कुमारी बैंकले एटिएम तथा पिओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ।
डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटिएम तथा पिओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ।
यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटिएम मार्फत रकम झिक्न र पिओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरूलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ।
बैंकले आफ्नो सेवाको दायरालाई विस्तार गर्दै डिजिटल नेपालको अभियानमा विद्युतीय कारोबार मार्फत थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरू मार्फत ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।