रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वसाधारणले प्रतिकित्ता ८ सय २० रूपैयाँको दरमा पाउने सम्भावना देखिएको छ।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरेको सेयरको कटअफ प्राइस लगभग नौ सय १२ रूपैयाँ निस्किएको स्रोतले उल्लेख गरेको छ।
'अहिले आवेदन दिनेहरूले प्रदान गरेको चेक क्यिलर भएमा यही दर कायम हुनेछ,' स्रोतले भन्यो, 'केही गरी कुनै चेक क्लियर भएन भने मात्रै त्योभन्दा कम मूल्य हाल्ने बाँकी सेयर पाउँछ र कटअफ प्राइस पनि त्यही निस्कन्छ।'
कम्पनीले सुरूमा प्रतिकित्ता सेयर मूल्य सात सय ६० रूपैयाँ मूल्य तोकेको थियो। यो मूल्यमा योग्य संस्थागत लगानीहरूले बिडिङ गरेका थिए। २० प्रतिशतले मूल्य कम बढी हुने गरेर गरिएको सो बिडिङको क्रममा ६ सय ८ देखि ९ सय १२ रूपैयाँ मूल्य निस्किएको थियो।
यही मूल्य प्रस्ताव लिएर कम्पनीले धितोपत्र बोर्डमा सेयर निष्कासनको लागि अनुमति मागेको थियो। अनुमतिसँगै योग्य संस्थागत लगानीहरूले आफैँले सेयर लिने गरेर अहिले बिडिङ गरेका हुन्।
यो क्रममा योग्य संस्थागत लगानीकर्ताको लागि जारी गरेको सात लाख ७० हजार छ सय ४० कित्ता सेयर सबै सेयर नौ सय रूपैयाँमा आवेदन दिनेलाई बाड्दा सकिएको हो। यही कारण कटअफ प्राइस पनि ९ सय १२ नै कायम भएको हो।
अब सर्वसाधारणले भने कम्पनीको प्रतिकित्ता सेयर आठ सय २० रूपैयाँ ८० पैसामा पाउने सम्भावना छ। कटअफ प्राइसमा १० प्रतिशत कम गरेर कम्पनीले स्थानीय, वैदेशीक रोजगारीमा रहेका तथा अन्य सर्वसाधारणलाई बिक्री गर्नुपर्ने व्यवस्था छ।
यसो भएमा अब कम्पनीको कम्तीमा ५० कित्ता सेयरको लागि सर्वसाधारण लगानीकर्ताले ४१ हजार ४० रूपैयाँ जोहो गर्नुपर्ने भएको छ। यसरी प्रिमियम मूल्यमा जारी हुने सेयरमा लगानीकर्ताले कम्तीमा ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था छ।
यदी सर्वसाधारणमा जारी गरेको सबै सेयर बिक्री नभएमा फेरि अन्य सबैखाले संस्थाहरूले आवेदन दिन पाउँनेछन्। बिक्री नभएको यस्तो सेयर संस्थाहरूले पनि ८ सय २० रूपैयाँ ८० पैसामा नै पाउँनेछन्।
यो कम्पनी सन् १९९४ बाट सञ्चालनमा रहेको छ। नेपालमा यो क्षेत्रको मध्ये मुख्य कम्पनी हो। यो कम्पनीले कटन, पोलिस्टर लगायत उत्पादन गर्दै आएको छ।
रिलायन्स स्पिनिङ मिल्स गोल्यान र एमएस ग्रुपको लगानीमा रहेको कम्पनी हो। कम्पनीको अध्यक्ष पवन कुमार गोल्यान र सञ्चालकमा शशी कान्त अग्रवाल पनि छन्। कम्पनीको प्रबन्धक निर्देशकमा अक्षय गोल्यान छन्।
कम्पनीको सुनसरीमा दुई वटा औधोगिक प्लान्ट छ। यी दुवै कम्पनीको उत्पादन क्षमता ४२ हजार सात सय ५० मेट्रिक टन छ।
कम्पनीको ७६ प्रतिशत बराबरको आम्दानी निर्यातबाट हुने गर्छ। भारत, टर्की लगायतमा कम्पनीले निर्यात गर्दै आएको छ। कम्पनीले गर्ने कुल निर्यातमध्ये भारततर्फ १३ प्रतिशत गर्दै आएको छ।
कम्पनीले आफ्ना मेसिनहरूको स्तरोन्नति गरिरहेको छ। जसले उत्पादनमा समेत वृद्धि देखिँदै आएको छ। आर्थिक वर्ष २०७९/८० मा कम्पनीको बिक्री ५ प्रतिशतले बढेर ३१ हजार ९८ मेट्रिक टन पुगेको थियो।
कम्पनीको बिक्री बढे पनि कुल सञ्चालन आम्दानी भने एक प्रतिशतले घटेर १० अर्ब ६० लाख रूपैयाँमा सीमित भएको छ।
कम्पनीको उत्पादनको औसत मूल्य प्रतिकेजी ३२३ बाट घटेर ३०६ रुपैयाँ भएपछि पनि आम्दानी घटेको हो। तर पनि कम्पनीको ब्याज, भाडा, ह्रास, कर अघिको मुनाफा मार्जिन सामान्य बढेको छ। यो १७.३६ प्रतिशतबाट बढेर १७.५८ पुगेको छ।
निर्यात सहुलियत संरचनामा भएको फेरबदलको कारण पनि कम्पनीको आम्दानी बढेको हो। यसरी सहुलियत बापत कम्पनीले २१ करोड पाएकोमा आर्थिक वर्ष २०७९/८० मा ४८ करोड पुगेको छ।
कम्पनीको आर्थिक वर्ष २०७९/८० मा नाफा ९५ करोड २० लाख छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने एक अर्ब चार करोड यस्तो नाफा गरेको छ। कम्पनीले ३४ करोड रूपैयाँ नाफा बडेको थियो।
कम्पनीको कर्जा बढिरहेको छ। कम्पनीको आर्थिक वर्ष २०७९/८० मा आवधिक कर्जा २ अर्ब ६० करोड छ। कर्जा बढे पनि ब्याज भुक्तानीको लागि आवश्यक ब्याज कभरेज रेसियो स्वाथ्यकर नै छ। कम्पनीको यो अनुपात १२.२७ प्रतिशतबाट घटेर ६.५४ प्रतिशत छ। कुल कर्जा लगभग दोब्बर भएकोले कम्पनीले यस्तो कर्जा भुक्तानी गरिसक्ने अवधि २.०१ बाट बढेर ४.८१ छ।
कम्पनीले उत्पादन गर्ने कटन र ऊनको माग अन्तर्राष्ट्रिय मागमा आधारित हुने भएकोले यसमा चुनौती रहन्छन्।
कम्पनीले उत्पादन गर्ने ऊनको कच्चा पदार्थ चीन, इन्डोनेसिया, हङकङ, भारत र मलेसिया लगायतका देशबाट ल्याउछ। यसले गर्दा कम्पनीमा चालु पुँजीको दबाब रहिरहन्छ। कम्पनीको सञ्चालन चक्र १३६ दिनबाट बढेर १५९ दिन पुगेको छ।