चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले २ करोड ६३ लाख २३ हजार रूपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको यही अवधिको तथ्यांक प्रकाशित गरेको छैन।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास र गत आर्थिक वर्ष अन्त्य असारको तथ्यांक सार्वजनिक गरेको हो।
यसले चालु आर्थिक वर्षको कम्पनीको नाफा निकै खुम्चिने देखिएको छ।
गत वर्षको असारमा यस कम्पनीले ९२ करोड ७८ लाख २१ हजार रूपैयाँ नाफा कमाएकोमा यो आर्थिक वर्षको तेस्रो त्रैमास सकिँदा पनि नाफा मात्रै २ करोड ६३ लाख २३ हजार छ।
कम्पनीको व्यापारमा गिरावट आएकोले नाफा घट्न थालेको हो। गत असारमा १० अर्ब ५८ लाख रूपैयाँ आम्दानी रहेकोमा गत चैतमा यस्तो आम्दानी ७ अर्ब २१ लाख रूपैयाँ छ। यसको अन्य आम्दानी पनि ३ करोड ७४ लाखबाट घटेर २ करोड १४ लाखमा झरेको छ।
वित्तीय खर्च २४ करोड ९० लाखबाट बढेर ३७ करोड ३३ लाख पुगेको छ।
सञ्चालन नाफा एक अर्ब २४ करोडबाट घटेर ३९ करोडमा सीमित भएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ५४.३४ रूपैयाँबाट घटेर २.०८ रूपैयाँमा सीमित भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि असार २७ गतेबाट आइपिओ निष्कासन गर्दैछ। बुक बिल्डिङ विधिबाट मूल्य निकालिएको यस कम्पनीको प्रतिकित्ता सेयरको मूल्य ८२०.८० रूपैयाँ तोकिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यस आइपिओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ। लगानीकर्ताले अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
यस आइपिओमा लगानीकर्ताले साउन १० गतेसम्म आवेदन दिन सकिनेछ।