मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार घटेको छ। नेप्सेको वृद्धि दोस्रो दिन नै टिक्न नसकेको हो।
मंगलबार २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको नेप्से बुधबार २०.४१ अंकले ओरालो लागेको हो।
यसदिन नेप्से २६४५.३९ विन्दुमा बन्द भएको छ।
बुधबार कारोबार रकममा भने वृद्धि भएको छ।
गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब १७ करोडको कारोबार भएकोमा यसदिन छ अर्ब २७ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब १० करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३२४ वटा धितोपत्रको एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ वटाको घटेको छ। यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन आइसिएफसी फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८२३ रूपैयाँ ९० पैसा कायम भएको छ।
यसैगरी, समृद्धि फाइनान्सको मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७०४ रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, महुली लघुवित्तको मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५६४ रूपैयाँमा झरेको छ।
हिमालयन बैंकको लघुवित्तको मूल्य ४.०७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २६१ रूपैयाँ ९० पैसा कायम भएको छ।
बुधबार आइसिएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ८२३ रूपैयाँ ९० पैसामा ४३ करोड ४४ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २३४ रूपैयाँमा २६ करोड ९७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र व्यापार सबै समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले घटेको छ।