एसियाली विकास बैंकको लघुवित्त कार्यक्रम सञ्चालनको लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र छिमेक लघुवित्त वित्तीय संस्थाबीच सहकार्य हुने भएको छ।
एसियाली विकास बैंकबाट प्राप्त हुने यो ऋणबाट सञ्चालन हुने यो कार्यक्रममा सहकार्यका लागि दुई पक्षबीच सोमबार सम्झौता भएको हो।
एसियाली विकास बैंकको लघुवित्त कार्यक्रम वित्तीय पहुँच वृद्धिमा केन्द्रीत कार्यक्रम हो।
नेपालमा यस किसिमको साझेदारी पहिलो भएको बैंकले उल्लेख गरेको छ।
यो ऋणको जोखिम बहनमा एसियाली विकास बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकबीच सहकार्य भएको छ।
'नेपालमा एडिबीको लघुवित्त कार्यक्रम सुरू गर्न पाउँदा म खुशी छु,' एसियाली विकास बैंकका आवासीय निर्देशक अनार्ड कोचोइसले भने, 'गरिब र सिमान्तकृत महिलाहरूको वित्तीय पहुँच वृद्धि गरेर यो कार्यक्रमले लैंगिक विभेद कम गर्न सहयोग पुग्नेमा म विश्वस्त छु।'
स्ट्याण्डर्ड चार्टड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले नेपाली समुदायमा नवप्रवर्तक विचार प्रसारको लागि आफ्नो अन्तर्राष्ट्रिय सञ्जालको प्रयोग गर्न कटिबद्ध रहेको उल्लेख गरे।