नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँकेलाई निक्षेप लिन र कर्जा प्रवाह गर्न रोक लगाएको छ।
नेपाल राष्ट्र बैंक बित्तीय संस्था सुपरिवेक्षण विभागले मंगलबार सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलाई अब उपरान्त थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको हो।
राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई अबदेखि सेवाग्राहीको नयाँ खाता खोल्न, पैसा जम्मा गर्न र थप कर्जा प्रवाह गर्न प्रतिबन्ध लगाइदिएको हो ।
राष्ट्र बैंकको पछिल्लो निरीक्षण प्रतिवेदनअनुसार कर्णाली विकास बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा तोकेबमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नहुने देखिएको थियो।
कर्णाली विकास बैंकको निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणहरु उल्लेख गर्दै राष्ट्र बैंकले उसलाई अबदेखि थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइदिएको हो।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी नियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिना भित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको हो।
यसअघि कर्णाली विकास बैंकको, नेपालगञ्ज शाखाका कर्मचारी तथा सञ्चालक समितिको मिलेमतोमा नक्कली ऋणीहरु खडा गरी किर्ते गरेर सर्वसाधारणको नाममा रकम निकासा गरेको तथ्यहरु फेला परेको थियो।
पढ्नुस्ः अर्काको घरमा मजदुरी गर्ने डम्मरले जब थाहा पाए ५० लाख ऋण लागेको कुरा...
बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंक बाँके, बर्दिया र दाङमा सक्रिय छ। उस्का १८ वटा शाखा छन् । यो बैंक मध्यपश्चिम र सुदूरपश्चिमको पहिलो विकास बैंक पनि हो।