गत आर्थिक वर्ष २०८०–८१ मा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम ४० अर्बले धेरै भएको छ।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ।
आर्थिक वर्ष २०७८–७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ।
यसको अनुपातमा आयातमा भइरहेको कमीले पनि भुक्तानी सन्तुलन देखिएको हो।
आयात घटेको कारण मुलुकको चालु खाता पनि ३० अर्ब रूपैयाँ नाफामा देखिएको छ।
वार्षिक आधारमा सात वर्षपछि गत आर्थिक वर्ष मुलुकको चालु खाता नाफामा देखिएको थियो।
यस्तो खाता आर्थिक वर्ष २०७३–७४ देखि नोक्सानमा रहँदै आएको थियो। चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ।
चालु आर्थिक वर्षको पहिलो महिना पनि यसले निरन्तरता पाइरहेको छ।
चालु आर्थिक वर्षको पहिलो महिना आयात ०.६ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब रूपैयाँमा सीमित भएको छ। एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
यो अवधिमा पर्यटकबाट भएको आम्दानी करिब चार अर्ब ५२ करोड रूपैयाँ छ। प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको देखिदैन।