नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) सम्ममा ग्राहकहरूले आफ्नो बीमा बीचमै रोकेर (समर्पण गरेर) ६ अर्बभन्दा धेरै रकम फिर्ता लिएका छन्।
प्राधिकरणको यो अवधिको तथ्यांक अनुसार ४५ हजार ६० बीमालेख समर्पण भएका हुन्। समर्पण गरेर बीमित (ग्राहक) हरूले ६ अर्ब १० करोड ७२ लाख रूपैयाँ फिर्ता लगेका छन्।
यसअघि गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा ४४ हजार ९ सय ९५ बीमा लेख समर्पण गरिएको थियो। भने बीमितले पाँच अर्ब ५३ करोड रूपैयाँ बराबर फिर्ता लगेका थिए।
पछिल्लो केही वर्षयता बीमाको समर्पण दर बढ्दै गइरहेको छ। विगत तीन वर्षको वार्षिक तथ्यांक हेर्ने हो भने यो अवधिमा समर्पण बीमालेखको संख्या औसत २० प्रतिशतको दरमा वृद्धि भइरहेको छ।
विभिन्न कारणले बीमा समर्पण हुने भए पनि पछिल्लो वृद्धि उच्च भइरहेकोमा यस क्षेत्रका सम्बद्ध व्यक्तिहरूले चिन्ता गर्न थालेका छन्।
'बीमा समर्पण हुनु सामान्य नै भए पनि यसको वृद्धिदर सामान्य होइन,' प्राधिकरणका प्रवक्ता तथा निर्देशक सुशिलदेव सुवेदीले भने।
प्राधिकरणले समर्पण दरमा वृद्धि भइरहेकै कारण पछिल्लो समय समर्पण गर्न सकिने अवधि दुई वर्षबाट बढाएर तीन वर्ष पुर्याएको छ। तर पनि यसमा सुधार देखिएको छैन।
'मुलुकमा आर्थिक गतिविधिमा शिथिलता आएकै कारण अहिले समर्पण दर उल्लेख्य बढिरहेको देखिन्छ,' नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले भने।
केही वर्ष अघिसम्म नयाँ बीमा कम्पनीहरू खुल्ने र अभिकर्ताहरू नयाँ कम्पनीमा जाँदा ग्राहक पनि सँगै लैजाने चलनले पनि यसरी समर्पण गर्ने प्रवृत्ति बढेको थियो। बीमा अभिकर्ताहरू एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध हुन पाउने व्यवस्था समेत थियो।
पछिल्लो समय भने यसमा पनि रोक लागेको छ। अहिले एउटा अभिकर्ताले एउटा मात्रै कम्पनीमा रहेर त्यही कम्पनीका बीमा लेख बिक्री गर्नुपर्ने व्यवस्था छ।
अहिले अभिकर्ताले एउटा बीमा कम्पनी छोडेर सजिलै अर्को बीमा कम्पनी जान सक्ने अवस्था पनि छैन। यसरी जान चाहने अभिकर्ताले अहिले काम गरिरहेको संस्था र प्राधिकरणबाट स्वीकृति लिएर मात्रै अर्को कम्पनीमा जान पाउँछन्।
त्यसैले पहिले जसरी अभिकर्ताहरूले ग्राहकलाई फकाएर अर्को कम्पनीको बीमा बिक्री गराउने अवस्था भने नरहेको पराजुली बताउँछन्।
अभिकर्ताहरूले बीमा बेच्दा गलत तरिकाले बेचिएको (मिससेल) अवस्थामा बीचमै समर्पण हुने अवस्था भने रहेको छ।
धेरैजसोले बीमामा गरेको लगानी दोब्बर हुने दाबी गरेर बीमा बिक्री गरिरहेका हुन्छन्। तर, यस्तो भने हुँदैन। बीमितले पाउने प्रतिफल कम्पनीको बोनस दरको आधारमा निर्धारण हुन्छ।
हाल कम्पनीहरूले सरदर प्रतिहजार ३० देखि ९० रूपैयाँसम्म बोनस दर दिइरहेका छन्। एक लाखको बीमा गरेकोले सरदर तीन हजार देखि ९ हजार रूपैयाँसम्म वार्षिक बोनस दर पाउने अवस्था छ।
अर्थात् १० वर्षको लागि कसैले एक लाखको बीमा गरे ३० हजारदेखि ९० हजार रूपैयाँसम्म पाउन सक्ने अवस्था समेत रहन्छ।
तर, बोनस दर हरेक वर्ष उही हुँदैन। त्यस्तै, व्यक्तिको उमेर र बीमा अवधि अनुसार पनि फरक पर्न जान्छ। त्यस्तै, बोनसमा लाग्ने कर लगायतको कारण पनि यति नै रकम प्रतिफलको रूपमा पाइन सकिन्छ भन्ने हुँदैन।
पछिल्लो समय कम्पनीहरूको बोनस दर समेत कम भइरहेकोले पनि समर्पण बढेको हुने सक्ने आकलन गरिएको छ।
त्यसबाहेक बीमितहरूले क्षमताभन्दा बढी रकमको बीमा गराउँदा पनि यस्तो समस्या आउने गरेको हुनसक्ने पराजुली बताउँछन्। यद्यपि यस्तो अवस्थाको समाधानको लागि बीमा कम्पनीहरूले कर्जा समेत दिन्छन्।
कम्पनीहरूले बीमितको बीमा किस्ता अनुसार जम्मा भएको कुल रकमको ९० प्रतिशतसम्म कर्जा दिन्छन्। यस्तो कर्जाको ब्याजदर भने सरदर १० प्रतिशत हाराहारी छ।
त्यस्तै, केही वर्षदेखि बीमा शुल्क नतिरेको कारण निरन्तरता नपाएको (ल्याप्स भएको) बीमा समेत केही शुल्क तिरेर नवीकरण गर्न सकिने व्यवस्था समेत कम्पनीहरूले गरेका छन्।
यस्ता ल्याप्स बीमाहरूलाई निरन्तरता दिँदा लाग्ने ब्याजमा कम्पनीहरूले ३५ प्रतिशतदेखि शत प्रतिशतसम्म छुट दिइरहेका छन्।
तर, यी सबै उपायका बाबजुद पनि समर्पण गरिने बीमा लेखको संख्या हरेक वर्ष जस्तो बढ्दै गइरहेको छ।
यो पनि हेर्नुस्:
नियमित बीमा शुल्क नतिर्नेहरूको अर्बौं रकम अब फिर्ता होला?