नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बद्ध अधिकारीहरूलाई सुरूङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तैयारी हालतमा रहन निर्देशन दिए।
पूर्णत सीप र पुँजीबाट बन्ने सर्वाधिक ठूलो अयोजनाको रूपमा रहेको यो आयोजनाले बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो।
निर्देशक शाक्यले आयोजना अन्तर्गतको ७.२ किलोमिटरको सुरूङमा पानी चुहिने नचुहिने सुनिश्चित गर्न निर्देशन दिएका छन्।
यसका साथै पावरहाउस लगायतका सबै पूर्वधारहरू भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्थ गर्न समेत निर्देशन दिए। उनले पावर हाउस तथा अन्य संरचनाहरूलाई बाढीबाट जोगाउने गरी तयार गर्न निर्देशन दिए।
लामो समयको प्रतिक्षापछि उत्पादन सुरू गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता एक सय २ मेगावाट हो। आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।
आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेका कारण उत्पादन सुरू भएको थिएन।
सुरूमा बाह्रविसे–लप्सिफेदी प्रसारण लाइनबाट विद्युत प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयहरूसँग सहमति हुन नसके पनि लामोसाँघुतर्फ बाट ल्याउने प्रयास भएको थियो।
त्यहाँ समेत सम्भव नभपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सबस्टेशन हुँदै ढल्केवर प्रसारणलाइन मार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो।
२०७० देखि निर्माण सुरू भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरू हुन सकेको थिएन।