सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने


सरकारले देशव्यापी रुपमा सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला गरेपछि आक्रोशित यातायात व्यवसायीले सातै प्रदेशबाट आन्दोलन गर्ने तयारी गरेका छन्। आन्दोलनकै लागि उनीहरुले विशेष कमिटी गठन गरेका छन्।

राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यको संयोजकत्वमा १ सय ५१ जनाको मूल आन्दोलन कमिटी गठन भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। सिटौला आन्दोलन मूल संयोजन कमिटीका प्रचार विभाग प्रमुख समेत हुन्।

‘सातै प्रदेशमा ५ गते पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनको घोषणा गर्छौैँ’ उनले भने। यो आन्दोलन नेपालको यातायात इतिहासमै ठूलो हुने सिटौलाले दावी गरे।

आन्दोलन चरणबद्द रुपमा अघि बढ्ने बताउँदै उनले सरकारले तत्काल पूर्व निर्णय सच्याउनुपर्नेमा जोड दिए।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ संयोजकत्वमा हुने अन्दोलनमा ट्रक व्यवसायी महासंघ, ढुवानी महासंघ, पेट्रोलियम ढुवानी महासंघ, पेट्रोलियम डिलर एसोसियसन र केही मजदुर ट्रेड युनियनले साथ दिने सिटौलाले बताए।

आन्दोलनको पुरा कार्यक्रम भने मंगलवार मात्रै सार्वजनिक गरिने अध्यक्ष कर्मचार्यले बताए।

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सवारी साधनमा रुट नवीकरण र हेरफेर गर्दा अनिवार्य पञ्जीकरण गर्नुपर्ने व्यवस्था गरेको छ।

जुन व्यवस्थाले मुलुकभर रुट परमिट लिन चाहने व्यवसायीको लागि बाटो खुलेको थियो। लामो समयदेखि लादिएको सिन्डिकेट हटाउन यो व्यवस्था महत्वपूर्ण बन्ने अपेक्षा गरिएको थियो।

त्यस्तै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका कामको थालनी भएको थियो।

यसबाट व्यवसायीको सिन्डिकेट हट्ने यातायात व्यवस्था विभागको विश्वास छ। तर व्यवसायी भने सरकारले गरेको व्यवस्था फिर्ता हुनुपर्ने भन्दै घुँडा टेकाउन आन्दोलनमा जुटेका छन्।

यातायात व्यवस्था विभागले भने व्यवसायीको आन्दोलनबाट घुँडा नटेक्ने बताउँदै आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.