बुधबार बिहानसम्म विशाल बजार कम्पनीको नेप्सेमा कुल बजार पुँजीकरण दुई अर्ब २१ करोड रूपैयाँ थियो।
बुधबार कारोबार बन्दा हुँदा यो कम्पनीको कुल बजार पुँजीकरण एकै पटक एक सय गुणासम्म बढेको छ।
बुधबार बजार बन्द हुँदा यो कम्पनी १ खर्ब ९८ अर्ब बराबरको बनेको छ।
कुल बजार पुँजीकरण बढ्न या त सेयर संख्या बढ्नु पर्छ या मूल्य। किनभने बजारमा सूचीकृत कम्पनीको सेयरहरूलाई हालको मूल्यले गुणन गरेर कुल बजार पुँजीकरण निकालिन्छ।
विशाल बजारको बुधबार सेयर मूल्य एकैदिन १० प्रतिशत अर्थात् ४ सय ५० रूपैयाँले बढेर अन्तिम कारोबार चार हजार नौ सय ५० रूपैयाँमा भएको छ।
तर, यसले मात्रै कम्पनीको बजार पुँजीकरण सय गुणाले बढेको भने होइन। मंगलबार मात्रै कम्पनीको तीन करोड ९६ लाख ८ हजार छ सय कित्ता संस्थापक सेयर सूचीकृत भएको छ।
यो सेयर सरकारको स्वामित्वमा रहेको सेयर हो। यसअघिसम्म विशाल बजारले ओगटेको जग्गालाई नै सरकारको स्वामित्वको रूपमा लिइएको थियो।
जग्गा लिए पनि त्यसलाई सेयरमा परिवर्तन गरिएको थिएन। यसमा विवाद नै भएको थियो।
सर्वोच्च अदालत र पाटन अदालतमा समेत यस विषयमा मुद्दा परेको थियो। यसअघि नै अदालतले पनि जग्गा बापत सेयर दिनुपर्ने निर्णय गरेको थियो।
हाल आएर सो जग्गाको मूल्यांकन गरेर त्यसलाई सेयरमा परिणत गरेसँगै सेयर संख्या थपिएको हो।
थपिएको सेयर संख्या आजको मूल्यमा एक खर्ब ९६ अर्ब रूपैयाँ बराबर हो।
हालसम्म सेयर बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम बजारको सबैभन्दा ठूलो कम्पनीको रूपमा रहेको थियो।
आज बुधबार बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम एक खर्ब ७७ अर्ब रूपैयाँको कम्पनी भएको छ।