बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आइतबार गरेको 'ए सिम्पोसिजम अन एसेट रिकन्ट्रक्सन बिजनेस' विषयक उच्चस्तरीय वृहत छलफल तथा अन्तर्क्रियामा सहभागीहरूले नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनामा जोड दिएका छन्।
नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो खराब/निष्क्रिय कर्जा, गैर बैंकिङ सम्पत्ति, यसबाट सृजित गम्भीर चुनौती र समाधानका उपयुक्त विकल्पका विषयमा सिबिफिनले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू र सरोकारवालाहरूसँग अन्तर्क्रिया गरेको हो।
बैंकिङ क्षेत्र विगतका कठिन परिस्थितिहरूलाई समेत सहजै सामना गर्दै अगाडि बढिरहेको भए पनि कतिपयले बाध्यतावश र पछिल्लो समयमा केहीले नियतवश ऋण नतिर्दा जोखिम बढ्दै गएको सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले बताए।
अध्यक्ष पौडेलले धितोस्वरूप राखिएका सम्पत्तिहरूको बेचबिखन हुन नसक्दा बैंकहरूले नै त्यस्ता सम्पत्तिलाई सकार्नु परिरहेको र यसले बैंकहरूसँग तरल पुँजीभन्दा पनि अचल सम्पत्ति बढी हुने अवस्था आएको बताए।
यो अवस्थालाई सम्बोधन गर्न र बैंक तथा वित्तीय संस्थाहरूलाई विशुद्ध बैंकिङ गतिविधिहरूमा केन्द्रित हुनका लागि पनि सम्पत्ति पुनर्निर्माण कम्पनी आवश्यक रहेकोमा उनले जोड दिए।
सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले पनि कर्जा र गैर बैंकिङ सम्पत्तिमा भएको वृद्धिले निम्त्याउन सक्ने संभावित संकट र जोखिमलाई समयमै आकलन र मूल्यांकन गरेर अगाडि बढ्नु विवेकपूर्ण हुने बताए।
अन्तर्क्रियामा उपस्थितहरूले खराब ऋण र बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति हरेक साल थुप्रिँदै जादा अवस्था विस्तारै प्रतिकूलतातिर बढ्न थालेकोले यो समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन गर्नका लागि स्थायी प्रकृतिको कम्पनी खोल्न अब विलम्ब गर्न नहुने निष्कर्ष निकालेका छन्।