नेपाल भ्रमणमा आउने १० मुलुकका पर्यटकले केही समयदेखि नेपाल पेको क्युआर मार्फत यहाँ भुक्तानी गर्न पाइरहेका छन्।
यो सुविधाले नेपालको पयर्टन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
'७० राष्ट्रका एक अर्ब ७० करोड प्रयोगकर्ताहरूले अहिले अलि पे प्रयोग गरिरहेका छन्,' अलिपे प्लसमा देशीय निर्देशक सिटिपोङ किटिप्रापापोङले भने, 'यो भुक्तानी माध्यम मात्रै होइन, सारमा भन्नु पर्दा सबै थोक हो।'
एनसिएचएल र एण्ट इन्टरनेसनलबीच गत वर्ष कात्तिक महिनामा नेपाल पेको क्युआर र अलिपे प्लसको माध्यमबाट अन्तर्देशीय भुक्तानीको सुरूवात भएको हो।
'यो सहकार्यले नेपालमा आउने पर्यटकले साथमा रकम बोक्नु पर्ने अवस्था अन्त्य भएको छ भने यो सुविधा बिना झण्झट उनीहरूले प्रयोग गर्न पाइरहेका छन्,' एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले भने, 'सुरक्षित, सहज यो भुक्तानी प्रक्रिया न्यून शुल्कमा प्रयोग गर्न सकिन्छ।'
चीनको अलिपे, हङकङको अलिपे एचके, इटालीको तिनाबा, मकाओको एमपे, मलेसियाको टच एण्ड गो इ वालेट, माइपिबी मन्गोलियाको हाइपे, फिलिपिन्सको जी क्यास, थाइल्याण्डको ट्रु मनी, सिंगापुरको छान्जी पे, ओसिबिसी डिजिटल र दक्षिण कोरियाको ककाओ पे, नेभर पे र टस पे मार्फत् अन्तर्देशीय भुक्तानी गर्न सकिन्छ।
यो सुविधासँगै विदेशी पर्यटकहरू नेपाल भित्रिएदेखि आफ्नो मुलुक फर्किनु अघिसम्म नै यहाँ डिजिटल कारोबार गर्न सम्भव भएको छ।
हाल नेपाल पे क्युआरमा देशभित्रका आठ लाख ७५ भन्दा बढी मर्चेन्टहरू आबद्ध छन्।
यहाँका ग्राहकले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट र कनेक्ट आइपिएसमार्फत् नेपाल पे क्युआरमा सजिलै भुक्तानी गर्न सक्छन्।