सेयर बजारमा यतिबेला नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सबभन्दा धेरै चर्चामा छ। यो कम्पनीको सेयर चर्चामा आउनुको मुख्य कारण यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए। यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो।
बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ।
हाल कम्पनीको बजार पुँजीकरण एक खर्ब नजिक पुगेको छ। सेयर संख्या धेरै भएकाले पनि सूचीकृत भएको छोटो समयमै निफ्राको पुँजीकरण उच्च भएको छ।
कारोबार सुरू भएको दिन गत आइतबारदेखि नै कम्पनीको मूल्य दैनिक दस प्रतिशतका दरले बढेको छ। हालकाे बजार मूल्य प्रतिकित्ता ५४६ रूपैयाँ छ। आइपिओमा पाँच हजार रूपैयाँ लगानी गर्नेले एक महिनामै २२ हजार ३ सय रूपैयाँ (कमिसन र पुँजीगत लाभकर कटाैतीबाहेक) नाफा कमाए, जुन राम्राे पक्ष हो।
धेरै लगानीकर्ता भएको कम्पनी भएकाले बजारमा अहिले यसको मूल्य कतिसम्म जाला भन्ने अनेक हल्ला चलिरहेका छन्।
खरिद गर्नेतर्फ अझै पनि ठूलो चाप देखिएकाले कम्पनीको मूल्य केही दिन बढ्न सक्ने देखिन्छ। बिहीबारको 'मार्केट डेप्थ' हेर्दा बजार बन्द हुने बेला सेयर खरिदतर्फ १५ लाख कित्ता अर्डर देखिन्थ्यो भने बेच्नेतर्फ कोही थिएनन्।
त्यस्तै बजारमा खरिद गर्नेहरू ठूला लगानीकर्ता नै रहेको देखिन्छ। एउटै ब्रोकर कम्पनीबाट धेरै संख्यामा सेयर उठाइएको छ। यस्तो छ, एउटा उदाहरणः
कतिपय जानकार भने कम्पनीको बजार मूल्य दुई-तीन दिनमै घट्न सक्ने बताउँछन्।
लगानीकर्ता पिताम्बर शर्मा खरेल भन्छन्, 'अहिलेसम्म माग अत्यधिक भएकाले नै बजार बढेको हो। अझै पनि सेयरको माग देखिएकाले केही दिन बढ्न सक्छ।'
पछिल्ला दिनमा उल्लेख्य कारोबार हुँदै गएकाले केही दिनमै यसको मूल्य वृद्धिमा ब्रेक लाग्न गई घट्न सक्नेछ। बिहीबार मात्रै यो कम्पनीको ५० करोड रूपैयाँको सेयर किनबेच भएको छ। बुधबार ७० करोडको भएको थियो।
यति धेरै रकमको कारोबार हुनु भनेको बेच्नेहरू पनि धेरै हुनु हो। यद्यपि अहिलेसम्म खरिद गर्नेको चाप बिक्री गर्नेभन्दा धेरै भएको मात्रै हो। साधारण सेयर संख्या नै ८ करोड कित्ता भएकाले केही दिनमै खरिद गर्न चाहनेले धान्न नसक्नेगरी आपूर्तिमा चाप पर्न सक्नेछ।
अर्कोतर्फ कम्पनीको वित्तीय स्थिति मजबुत छैन भने बिजनेस बढाउन सबभन्दा ठूलो चुनौती छ।
कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्राेत हो।
निफ्रामा व्यक्तिगत निक्षेपकर्ताले कम्तीमा पाँच वर्षका लागि न्यूनतम एक करोड रूपैयाँ जम्मा गर्नुपर्छ। जसमा दिने ब्याजदर जम्मा ७.२५ प्रतिशत छ। जबकि वाणिज्य बैंकहरूले नै अहिले योभन्दा धेरै, ८ प्रतिशतसम्म ब्याज दिन्छन्।
निक्षेप मात्रै नभई ऋणपत्र लगायत उपकरण जारी गरेर पनि कम्पनीले स्रोत जुटाउन सक्छ। वाणिज्य बैंकका ऋणपत्रको ब्याजदर नै हाल ९ प्रतिशत हाराहारी छ। व्यवसायमा आक्रामक रहेका बाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गरेर स्राेत जुटाउन निफ्रालाई सबभन्दा ठूलाे चुनाैती छ।
अर्कोतर्फ लामो अवधिका लागि ठूलो रकम निक्षेप जम्मा गर्नेहरू एकदमै कम हुन्छन्। यस्तो अवस्थामा कम्पनीले आगामी दिनमा कसरी बिजनेस गर्न सक्छ भन्ने प्रश्न खडा भएको छ।
निफ्राको अहिलेसम्मको वित्तीय स्थिति नाजुक छ। संचालनमा रहेको उस्तै प्रकृतिको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) सँग तुलना गरेर निफ्रालाई हेर्न सकिन्छ।
एचआइडिसिएलले जलविद्युत क्षेत्रमा मात्रै लगानी गर्छ भने निफ्राले जलविद्युतसहित अरू पूर्वाधार आयोजनामा पनि ऋण लगानी गर्छ। दुवै सरकारी बहु-स्वामित्वका कम्पनी हुन्।
धेरै सूचकमा निफ्राभन्दा एचआइडिसिएल माथि छ। तर निफ्राको बजार मूल्य प्रतिकित्ता ५४६ पुगिसक्यो भने एचआइडिसिएलको जम्मा ३३१ रूपैयाँ छ।
निफ्राले यस आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३५ करोड २२ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा नाफा ५ करोडले घटेको हो। उसकोभन्दा कम चुक्ता पुँजी भएको एचआइडिसिएलले छ महिनामा ४२ करोड ८३ लाख खुद नाफा कमाएको छ।
१२ अर्ब चुक्ता पुँजी हुँदा निफ्राको प्रतिसेयर आम्दानी जम्मा ५ रूपैयाँ ८७ पैसा थियो भने २० अर्ब हुँदा ३ रूपैयाँ ५२ पैसा मात्रै हुन्छ। जबकि १६ अर्ब ५० करोड चुक्ता पुँजी भएको एचआइडिसिएलको ५ रूपैयाँ १९ पैसा छ।
इक्रा नेपालले निफ्राको आइपिओलाई दिएको रेटिङ ४ प्लस छ। इक्राले बलियोका आधारमा कम्पनीहरूलाई क्रमशः १ देखि ५ सम्मको नम्बर प्रदान गर्छ, जसमा ४ र ५ नम्बरका कम्पनी कमजोर मानिन्छन्।
निफ्राको प्रबन्धपत्र अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी ८ रूपैयाँ ८२ पैसा हुने अनुमान छ। यदि अनुमान पुगेछ भने पनि दुई वर्षपछि हुने त्यो प्रतिसेयर आम्दानीबाट लगानीकर्ताले कति प्रतिफलको आश गर्ने?
बिहीबारको मूल्यअनुसार निफ्राको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १५५ हुन्छ भने एचआइडिसिएलको ६३ छ। केही वाणिज्य बैंकको त २० भन्दा कम छ।
यसको अर्थ बराबर लाभांशका लागि निफ्रामा हुने लगानी सबभन्दा धेरै, अर्थात् महँगो पर्नु हो। निफ्रामाभन्दा कम लगानी गरेर एचआइडिसिएलसहित अरू कम्पनीले नै धेरै लाभांश दिने क्षमता राख्छन्।
यसका बाबजुद अधिकांश लगानीकर्ताको उद्देश्य मूल्य उतारचढावबाट नै फाइदा लिने हुन्छ। दिनदिनै दस प्रतिशत बढेपछि कारोबारी सक्रिय हुनु नौलो होइन। तर हल्लाकै भरमा कारोबारीको 'ट्र्याप' मा साना लगानीकर्ता फस्न सक्ने भएकाले उनीहरू सजग हुनुपर्ने बेला भइसकेको छ।
यहाँ केही तथ्यांकहरू केलाइएको मात्रै हो, ताकि कम्पनीका बारेमा जानकारी नै नलिई कसैले लगानी नगरून्। सेयर खरिद वा बिक्री जे गरे पनि, त्यसबाट हुने नाफा वा नोक्सान बेहोर्ने स्वयं आफैं हुने भएकाले सुझबुझपूर्ण निर्णय गरौं।