नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न पठाएको पत्र राष्ट्र बैंकमा नपुगेको सहप्रवत्ता डिल्ली राम पोखरेलले जानकारी दिए।
प्राधिकरणले प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्न लगेका भए यस्ता कम्पनीहरूको सो सम्बन्धी कारबाही रोक्न धितोपत्र बोर्डलाई समेत पत्राचार गरेको थियो।
धितोपत्र बोर्डले भने बिहान प्राप्त भएको पत्र दर्ता गरेको छ।
'आज बिहान मात्रै पत्र दर्ता भएको छ, भोलि सञ्चालक समितिको बैठक पनि बस्ने दिन हो, सम्भवत यो पत्र पनि त्यहाँ पेस हुनेछ,' बोर्डका एक उच्च अधिकारीले भने।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्राचार गर्दै ३४ वटा उद्योगको खाता रोक्का गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेका थिए।
त्यस्तै, बक्यौता नबुझाउने उद्योगका लगानीकर्ताले अन्य कम्पनी चलाएको भए उनीहरूलाई सेयर जारी गर्न र धितो बन्धक दिन रोक्का गरिदिन पनि उनले कम्पनी रजिस्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई आग्रह गरेका थिए।
प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगका कार्यकारी सञ्चालकहरूको घरको लाइन समेत काट्ने बताएको छ।
प्राधिकरण विद्युत महसुल संकलन विनियमावलीमा लाइन काट्न मिल्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम काट्न लागिएको प्राधिकरणले जनाएको छ।