सोमबार नेप्से परिसूचक बढेर २५ सयको विन्दु कटेको छ। २४९४ विन्दुसम्म पुगेर बजार फर्किएको हो।
नेप्से केही समयदेखि साइडवेज मुभमेन्टमा (निश्चित अंकबीच रहेर तलमाथि गरिरहेको) छ।
केही दिन अघि पनि २५ सय कटेको नेप्से साइडवेज मुभमेन्टमा रहेको हो वा होइन भन्ने कुरा आगामी दिनको कारोबारले देखाउनेछ।
२५ सय विन्दु कटेर केही माथि पुगे बजार थप बढ्नेछ।
अहिले नेप्सेले ३००१ विन्दु पुग्दा जोडेको अंकको अधारमा ६१ प्रतिशत आसपास रिट्रेसमेन्ट पाएर बढ्ने प्रयास गरेको देखिन्छ। २०५३ विन्दुबाट बढ्न थालेको नेप्सेले नौ सय ४८ अंक जोडेको थियो।
अहिले ३००१ बाट २४६४ मा आइपुग्दा ५७ प्रतिशत रिट्रेसमेन्ट गरिसकेको छ। यस विन्दुबाट बजार फर्किने प्रयासमा देखिएको हो।
आज अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
आइतबार चार अर्ब पाँच करोड रूपैयाँको कारोबार भएकोमा यसदिन तीन अर्ब ७१ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रूपैयाँ कमी आएको हो।
आज ३१९ वटा धितोपत्रको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच भएको हो।
सोमबार २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन सिइडिबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ७२७ रूपैयाँ कायम भएको छ।
यसैगरी, कुमारी सवल योजनाको मूल्य ९.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९ रूपैयाँ ९२ पैसा पुगेको छ।
यस्तै, प्रभु सेलेक्ट फण्डको मूल्य सर्वाधिक ९.३६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६८ पैसामा झरेको छ।
नबिल ब्यालेन्सड् फण्डको मूल्य ७.२९ प्रतिशतले घटेको छ।
उक्त योजनाको प्रतिकित्ता मूल्य ८ रूपैयाँ ९० पैसा कायम भएको छ।
सोमबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७२७ रूपैयाँमा १७ करोड ६९ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सर्वोत्तम सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७९८ रूपैयाँमा १७ करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सिमेन्ट कम्पनीहरूको मूल्य बढ्दा समग्र उत्पादन मुलक समूहमा सुधार देखिएको छ। बाढीपछिको पुनरनिर्माणमा सिमेन्टको माग बढ्न सक्ने अपेक्षामा पनि आइतबारदेखि नै यी कम्पनीहरूको मूल्य बढेको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.६० प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशतले बढेको छ। यस्तै दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ३.२८ प्रतिशतले बढेको छ।