धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकिएको छ।
पहिले छानिएर अन्तर्वार्ता दिन बाँकी सदस्यलाई फेरि पनि अन्तरवार्ता दिन बोलाइएको थियो। शुक्रबार अध्यक्ष सिफारिस समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी पनि उपस्थित थिएनन्। अधिकारी बिरामी परेर अस्पताल भर्ना भएको कारण अन्तरवार्ताता रोकिएको बताइएको छ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतिको लागि बोलाइएको थियो।
यसअघि उनीहरू अनुपस्थित हुँदै आएका थिए।
छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठसहित यी तीन जनालाई छनोट गरेको थियो।
पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थमन्त्रालयले प्रक्रिया नै रोकेको थियो।
अर्थमन्त्रालयले प्रक्रिया नै रोकेपछि सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
नयाँ प्रक्रिया सुरू नगर्न अदालतले आदेश दिएपछि पुरानै प्रक्रियालाई निरन्तरता दिने प्रयास गरिएको थियो।