पछिल्लो समय बैंकहरुबाट हुने ऋण प्रवाह ह्वात्तै बढेको छ। माघ महिनामा संकलित निक्षेपभन्दा ऋण प्रवाह साढे ११ गुणाले बढेको छ।
माघ २ देखि ३० गतेसम्म २७ वाणिज्य बैंकहरुमा ७ अर्ब मात्रै निक्षेप थपिएको छ भने सोही अवधिमा थप ८१ अर्ब ऋण विस्तार भएको छ।
माघ २ गतेसम्म २७ वाणिज्य बैंकहरुमा ३७ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा ३० गतेसम्म ३७ खर्ब ८६ अर्ब पुगेको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ।
त्यस्तै माघ २ गतेसम्म ३२ खर्ब ३६ अर्ब ऋण प्रवाह भएकोमा माघ ३० गतेसम्म ३३ खर्ब १७ अर्ब पुगेको छ।
माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले हाल सबैजसो क्षेत्रमा ऋणको माग बढेको जानकारी दिए।
‘खासगरी साना तथा मझौला आकारको ऋण प्रवाह बढेको छ, जुन अर्थतन्त्र चलायमानका लागि असाध्यै सकारात्मक पक्ष हो’ सेतोपाटीसँगको कुराकानीमा उनले भने ‘विस्तारै अधिक तरलता टाइट हुने देखिन्छ।’
सातागत रुपमा हेर्नुस् वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह
यही दरमा ऋण विस्तार हुँदै गएमा २/३ महिनामै तरलता टाइट हुने काेइरालाले बताए। ‘कोभिडको असरले परेको व्यवसाय उठाउन, हरेक क्षेत्रमा ऋणको माग बढेको छ’ कोइरालाले भने।
बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम पर्याप्त) हुँदा विभिन्न माध्यममार्फत राष्ट्र बैंकले खिचेर व्यवस्थापन गर्ने काम गर्छ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार हाल बैंकिङ प्रणालीबाट ५१ अर्ब रुपैयाँ खिचेर राखिएको छ।
यो रकम क्रमिक रुपमा समयावधिसँगै पुनः बैंकिङ प्रणालीमा जान्छ। राष्ट्र बैंकमा रहेको ५१ अर्ब रुपैयाँ बाहेक सोमबारसम्म ६२ अर्ब ७१ करोड रुपैयाँ अधिक तरलता रहेको भट्टले जानकारी दिए।
राष्ट्र बैंकले यसपटक पुनर्कर्जाको रकम बढाएकाले पनि अहिलेसम्म अधिक तरलतामा मद्दत पुगेको उनको भनाइ छ।
‘करिब ८३ अर्ब रुपैयाँ पुनर्कर्जा रकम प्रवाह गरिसकेका छौं, पुनर्कर्जाको आकार ठूलो भएकाले पनि अहिलेसम्म अधिक तरलता देखिएको हो’ उनले भने 'तर आयात बढ्दै जाँदा तरलता साँघुरिँदै गएको छ।'
मुख्यत: लकडाउनपछि मुलुकको आयात बढ्दै गएकाले अधिक तरलता घट्दै गएको उनले बताए।
यद्यपि लकडाउनको असरकै कारण गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ४.८ प्रतिशतले घटेको छ।
पछिल्ला महिनाको आयात वृद्धिदरलाई हेर्दा समग्र यस आर्थिक वर्षमा गत वर्षभन्दा आयात बढी हुनेछ। आयात बढ्दा मुलुकबाट बाहिरिने रकम बढ्छ, यसले तरलतामा कमी ल्याउँछ।
आयातका लागि ट्रस्ट रिसिप्ट (टिआर) प्रकृतिको कर्जा प्रवाह पनि बढेको छ। निर्माण क्षेत्रसँगै सेयर धितोमा जाने कर्जा प्रवाह पनि बढेको छ।
‘पुनर्कर्जाको रकम यति ठूलो हुन्नथ्यो भने, तरलता केही व्यवस्थित भइसक्थ्यो’ भट्टले भने ‘बढ्दो आयातसँगै पेट्रोलियम पदार्थ लगायतमा मूल्य बढ्दा पनि आगामी दिनमा तरलतामा असर पर्नेछ।’
आयातित बस्तुको मूल्य वृद्धिले मुलुकबाट बाहिरिने रकम बढ्छ, यसको सिधा असर तरलतामा पर्ने गर्छ। त्यस्तै रेमिट्यान्समा भएको वृद्धिले पनि पुस मसान्तसम्म अधिक तरलता हुन मद्दत गरेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले रेमिट्यान्स बढेको छ।
चालु आर्थिक वर्षको पछिल्ला महिनामा रेमिट्यान्सको वृद्धिदर खुम्चिँदै गएको देखिन्छ। पहिलो ३ महिनामा रेमिट्यान्सको वृद्धिदर गत वर्षको सोही अवधिमा भन्दा १२. ६ प्रतिशत थियो।
तरलता टाइट हुँदा यसको सबैभन्दा ठूलो असर ब्याजदरमा पर्दछ। बैंकहरुले प्रवाह गरेकाे ऋणमा ब्याजदर बढ्न जानेछ। त्यसले उद्योग व्यवसायीलाई उत्पादन लागत महँगो पर्न जानेछ।
एकातिर स्वदेशी उत्पादन नै महँगो हुन गई विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्ने र अर्कोतर्फ उपभोक्तालाई मूल्यवृद्धिको मार थपिन जान्छ।