यतिबेला सेयर बजारमा तातेको कम्पनी हो, माथिल्लो तामाकोसी। केही दिनयता लगातार बजारमा धेरै रकमको सेयर कारोबार हुने ‘टप फाइभ’मा माथिल्लो तामाकोसी पर्दै आएको छ।
सेयर कारोबार रकममात्रै बढेको छैन, कम्पनीको मूल्यसमेत बढ्दै गएको छ। कारोबारसँगै कम्पनीको मूल्य बढ्नुलाई बजारमा जहिले पनि सकारात्मक रूपमा लिने गरिन्छ। तामाकोसीको कारोबार रकमसँगै सेयर मूल्य बढ्दै जानुको मुख्य कारण बिजुली उत्पादन हुने मिति नजिकिनु हो।
आयोजनाबाट छिट्टै बिजुली उत्पादन हुने र कम्पनी मजबुत हुँदै जाने लगानीकर्ताको विश्वासकै कारण सेयर बजार घट्दासमेत माथिल्लो तामाकोसीको मूल्य बढेको हो।
४ महिनामै कम्पनीको सेयर मूल्य २.२ गुणाले बढेको छ। मंसिर २ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९३ रुपैयाँ थियो, आइतबार बजार बन्द हुँदा मूल्य प्रतिकित्ता ६४७ रुपैयाँ पुगेको छ।
यस दिन कम्पनीको मूल्य १० प्रतिशत बढ्दा पनि किन्न चाहने सबैले सेयर किन्न पाएनन्।
पुँजीकरणका हिसाबले सेयर बजारमा तामाकोसी शक्तिशाली कम्पनी बन्न सक्ने देखिन्छ। १० करोड ५९ लाख कित्ता सेयर बजारमा सूचीकृत छ। आइतबारको बजारअनुसार कम्पनीको पुँजीकरण ६२ अर्ब ३७ कराेड छ। आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि कम्पनीको मूल्य बढ्न जानेछ। मूल्यसँगै पुँजीकरण बढ्दै जाने हाे।
बिजुली उत्पादन नभइसकेकाले हाल कम्पनीको वित्तीय स्थिति बलियो भइसकेको छैन। बिजुली व्यवसायिक उत्पादन सुरू भएपछि क्रमिक रूपमा कम्पनीले ऋण चुक्ता गर्दै जाने र छिट्टै लाभांशसमेत वितरण गर्ने योजना बनाएको छ।
कहिले बल्छ बिजुली ?
आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार चैत मसान्तसम्म सबै काम सकेर सुरुङमा पानी छाडिनेछ। त्यसरी पानी छाड्दा हप्ता-दश दिनमा सुरुङ भरिन्छ।
‘वैशाखभित्र एक युनिट टर्बाइन जडान गरी आयोजनाबाट बिजुली उत्पादन हुन्छ, एक टर्बाइनबाट ७६ मेगावाट बिजुली उत्पादन हुनेछ,’ सेतोपाटीसँगको कुराकानीमा न्यौपानेले भने।
पहिलो टर्बाइनबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने उनले बताए। अर्थात् जेठ महिनामै माथिल्लो तामाकोसीबाट डेढ सय मेगावाट बिजुली उत्पादन हुनेछ।
उत्पादनको केही दिनपछि बन्द गरी उपकरणहरूको परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि भने नियमित रूपमा व्यावसायिक उत्पादन हुने आयोजनाले जनाएको छ।
तामाकोसीमा जडान गरिएको एक टर्बाइनको क्षमता ७६ मेगावाट छ, कुल ४५६ मेगावाट क्षमताको आयोजनामा ६ टर्बाइन जडान हुनेछन्। सबै टर्बाइन जडान गरेर तीन महिनाभित्र आयोजनालाई पूर्ण क्षमता चलाउने योजना रहेको न्यौपानेले बताए।
राष्ट्रिय गौरवको आयोजनाप्रति लगानीकर्ताको यही विश्वासले अहिले सेयर बजार घट्दा पनि कम्पनीको मूल्यमा बढोत्तरी आइरहेको हो।
कस्तो छ आयोजनाको वित्तीय स्थिति?
बिजुली उत्पादन भइ नसकेकाले आयोजनाको ब्याजसहितको लागत बढिरहेको छ। कुल लागत ३५ अर्ब लाग्ने अनुमानका साथ आयोजना बनाउन थालिएको थियो।
यो चैत मसान्त (तेस्रो त्रैमास)सम्म आयोजनाको कुल लागत ८६ अर्ब नाघ्ने अनुमान छ। हालसम्म करिब ८३ अर्ब रुपैयाँको लागत निस्किसकेको छ। कम्पनीले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार लामो अवधिको ऋण (लंग टर्म लोन) ४० अर्ब छ।
कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, बीमा संस्थान लगायतबाट आयोजनाले यस्तो ऋण लिएको छ।
त्यस्तै ऋणको ब्याज २७ अर्ब ८२ करोड पुगेको छ। विभिन्न बैंकबाट लिएको अल्पकालीन र अन्य ऋण ५ अर्ब २२ करोड छ। आयोजनाले सेयर जारी गरेर १० अर्ब ५९ करोड रुपैयाँ जुटाएको थियो।
पछिल्लो समय बन्ने गरेका आयोजनाकै हाराहारीमा माथिल्लो तामाकोसीको लागत पुगेको छ। प्रतिमेगावाट लागत १८ करोड ८५ लाखभन्दा बढी लाग्ने देखिन्छ। भूकम्प, नाकाबन्दी, कोरोनाजस्ता असहजता झेल्नुपर्दा आयोजनाको लागत बढ्न गएको न्यौपाने बताउँछन्।
‘यस्ता संकटका बेला आयोजनालाई आवश्यक पर्ने उपकरण, जनशक्ति तथा निर्माण सामाग्री उपलब्ध हुन सकेन, यसले गर्दा अवधि लम्बिएर ब्याज बढ्न गयो’ न्यौपानेले भने ‘अर्कोतर्फ डलरको मूल्यले पनि ठूलो असर पार्यो।’
आयोजनामा आवश्यक पर्ने सबै उपकरण डलरमा भुक्तानी गरी विदेशबाट ल्याइन्छ। ‘डलर महँगिदा मात्रै ८ अर्ब बढी लागत लाग्ने भयो,’ न्यौपानेले सेतोपाटीसँग भने।
एक वर्षमै लगानीकर्तालाई लाभांश
अब भने आयोजना कम्पनीलाई मात्रै नभई सेयर लगानीकर्तामा समेत विश्वास बढेको छ। उत्पादन सुरू भएपछि कम्पनीले ऋण तिर्दै जानेछ। पूर्ण क्षमतामा सञ्चालन हुँदा आयोजनाबाट वार्षिक ९ अर्ब रुपैयाँको बिजुली बिक्री हुनेछ।
साथै एक वर्षपछि नै सेयर लगानीकर्तालाई केही न केही लाभांश समेत दिने योजना रहेको न्यौपानेले बताए।
‘पहिलो वर्ष नाफाबाट करिब ८० प्रतिशतजति साँवा, ब्याज तिरेर बाँकी २० प्रतिशत रकमबाट केही सञ्चालन खर्च हुने र केही लगानीकर्तालाई लाभांश पनि दिन सकिन्छ’ न्यौपानेले भने।