ग्यासमा कमिसन बढाउन प्रधानमन्त्रीलाई व्यवसायीको दवाव


एलपी ग्यास विक्रेताहरुले कमिसन बढाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। ग्यास विक्रेता महासंघले देउवालाई भेटेर हाल आफूहरुले पाउँदै आएको कमिसनले व्यवसाय गर्न नसक्ने स्थिति आएको भन्दै कमिसन बढाउन दवाव दिएका हुन्।

महासंघका महासचिव चन्द्र थापाले ६ वर्षअघि कायम भएको कमिसन अहिले पनि यथावत रहेको भन्दै अहिलेको कमिसनले व्यवसाय गर्न नसक्ने स्थिति आएको बताए। यही मागबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए। हाल व्यवसायीहरुले एउटा ग्यास सिलिण्डर १३४३ रुपैयाँमा खरिद गरेर १३७५ रुपैयाँमा बिक्री गर्ने गरेका छन्।

जसमा ३२ रुपैयाँ कमिसन पाउँदै आएका छन्। यसमा भ्याट ४ रुपैयाँ १६ पैसा जोडिँदा २८ रुपैयाँभन्दा कम हुन आउने थापाले जानकारी दिए। ग्यास विक्रेताहरुले खरिद मूल्यको ५ प्रतिशत कमिसन पाउनुपर्ने माग गरेका छन्। अर्थात अहिलेको खरिद मूल्य १३४३ को ५ प्रतिशतका दरले ६७ रुपैयाँ १५ पैसा बनाउनुपर्ने उनीहरुको माग छ।

‘जम्मा २८ रुपैयाँको नाफाबाट व्यवसाय संचालन हुन नसक्ने स्थिति आयो, हामीले खरिद गर्ने मूल्यको ५ प्रतिशत कमिसनको माग गरेका हौँ’ उनले भने।

यसअघि आयल निगम तथा आपूर्ति मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई नै भेटेका हुन्। सो अवसरमा प्रधानमन्त्रीले आफूले यस सम्वन्धमा मन्त्रालयसँग बुझ्ने प्रतिबद्धता जनाउँदै विक्रेताहरुको मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएको थापाले जानकारी दिए।

त्यस्तै ग्यास सिलिण्डरलाई सुरक्षित बनाउन सरकारले जनचेतनाका कार्यक्रमहरु पनि संचालन गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.