण पूर्वी चितवनको पोल्ट्री व्यवसायमा करिब ७० लाख रुपैयाँ नोक्सान भएको व्यवसायी बताउँछन्। ठूला स्तरका व्यवसायी यो घाटा थेग्न सक्छन्। थोरै कुखुरा पालेर बसेका साना व्यवसायी भने उठ्नै नसक्ने गरी पछारिन्छन्।
बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार सरकारले क्षतिको अधिकतम ७५ प्रतिशतसम्म राहत दिने गरेको छ। जिल्ला पशु स्वास्थ्य कार्यालयका अनुसार अन्डा दिन लागेको प्रतिकुखुरा पाँच सय र अन्डा दिएर सक्ने बेला भएकालाई तीन सय रुपैयाँ सिफारिस गरिएको छ। तर, धेरै किसानले सिफारिसअनुसार राहत पाउँदैनन्। कुखुरा किसानको हितमा बोल्ने कोही नभएकाले समस्या सुनुवाइ नहुने उनीहरु बताउँछन्।
कुखुरा व्यवसायीको हितमा काम गर्ने भन्दै २०५९ सालमा नेपाल कुखुरापालक संघ स्थापना भएको थियो। संघले २०६१ सालदेखि सक्रिय काम गर्यो। गएको वर्षबाट भने निष्क्रिय छ।
‘हामीले किसानलाई मार नपर्ने गरी काम गरेका थियौं, तर कसैको सपोर्ट भएन। किसानकै सहयोग भएन,' संघका अध्यक्ष हेमचन्द्र शाहले भने, ‘धेरै किसानले व्यवसाय छाडे। हामी कति जनालाई बटुल्दै हिँड्नु?’
उनका अनुसार पशु स्वास्थ्य विभागले बर्डफ्लुको डरमा कुखुरा मार्दै हिँड्दा संघले अवरोध गरेको थियो। कुखुरा फर्ममा गएर दाना, कुखुरा र चल्ला ओसार्ने गाडी छुट्टाछुट्टै हुनुपर्छ भनेर सिकाएको पनि थियो।
'किसानहरु आफैं व्यवसाय छाडेर हिँडेपछि संघ स्वत: निष्क्रिय भयो,' उनले भने।
अध्यक्ष शाहले संघको दृष्टिबाट आफ्नो कुरा राखे पनि उनको भनाइमा किसानले भोग्नुपरेको पीडा झल्किन्छ। बर्डफ्लु फैलिएको भन्दै धमाधम किसानका कुखुरा मारिन थालेपछि उनीहरु यो व्यवसायमा टिकिरहन सकेनन्। काम गरेर खानुपर्ने किसान संघमा लागेर हकहित निम्ति लडिरहन सकेनन्। ऋण काढेर व्यवसाय थालेका धेरै त ऋण निखन्न विदेश पलायन भए।
यसपालि फेरि बजारमा बर्डफ्लुको हल्ला छ। यो रोग कहाँ देखियो र कुन-कुन क्षेत्र प्रभावित छ भन्ने कसैलाई थाहा छैन। सरकारी निकायले अध्ययन पनि गरेको छैन। हल्लाकै भरमा कुखुराको मासु र अन्डा बिक्री घटेको छ। यो क्रम जारी रहे यसपालि पनि किसानको घर-घर पसेर कुखुरा नष्ट गर्ने अभियान सुरु हुन सक्छ।
नेपालमा सयौं किसानको जीवनयापन कुखुरापालनसँग जोडिएको छ। हल्लाकै भरमा मासु र अन्डा बिक्री नहुने र कुखुराका चल्ला नष्ट गरिने हो भने यसपालि पनि धेरै किसान विस्थापित हुनुपर्ने अध्यक्ष शाह बताउँछन्।
भक्तपुरका कुमार खत्री यसका भुक्तमान हुन्।
उनले गोठाटारमा २०६४ सालबाट कुखुरा पाल्न थालेका थिए। सुरुमा १५ सय कुखुरा पाले। व्यवसाय फस्टायो। मासिक २५ हजारदेखि ३ लाखसम्म फाइदा लिए। कुखुराको संख्या बढेर ६५ सय पुग्यो।
‘सात जनाको परिवार चलाउन र बच्चाबच्चीलाई राम्रो स्कुलमा पढाउन पुगेको थियो,' कार्कीले भने, 'सबै एकैछिनमा स्वाहा भयो।’
२०७२ को भुइँचालोले व्यवसायमा धक्का दिएको बेला बर्डफ्लुले सडकमै ल्याएको उनी बताउँछन्।
उनलाई याद छ, सेतो लुगा लगाएका मानिस उनको फार्ममा आएका थिए। भाटाले हानेर कुखुरा मार्न खोजे। बेच्ने बेला हुन लागेका कुखुरा मारिन लागेको देखेर उनले झन्डै होस गुमाएनन्। कुखुरा बचाउन एक सातासम्म अड्को थापिरहे। आखिरमा उनको केही चलेन।
एक सातापछि उनका सबै कुखुरा मारेर खाल्डोमा पुरिए।
उनले ३० वटाजति कुखुरा जोगाएर घर लगे। परिवारले केही दिनसम्म त्यही खाए। बर्डफ्लु लागेको भनेर मारिन आँटेका कुखुरा खाँदा पनि कसैलाई केही भएन।
'त्यतिबेला मलाई ठगिएको अनुभूति भयो, तर मसँग विकल्प थिएन। कसलाई भन्ने, के भन्ने?' खत्रीले भने।
कुखुरापालन सखाप भएको पीरमा उनी भाडाको जग्गामा बनाएका खोर भत्काउनसमेत गएनन्। त्यत्तिकै छाडिदिए।
मारिएका ६५ सय कुखुराबाट दुई किस्ता गरी उनले ६ लाखजति पाएका थिए। त्यसैलाई उपयोग गरेर गुजारा चलाउने विचार गरे। उनी कुखुरा व्यवसायसँगै कहिलेकाहीँ 'प्लम्बिङ' को काम गर्थे। खोटाङबाट ३० वर्षअघि काठमाडौं पस्दा उनले यो सीप बोकेर आएका थिए। त्यही सीपले उनमा साहस आयो।
उनले 'कुमार रोअर पम्प सर्भिस' भनेर २०६५ सालमा दर्ता गरेका थिए। परिवारको सल्लाहमा फेरि पुरानै पेसामा फर्किए। पेप्सीकोलाको उनको हार्डवयर पसलले राम्रो बजार लिएको छ। उनलाई यही पसलले परिवार चलाउन भरथेग गरिरहेको छ।
‘अलि व्यवस्थित नभई कोही पनि कुखुरा व्यवसायमा नलाग्नू। यहाँ रोगभन्दा पहिला हल्ला आउँछ। किसानको ढाड सेकाउँछ। झन्डै मेरो उठिबास भएन,’ उनले भने, ‘न कुखुराको फर्म दर्ता न त बिमा। केही थिएन।’
सरकारले बर्ड फ्लु हो कि होइन टुङ्गो लगाएपछि मात्र प्रचारप्रसार गर्ने हो भने धेरै किसानको रोजीरोटी जोगिने उनी बताउँछन्।
बर्डफ्लुकै नाममा व्यवसाय गुमाएका खत्रीलाई हामीले सोध्यौं, 'तपाईंलाई बर्डफ्लुबारे थाहा छ?'
‘बर्डफ्लुबारे मलाई पहिले पनि थाहा भएन, अब जान्ने मन पनि छैन। यो कुखुरा किसानलाई मार्ने उत्तम बाटो हो,’ उनले भने, ‘म बर्डफ्लु होइन। सरकारपीडित हुँ।’
बर्डफ्लु भनेको 'एभियन इन्फ्लुएन्जा टाइप ए' नामक सूक्ष्म भाइरसले लाग्ने प्राणघातक रोग हो। यो भाइरसले छिट्टै आफ्नो वंशाणुगत स्वरुप परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पन्छीबाट मानिसमा सर्छ।
बर्डफ्लु रोग नियन्त्रण आदेश, २०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपर क्षेत्र निगरानीमा राखिन्छ। तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त घोषणा गरिन्छ। संकटग्रस्त क्षेत्रको तीन किलोमिटर परिधिमा रहेका कुखुरा, हाँसलगायत पन्छी र तिनका अण्डा एवं दाना नष्ट गर्नुपर्ने हुन्छ। नेपालमा सन् २००९ मा झापामा सबैभन्दा पहिला बर्डफ्लु देखापरेको थियो।
पर्याप्त अनुसन्धानको अभावमा हल्ला मात्र धेरै चल्दा साना किसान मर्कामा पर्ने गरेको व्यवसायीको गुनासो छ।