हालै गैरआवासीय नेपालीका लागि मात्रै आइपिओ (प्राथमिक सेयर निस्कासन) गर्न र दोस्रो बजारमा पनि सोही वर्गले मात्रै कारोबार गर्न सक्ने अवधारणा सहित नीति तयार भयो।
धितोपत्र निस्कासन तथा बाँडफाँट निर्देशिकामा भएको आठौं संशोधनले सरकार र गैरआवासीय नेपाली (एनआरएन) को संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले यसरी सेयर जारी गर्न सक्ने र बजारमा कारोबार गराउन सक्ने व्यवस्था गरेको छ।
यो अवधारणा अनुसार दोस्रो बजारमा सेयर कारोबार गराउन भने समस्या हुन सक्ने देखिएको छ।
यस्ता कम्पनीको सेयर निस्कासनमा नेपाली नागरिकता लिएकाले आवदेन दिन र दोस्रो बजारमा पनि यस्ता कम्पनीको सेयर किनबेच गर्न पाउने छैनन्। किनभने, यस्तो सेयर गैरआवासीय नेपालीका लागि मात्र निस्कासन हुनेछ र कारोबार पनि त्यही वर्गकाले मात्रै गर्न पाउनेछन्।
यहाँ सेयर कारोबार भएपछि रकम लाने क्रममा विदेशी मुद्रा बाहिरिने दर धेरै हुन सक्ने र यसले मुलुकको विदेशी मुद्रा सञ्चिति प्रभावित हुन सक्ने भएकाले पनि यस्तो नियम ल्याइएको हो।
तर यही कारण दोसो बजार (नेप्सेको प्रणाली) मा भने यस्ता सेयरको कारोबार गराउन समस्या हुने देखिएको छ।
'अहिलेको कारोबार प्रणाली (टिएमएस) मा हामीले सूचीकृत हुने कम्पनीलाई छुट्ट्याउन सक्छौं। तर यसका किनबेच गर्ने लगानीकर्ता छुट्ट्याउन समस्या हुन्छ,' नेप्सेका एक उच्च अधिकारीले भने।
नेप्सेको अहिलेको प्रणालीले नेपाली नागरिक र गैरआवासीय नेपाली भनेर छुट्ट्याएर हेर्दैन। त्यसैले नेपाली नागरिककै हैसियतमा गैरआवासीय नेपालीहरूले अहिले पनि सेयर बजारमा लगानी गरिरहेका छन्। यसकारण लगानीकर्ता नै छुट्ट्याएर कारोबार गर्न प्रणाली पनि छुट्टै बनाउन पर्नसक्ने भएकाले समस्या हुने देखिएको हो।
अहिलेको प्रणालीमा कारोबारका लागि खुला रहेका सेयरमा सबै लगानीकर्ताले किनबेच गर्न सक्ने भए पनि लगानीकर्ता अनुसार कम्पनी छुट्ट्याउने व्यवस्था छैन।
'यसका लागि समानान्तर कारोबार हुने गरेर प्रणाली विकास गर्नुपर्ने हुन्छ,' ती अधिकारीले भने, 'त्यसैले यसअघिको छलफलमा पनि हामीले यस्ता कम्पनीका प्रतिनिधिलाई हाम्रो प्रणालीबाट सेयर कारोबार नगर्न सल्लाह दिँदै आएका छौं।'
यस्तो सेयर कारोबारका लागि सम्बन्धित कम्पनीमै 'डेस्क' राखेर, दिनहुँ सेयर कारोबारको व्यवस्था गर्न सकिन्छ। अहिले पनि सामूहिक लगानी कोषका खुलामुखी योजनाहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुँदैनन् तर दिनहुँ कारोबार हुन्छन्। यही ढाँचाबाट कारोबार गराउन सकिने नेप्सेका अधिकारीहरू बताउँछन्।
अहिले नेपाल सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड सञ्चालनमा छ। सरकार र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीको यो एक मात्रै कम्पनी हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई पनि अहिले दोस्रो बजारमा कसरी कारोबार गराउने भन्ने विषयमा टुंगो लागिनसकेको बताउँछन्।
'हामी चार/पाँच वर्षदेखि लागि पर्दा अहिले बल्ल नियम बनेको छ,' भट्टराईले भने, 'दोस्रो बजारमा कसरी कारोबार गराउने भन्ने विषयमा थप छलफल आवश्यक छ। हामीले पनि केही तरिकाहरू सोचेका छौं।'
उनले पनि नेप्सेको प्रणालीबाट मिले सोही अनुसार, नमिले बाहिरै कारोबारको व्यवस्था गर्न सकिने सम्भावना रहेको बताए।
दस अर्ब चुक्ता पुँजी रहने भनिएको यस कम्पनीमा संस्थापकका रूपमा रहेका गैरआवासीय नेपालीहरूको १० प्रतिशत, सरकारको पाँच प्रतिशत र बाँकी ८५ प्रतिशत अन्य गैरआवासीय नेपालीहरूमा प्राथमिक सेयर निस्कासन गरेर जुटाउने योजना छ।
यस्ता कम्पनीले जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी सेयर जारी गर्न पाउँछन्। प्रिमियम थप गरेर भने निस्कासन गर्न पाउँदैनन्। यसरी जारी गरिएको सबै सेयर नबिके कम्पनीले थप १५ दिनका लागि बिक्री खुला राख्न सक्नेछ।
आवेदकले न्यूनतम एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी सेयरमा आवेदन दिन सक्नेछन्। सेयरमा आवेदन दिन नेपाली रूपैयाँमा रकम रहने गरी बैंक खाता खोलिएको हुनुपर्ने व्यवस्था छ।
आवेदन दिँदा विदेशी मुलुकको नागरिकता वा राहदानी वा स्थायी आवासीय अनुमतिपत्र (पिआर) र गैरआवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्नेछ।
कम्पनीले निस्कासन गरेको सेयर बाडँफाँट भएको मितिले एक वर्ष पूरा नभई गर्न पाइने छैन। अनि यस्तो सेयरमा ५० प्रतिशतभन्दा कमका लागि आवेदन परेमा त्यस्तो निस्कासन प्रक्रिया नै रद्द हुनेछ।
पचास प्रतिशतभन्दा बढी तर शत प्रतिशतभन्दा कमका लागि आवेदन परे, बाँकी सेयर तत्काल कायम रहेकाहरूले खरिद गर्न सक्नेछन्। त्यसरी सेयरधनीले खरिद नगरेमा प्रचलित कम्पनी ऐन बमोजिम पुँजी संरचनामा हेरफेर गरेर सेयर पुँजी समायोजन गर्नुपर्नेछ।