आगामी आसन्न निर्वाचनको लागि दलहरूले आफ्ना प्रतिनिधि मनोनयन गरेसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ।
बजार चार कारोबार दिनदेखि लगातार बढ्दो क्रममा छ।
मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४ विन्दुमा आइपुगेको छ।
कारोबार पनि साढे पाँच महिना यताकै उच्च भएको हो।
मंगलबार ११ अर्ब ८५ करोड रकमको कारोबार भएको छ।
यसअघि गत साउन १८ २०८२ मा १३ अर्ब ७ करोडको कारोबार भएको थियो।
निर्वाचनसँगै मुलुकमा स्थिरता आउने, आर्थिक वातावरण सुधार हुँदै जाने अपेक्षाले सेयर बजारमा वृद्धि देखिएको हो।
यसदिन ३३९ वटा धितोपत्रको दुई करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २२४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३१ वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।
यसदिन गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६१८ रूपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, आँखुखोला जलविद्युतको मूल्य ८.१३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २२६ रूपैयाँ १० पैसा पुगेको छ।
यसैगरी, एसबिआई बैंकको डिबेन्चरको मूल्य सर्वाधिक ४.२३ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ११४ रूपैयाँमा झरेको छ।
मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता एक हजार ५५० रूपैयाँमा ४० करोड ७९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.०४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको ८२० रूपैयाँ ५० पैसामा ३९ करोड ३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ।