आगामी मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा हटाउन, लघुवित्तमा रहेको लाभांश सीमा हटाउन सेयर लगानीकर्ताका संघसंगठनले आग्रह गरेका छन्।
सेयर लगानीकर्ता संघ नेपाल, पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले यस्तो सुझाव दिएको हो।
बैंक वित्तीय संस्थाले व्यक्तिगत तर्फ जारी गर्ने सेयर धितो कर्जाको एकल ग्राहक सीमा पूर्णरूपमा खारेज गर्नुपर्ने सुझाव दिएका हुन्।
हाल यस्तो कर्जाको सीमा १५ करोड रूपैयाँ राखिएको छ। यो व्यवस्था गर्दा लगानीकर्ताको सेयर बजार प्रतिको विश्वास बढ्ने संघहरूको भनाइ छ।
त्यस्तै, संघहरूले लघुवित्त संस्थालाई लगाइएको १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था खुला अर्थनीतिको सिद्धान्त विपरीत भएको बताएका छन्।
उनीहरूले हालको यो व्यवस्थालाई हटाइ लघुवित्त संस्थाहरूको कार्य सम्पादनमा पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्ने बताएका छन्।
बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजी कोषको आधारमा पुँजीबजारमा लगानी गर्ने सीमालाई परिमार्जन गर्नुपर्ने र गैर आवासीय नेपालीले नेपालको पुँजीबजारमा गरेको लगानी निवेश सहितको नाफा फिर्ता लैजान सक्ने व्यवस्था गरिनुपर्ने बताएका छन्।