मर्जका लागि हिमालयन र इन्भेष्टमेन्ट बैंक सहमतिनजिक पुगेका छन्। प्रारम्भिक रूपमा सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) सम्पन्न भएको छ। प्रारम्भिक डिडिए रिपोर्टबारे दुवै पक्ष सकारात्मक देखिएका हुन्।
डिडिएले पूर्णता पाएपछि मर्जका लागि सम्झौता (एमओयु) हुनेछ। इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले दुवै पक्ष मर्जका लागि सकारात्मक रहेको जानकारी दिए।
'मर्जका लागि अहिलेसम्म जति पनि प्रारम्भिक कामहरू भइरहेका छन्, सकारात्मक दिशामा गइरहेको छ,' पाण्डेले सेतोपाटीसँग भने, ‘केही दिनपछि तपाईंहरूले राम्रो समाचार पाउनुहुनेछ।’
धेरै वित्तीय सूचकमा दुवै बैंक राम्रा छन्। दुवैको साधारण सेयर मूल्यमा पनि त्यति ठूलो अन्तर छैन। स्राेतका अनुसार स्वाप रेसियो नै १ बराबर १ को रूपमा रहने सम्भावना देखिएको छ।
यसको अर्थ, दुईमध्ये जुन बैंकको सेयर जति छ, लगानीकर्ताले मर्जपछिको बैंकको सेयर त्यति नै पाउने छन्। एमओयुका लागि अहिले डकुमेन्ट बनाउने काम सुरू भएको छ।
मर्जपछिको हिमालयन-इन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुनेछ। दुवै बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण समायोजन गर्दा चुक्ता पुँजी करिब २५ अर्ब हुनेछ, जुन हालका वाणिज्य बैंकहरूको तुलनामा सबभन्दा उच्च हो।
त्यस्तै कर्जा प्रवाह साढे दुई खर्ब हुनेछ भने निक्षेप संकलन तीन खर्ब बराबरको हुन्छ। जगेडा कोषको आकार १६ अर्ब २६ करोड पुग्छ।
दुई बैंकलाई मर्जमा जान उनीहरूको पारिवारिक सम्बन्धले पनि सहजता पुगेको हो।
हिमालय शमशेर राणाले हिमालयन बैंक स्थापना गरेका हुन्। उनी अहिले बैंकको सञ्चालक समितिमा पनि छन्। उनका छोरा अशोक शमशेर राणा बैंकका सिइओ हुन्।
उता इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे हिमालय शमशेरका ज्वाइँ हुन्। पारिवारिक सम्बन्ध भएका कारण पनि यी बैंकलाई एकअर्कासँग मर्जका लागि राष्ट्र बैंकले नै जोड गर्दै आएको छ।
मौद्रिक नीतिले यी बैंकहरूलाई मर्जका लागि दबाव सिर्जना गरेको छ।
'एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरू र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्न/गाभिने व्यवस्था मिलाइनेछ,' मौद्रिक नीतिमा भनिएको छ।
पाण्डे र जबराका पारिवारिक कम्पनीहरूको सेयर स्वामित्व दुवै बैंकमा छ।
हिमालयन बैंकमा छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर स्वामित्व छ। छायामा इन्भेष्टमेन्टका अध्यक्ष पाण्डेको पारिवारिक लगानी छ। सो बैंकमा आभा इन्टरनेसनलको ११.३८ प्रतिशत स्वामित्व छ। आभामा हिमालय शमशेर राणाको लगानी छ।
हिमालयन बैंक स्थापनामा पनि पाण्डेको भूमिका छ। उनकै पहलमा लाइसेन्स लिइएको हो।
'बैंक स्थापित गर्नमा मैले १२ वर्ष मिहेनत गरेको छु,' पाण्डेले भने।
मर्जबाट दीर्घकालीन रूपमा बैंक बलियो हुने, लागत घट्ने, सेयर धनीलाई सुहाउँदो प्रतिफल, ग्राहकलाई द्रुत राम्रो सेवा पुग्ने भएकाले राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए।
यसअघि ग्लोबल आइएमईमा जनता बैंक मर्ज भएको थियो। मर्जपछि चुक्ता पुँजी, नाफा, शाखा संख्या, निक्षेप तथा कर्जा प्रवाह लगायतमा अब्बल देखिएको छ।
मर्ज हुने बैंकलाई राष्ट्र बैंकले स्प्रेड दर (कर्जा तथा निक्षेपको औसत ब्याजदर अन्तर) को सीमामा समेत सहजता दिएको छ। जुन सहजताले बैंकलाई नाफा बढाउन मद्दत गर्छ।