नेपाल राष्ट्र बैंकले अबबाट मूल्य वृद्धिको लागि नयाँ आधार वर्ष लिएर तयार पारेको तथ्यांक सार्वजनिक गर्ने भएको छ।
चालु आर्थिक वर्षको साउनदेखिको यस्तो तथ्यांक आउने भएको हो। यसअघि राष्ट्र बैंकले २०७१/७२ लाई आधार वर्षको रूपमा लिदै आएकोमा अबबाट २०८०/८१ लाई आधार वर्ष मानिएको तथ्यांक सार्वजनिक हुने भएको छ।
राष्ट्र बैंकले आधार वर्षसँगै नेपाली उपभोगमा आएको परिवर्तनलाई पनि तथ्यांकमा समेट्ने भएको छ। यसको लागि राष्ट्र बैंकले राष्ट्रिय तथ्यांक कार्यालयसँग पनि सहकार्य गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले तयार पारेको राष्ट्रिय जीवनस्तर सर्वेक्षणको आधारमा मूल्य वृद्धिको लागि लिइने वस्तुहरूको भार तय गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
त्यस्तै, राष्ट्र बैंकले यसअघि ५० जिल्लाबाट चार सय ९६ वस्तुको मूल्य संकलन गर्दै आएकोमा अहिले ७७ जिल्लाबाट पाँच सय २५ वस्तुको मूल्य सूचकांक निकाल्न प्रयोग गरिने भएको छ।
योसँगै यस वर्षबाट पहिलो पटक प्रदेश अनुसार त्यहाँको मूल्य वृद्धि पनि सार्वजनिक हुने भएको छ।
राष्ट्र बैंकका अनुसार एक सय ३५ वस्तु नयाँ सूचीमा थपिएका हुन् भने प्रयोगमै आउन छाडेका एक सय ६ वस्तु बाहिरिएका छन्।
राष्ट्र बैंकले ८७ बजार केन्द्रबाट मूल्य संकलन गर्ने भएको छ। यसअघि ६० वटा बजार केन्द्रबाट मूल्य संकलन गर्दै आएको थियो।
फलफूल, तरकारी लगायतका ५९ वस्तुको साप्ताहिक रूपमा, दाल चामलजस्ता ९४ वस्तुको मासिक रूपमा र शिक्षा लगायतका तीन सय ७२ वटा वस्तुको त्रैमासिक रूपमा मूल्य संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले यसपटक गैर खाद्यमा ६४.५१ प्रतिशत र खाद्य तया पेय पदार्थमा ३५.४९ प्रतिशत भार दिएको छ। यसअघि गैर खाद्यमा ६०.१० प्रतिशत र खाद्यमा ४९.९० प्रतिशत भार दिइएको थियो।
मदिरा, सूर्ति तथा सूर्ति प्रयोग भएका वस्तु, रेष्टुरेन्ट लगायतलाई राष्ट्र बैंकले खाद्यबाट हटाएर गैर खाद्य सूचकमा राखेको छ।
राष्ट्र बैंकले भुक्तानी सन्तुलनको तथ्यांक पनि नयाँ ढाँचामा सार्वजनिक गर्ने भएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोषले जारी गरेको छैठौं ढाँचा अनुसार भुक्तानी सन्तुलनको तथ्यांक सार्वजनिक गर्न थालिएको हो।
यसमा धेरैजसो तथ्यांक पहिले पनि आउने गरेकोमा यसमा मुलुक बाहिरिएको र भित्रिएको रकम थप स्पष्ट र विस्तृत रूपमा सार्वजनिक गरिने भएको हो।