नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ मा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ–हानी समायोजन अघि ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार खुद आय गरेको छ।
यो रकम गत आर्थिक वर्षको तुलनामा २१.९६ प्रतिशतले बढेको हो।
राष्ट्र बैंकको गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम सरकारलाई उपलब्ध गराउने भएको छ।
राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रूपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको हो।
राष्ट्र बैंक जस्ता केन्द्रीय बैंकहरूले कसरी कमाउँछन्?
केन्द्रीय बैंकहरू नाफा कमाउने उद्देश्यले स्थापना भएका हुँदैनन्। तर, यदी केन्द्रीय बैंकहरू नाफामा जान सकेनन् भने अन्य सरकारी निकायहरू जस्तै केन्द्रीय बैंक पनि जनताको करबाटै चल्नु पर्ने हुन्छ।
'बैंकहरूको जस्तो नाफा यति नै कमाउने भन्ने हाम्रो लक्ष्य हुँदैन,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक रामु पौडेलले भने, 'तर, हामीले प्रभावकारी रूपमा सञ्चालन हुँदा नाफा पनि हुन्छ भने त्यो राम्रो कुरा नै हो।'
अन्य केन्द्रीय बैंकहरूले जस्तै राष्ट्र बैंकको कमाइका आधारहरू विभिन्न हुन्छन्। बैंकिङ प्रणालीमा कर्जा लगानी नभएर धेरै रकम रहेमा राष्ट्र बैंकले निश्चित ब्याजदर दिएर त्यो पुँजी खिच्नुपर्ने हुन्छ।
त्यस्तै, बैंकहरूमा कम पुँजी भएमा तरलता कायम गर्न केही प्रतिशत ब्याजदर लिएर आवश्यक पुँजी दिन्छ। यो पुँजी खिच्दा राष्ट्र बैंकको खर्च हुन्छ भने दिँदा आम्दानी हुन्छ।
राष्ट्र बैंकले २०८०/८१ मा खुला बजार कारोबारका विभिन्न उपकरणहरूमार्फत कुल ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरेको छ भने कुल ८ खर्ब ४ अर्ब ७६ करोड तरलता प्रवाह गरेको छ।
यस वर्ष भने बैंकहरूले अधिक तरलताको समस्या खेपिरहेका छन्। त्यसैले यस वर्ष राष्ट्र बैंकको खर्च बढिरहेको छ।
राष्ट्र बैंकले विदेशी मुद्राको कारोबारबाट पनि केही कमाइ गर्छ। सरकारी ऋणपत्रको खरिद–बिक्री, सुनको कारोबार, केही संस्थामा गरेको सेयर लगानी लगायतबाट पनि केही आम्दानी गरिरहेको हुन्छ।
विदेशी मुद्राको कारोबारलगायतबाट भएको आम्दानी राष्ट्र बैंकले विभिन्न कोषमा पनि राखेको हुन्छ। यस्तो कोषले त्यस्ता कारोबारमा हुने घाटा नाफा समायोजनमा सघाउ पुर्याउँछ।
राष्ट्र बैंकको टक्सार विभागले पनि सुन, चाँदीका सिक्का बिक्री गरेर समेत आम्दानी गर्छ।