नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर 'एनआइएमबी पेवेयर' को सुरुवात गरेको छ।
कुनै पनि पिओएस मेसिनहरूमा यो स्टिकर छुवाएर छिटो तरिकाले नै रकम भुक्तानी गर्न सकिन्छ। यसरी भुक्तानी हुने भए पनि यो प्रविधि सुरक्षित रहेको बैंकले उल्लेख गरेको छ।
यो प्रविधि भित्रिएसँगै ग्राहकहरूले भौतिक कार्ड बोक्न नपर्ने र मोबाइल वालेट सेवा लिएको हुन नपर्ने बताइएको छ।
'एनआइएमबी पेवेयर नेपालका लागि गेम चेन्जर हो,' नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका वरिष्ठ डेप्युटी सिइओ महेश शर्मा ढकालले भने, 'यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ। हामी नेपालमा पहिलो पटक यो प्रविधि प्रस्तुत गर्न पाउँदा उत्साहित छौं।'
योसँगै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक फेरि पनि डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित भएको उनले उल्लेख गरे।
ग्राहकहरूले एनआइएमबी पेवेयरको वेयरेबल स्टिकरलाई आफ्नो घडी, चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा टाँस्न सकिने बताइएको छ। र, ग्राहकहरूले पिओएस टर्मिनलमा उपकरण ट्याप (छुवाएर) छिटो र सुरक्षित रुपमा कारोबारको भुक्तानी गर्न सक्नेछन्।
पाँच हजारभन्दा माथि रूपैयाँको कारोबारमा भने अतिरिक्त सुरक्षाको रूपमा पिनको आवश्यकता पर्ने बताइएको छ।
यो सेवा सुरू गरेको उपलक्ष्यमा बैंकले एक विशेष प्रचार प्रस्ताव घोषणा गरेको छ।
एनआइएमबी पेवियर स्टिकरको लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकहरूले तीन महिनाभित्र १२ वटा पिओएस कारोबार पूरा गरेमा आफ्नो वेयरेबल शुल्क एक हजार रूपैयाँसम्म फिर्ता पाउनेछन्।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले लामो समयदेखि नेपालका बैंकिङ उद्योगमा नवप्रवर्तनको अगुवाइ गर्दै आएको छ।
सन् २००३ मा बैंकले नेपालमा पहिलो पटक भिसा इलेक्ट्रोन डेबिट कार्ड जारी गरेको थियो। बैंकले भिसा कन्सोर्टियम र राष्ट्रिय भुक्तानी नेटवर्क (एनपिएन) मार्फत कार्ड सेवाहरूलाई प्रवर्द्धन गर्दै आएको छ।
बैंकको हाल नेपालभर ९ वटा भिसा एसोसिएट सदस्यहरू, १६ लाख कार्डहरू सहितको विस्तृत नेटवर्क सञ्चालन गर्दै आएको छ। बैंकले दुई सय ७५ शाखा, दुई सय ६५ एटिएम र चार हजारभन्दा बढी पिओएस टर्मिनलहरू सञ्चालन गरिरहेको छ।