गत साउन अन्त्यदेखि भदौ अन्त्यसम्ममा नेप्से परिसूचक १४ प्रतिशतले घट्यो।
साउन ३१ गते नेप्से परिसूचक पछिल्लो समयको उच्च विन्दु ३०००.८१ मा थियो। त्यसयता नेप्से घट्ने क्रममा रहेर भदौ ३१ मा नेप्से २५८०.७६ मा आयो। यो अवधिमा नेप्सेले ४२० अंक गुमायो।
नयाँ उचाई भेट्ने अनुमानकाबीच बजार थप घट्न थाल्यो। सो सँगै लगानीकर्ता पनि आत्तिन थाले र सस्तोमै सेयर बिक्री बढाए।
यो एक महिनाको अवधिमा दुई सय ६७ कम्पनीको सेयर किनबेच भएकोमा ३० वटा कम्पनीको मूल्य बढ्यो। कतिपयको सेयर मूल्य ८२ प्रतिशतसम्म बढेको छ।
यसरी उच्च दरमा मूल्य बढ्ने पाँच कम्पनीमा आत्मनिर्भर लघुवित्त, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, इस्टर्न हाइड्रोपावर र समाज लघुवित्त हुन्।
आत्मनिर्भर लघुवित्तको मूल्य ८२.३६ प्रतिशत, विन नेपाल लघुवित्तको मूल्य ७८.५२ प्रतिशत, मानुषी लघुवित्त र इस्टर्न हाइड्रोपावर दुवैको २५.७२ प्रतिशत र समाज लघुवित्तको १९.१२ प्रतिशतले मूल्य बढेको हो।
यो अवधिमा सबैभन्दा धेरै मूल्य गुमाउने कम्पनीमा नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, चन्द्रागिरी हिल्स, अरूण काबेली, युनिभर्सल पावर, हिमालयन ऊर्जा, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स छन्।
नेपाल फाइनान्सको सेयर मूल्य ३४.२९ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको २६.११ प्रतिशत, चन्द्रागिरी हिल्सको २६.७६ प्रतिशत र अरूण काबेलीको २४.१८ प्रतिशतले मूल्य घटेको छ।
युनिभर्सल पावर, हिमालयन ऊर्जा, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स सबैको मूल्य २३ प्रतिशतका दरले घटेको छ।
एक महिनामा लगानीकर्ताहरूले सबैभन्दा धेरै अपी पावर, अरुण भ्याली हाइड्रो, कुमारी बैंकको खरिद गरेका छन्। यी कम्पनीको १३ हजारदेखि १८ हजार कित्ता सेयर किनबेच गरेका छन्।
एक महिनामा हिमालयन रि इन्स्योरेन्स, अपी पावर, सिइडिबी हाइड्रो(सिएचडिसी) को सबैभन्दा धेरै रकमको कारोबार भएको छ। यी कम्पनीको एक महिनामा पाँच अर्बदेखि सात अर्ब रूपैयाँसम्मको सेयर किनबेच भएको देखिन्छ।