नेप्से परिसूचकले ५० प्रतिशतमा रिट्रेसमेन्ट परीक्षण गरिरहेको छ।
हालैको उच्च विन्दु ३००१ बाट घट्ने क्रममा रहेको नेप्सेले ५० प्रतिशत रिट्रेसमेन्ट तहमा परीक्षण गरिरहेको हो।
२०५३ विन्दुबाट बुलिस यात्रा सुरू गरेको नेप्से परिसूचकले ३००१ विन्दु भेट्दा ९४८ विन्दु जोडेको थियो।
बजार घट्न थालेसँगै हालसम्म चार सय ७२ अंक गुमायो। यो बढेको अंकको तुलनामा ४९.७८ प्रतिशत कटौती भएको हो। २३, ३८, ५०, ६०, ७८ प्रतिशत रिट्रेसमेन्टमा बजार फर्किने अनुमान गरिन्छ।
समग्रमा भने नेप्सेले १५.७२ प्रतिशत गुमाएको छ। कारोबारमा रहेका सबै समूहगत परिसूचक घटेका छन्।
ठूला भनेर चिनिएका लगानीकर्ताहरूले नै सेयर कारोबारको रकम तिर्न नसकेको कारण प्रहरीमा उजुरी परेको खबर आएसँगै लगानीकर्ता थप अत्तालिएका छन्।
सोमबार यसले पनि बजारलाई केही समय उच्च दरमा घटायो। तर, बजार बन्द हुने समय तिर सम्हालियो र २५१९ सम्म पुगेको नेप्से बजार बन्द हुँदा २५२९ सम्म पुग्यो।
सोमबार कारोबार रकम केही बढेको छ। आइतबार पाँच अर्ब नौ करोडको कारोबार भएकोमा सोमबार पाँच अर्ब ६६ करोड रूपैयाँको सेयर कारोबार भएको हो।
यसदिन हिमालयन हाइड्रोको सबैभन्दा धेरैले मूल्य बढ्यो। चार वटाको मूल्य १० प्रतिशतले घटेर सर्किट लागेको छ।
गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआइसी एसिया फ्लेक्सी क्याप र इस्र्टन हाइड्रोपावर कम्पनीको मूल्य घटेर सर्किट लागेको हो।
कम्पनीको मूल्य ९.८४ प्रतिशतले बढेर पाँच सय ४७ रूपैयाँमा कारोबार भएको छ।
यस दिन तीन सय २९ वटा स्क्रिप कारोबारमा आएकोमा ४६ वटाको मात्रै मूल्य बढेको छ। २ सय ७० वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।