आरकेडि होल्डिङ लिमिटेडले चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् एक करोड ४० लाख कित्ता आइपिओ प्रिमियम मूल्यमा निष्कासन गर्ने तयारी गरेको छ।
सो कम्पनीले बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड, पन्चासे केवलकार लिमिटेड, लगायतका पर्यटकीय पूर्वधारयुक्त उद्योगहरू र रियल स्टेट साथै निर्माण क्षेत्र र इभेन्ट म्यानेजमेन्टका लागि पुँजी लगानी गरिरहेको छ।
कम्पनीले आइपिओ बिक्रीको प्रक्रिया पूरा गर्नको लागि सेयर बिक्री प्रबन्धक र सेयर बिक्री प्रत्याभूतकर्ता कम्पनी नियुक्ति गर्ने अन्तिम तयारी समेत गरेको छ।
छिटै कम्पनीको सातौं साधारण सभा आह्वान गरी सेयर निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्ने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए। उनका अनुसार सभाबाटै संकलित सेयर कुन-कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा समेत विस्तृत निर्णय हुनेछ।
लगातार नाफामा रहेको सो कम्पनीले आफ्नो कारोबारलाई थप विस्तार गर्नका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्न लागेको हो।
सो कम्पनीको अधिकृत पुँजी ५ अर्ब रूपैयाँ रहेको छ भने तत्काल जारी पुँजी ३ अर्ब ५१ करोड रूपैयाँमध्ये प्रवर्द्धकहरूले २ अर्ब १० करोड ६० लाख रूपैयाँ चुक्ता गर्ने कबुल गरेका छन्।
बाँकी १ अर्ब ४० करोड ४० लाख रूपैयाँ स्थानीय र सर्वसाधारणमा सेयर जारी गरी संकलन हुने पुँजीले उत्पादनमूलक उद्योगहरू प्रवर्द्धन गरी कम्पनीको आम्दानी बढाउने कम्पनीको रणनीति रहेको अध्यक्ष शर्माको भनाइ छ।