नेप्सेमा कारोबारमा आएका १५ मध्ये १३ वटा वित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरण प्रकाशित गरेका छन्।
कम्पनीहरूको वर्षभरीको कार्य सम्पादनको मूल्यांकन यिनै वित्तीय विवरणबाट हुन्छ। यस्ता वित्तीय विवरणको प्रभाव सेयर बजारमा समेत पर्छ।
अहिले सेयर बजारमा वित्त कम्पनीहरूको सेयर मूल्य ६०८ रूपैयाँदेखि दुई हजार नजिकसम्म छ।
वित्तीय विवरण प्रकाशित गरेका १३ मध्ये अधिकांश वित्त कम्पनी यसपटक लाभांश दिनै नसक्ने अवस्थामा छन्।
गुडविल, पोखरा, सेन्ट्रल, नेपाल, बेस्ट, प्रोग्रेसिभ, रिलायन्स र गोर्खाज फाइनान्सले लाभांश दिनै नसक्ने देखिएका छन्।
बाँकीको लाभांश क्षमता पनि २.४२ देखि ७.९६ प्रतिशतसम्म मात्रै देखिएको छ।
श्री इन्भेष्टमेन्ट फाइनान्सले २.४२ प्रतिशत, मल्टिपर्पस फाइनान्सले २.४४ प्रतिशत, गुहेश्वरी मर्चेन्ट फाइनान्सले २.८४ प्रतिशत मात्र लाभांश दिन सक्ने देखिएको हो।
त्यस्तै, आइसिएफसी फाइनान्सले ३.९८ प्रतिशत र मन्जुश्री फाइनान्सले ७.९६ प्रतिशत लाभांश दिन सक्ने देखिएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई असारसम्मको वित्तीय विवरणमा साउनअन्त्यसम्म उठ्ने ब्याज समेत जोड्न सक्ने सुविधा दिएको छ।
साउनमध्य कटिसकेको छ। अहिले दुई बाहेक सबै वित्त कम्पनीहरूले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।
त्यसैले लगभग उठ्न सक्ने ब्याज आइसकेको अनुमान गर्न सकिन्छ। तर पनि साउन मसान्तसम्म ब्याज उठेमा बैंक तथा वित्तीय संस्थाहरूले परिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा यो ब्याज पनि समावेश गर्नसक्ने छन्।
त्यसैले, अहिले प्रकाशित भएको नाफा रकम, लाभांश क्षमतामा पनि धेरथोर परिवर्तन हुनसक्ने सम्भावना रहन्छ।