भन्दा ‘टी प्लस टु’, तर व्यवहारमा ‘टी प्लस फाइभ’ देखिँदै आएको छ सेयर कारोबारको राफसाफ।
सिडिएस एण्ड क्लियरिङले हालै सेयर कारोबारको राफसाफमा टी प्लस थ्रीलाई घटाएर टु लागू भएको घोषणा गरेको थियो। तर व्यवहारमा भने लगानीकर्ताले यसको प्रभावकारिता महसुस गर्न पाएका छैनन्।
ब्रोकर कम्पनीहरुबाटै हुने ढिलाईका कारण टी प्लस टू व्यवहारिक रुपमा लागू हुन नसकेको हो।
गत मंगलबार इम्पेरियल सेक्युरिटीज कम्पनी (४५) बाट लगानीकर्ता पवन शर्मा पोखरेलले प्रभु इन्स्योरेन्स कम्पनीको ५० कित्ता सेयर बेचेका थिए, तर उनको खातामा सोमबार मात्रै पैसा जम्मा भयो।
व्यवहारमा टी प्लस टु लागू भएको अवस्थामा शुक्रबार उनको खातामा पैसा जम्मा हुनु पर्ने हो। बैंक खातामा पैसा आउन ढिलाई मात्रै भएको छैन, डिम्याट खातामा सेयर आउन पनि ढिलाई हुने गरेको लगानीकर्ता बताउँछन्।
लगानीकर्ता पिताम्बर खरेल भन्छन् ‘धेरैजसो ब्रोकर कम्पनीहरुले यसलाई लागू गर्न सकेका छैनन्, मैले पनि समस्या भोगिरहेको छु।’
सिडिएस एण्ड क्लियरिङका तर्फबाट भने टी प्लस टु लागू भइरहेको बताउँछन् सिइओ पूर्णप्रसाद आचार्य।
‘हाम्रो तर्फबाट कारोबार भएको दुई दिनमै राफसाफ भइरहेको छ’ आचार्यले सेतोपाटीसँगको कुराकानीमा भने ‘हामीकहाँ पनि गुनासा आएका छन्, ब्रोकर संचालकहरुलाई बोलाएर यसबारे फेरि परामर्श गर्ने क्रममा छौँ।’
ब्रोकर कम्पनीहरुले पनि टी प्लस टु लागू गर्ने सम्वन्धमा केही समस्या देखाउने गरेको उनी बताउँछन्।
ब्रोकर कम्पनीहरुले समयमै यसलाई लागू गरेको खण्डमा उनीहरुलाई नै फाइदा पुग्छ। सेयर बेचेको पैसा जति चाँडो खातामा आउँछ, उति चाँडो त्यही पैसा कारोबारमा फर्किन्छ।
पछिल्ला दिनमा बजारमा दैनिक १० अर्ब बढीको सेयर कारोबार हुने गरेको छ।
यसले गर्दा कारोबार रकमसँगै समग्रमा ब्रोकरको कमिसन बढ्न जान्छ। यद्यपि बेच्नेले ब्रोकरसँग पैसा लिनुको साटो भोलिपल्टै त्यही पैसाले अर्को कम्पनीको सेयर खरिद गरेर चुक्ता गर्न सक्छन्।
सेयर किनेका लगानीकर्ताले नै पैसा भुक्तानीमा ढिलाई गर्ने गरेको ब्रोकर कम्पनीहरुको गुनासो रहेको आचार्यले बताए। ‘त्यसो हुँदा ब्रोकर कम्पनीहरुले फण्ड म्यानेजमेन्ट गर्न गाह्रो भएको गुनासो गरेका छन्’ उनले भने।
रकम भुक्तानीमा ढिलाई हुँदा ‘क्लोजआउट’ भनेर ब्रोकर कम्पनीहरुले २० प्रतिशत जरिवाना लिने गरेका छन्। सो जरिवाना रकम कर कटौतीपछि सेयर बेचेर समयमै पैसा नपाएका लगानीकर्तालाई नै दिनुपर्ने व्यवस्था छ।
ब्रोकर नम्वर ३८ दिपशिखाका संचालक विष्णु ओझा कहिलेकाहीं सिस्टममा समस्या आउँदा रकम भुक्तानीमा ढिला हुने गरेको बताउँछन्।
‘सामान्यतः हामीले तीन दिनमै सेयर बेच्ने लगानीकर्ताको खातामा पैसा पठाउँछौँ’ उनले भने ‘कहिले एनसिएचएलको सिस्टममा समस्या हुने, कहिले टिएमएसबाट पैसा लोड नहुने समस्याहरु छन्।’
सेयर कारोबार गरेको भोलिपल्टसम्म खरिद गर्नेले ब्रोकर कम्पनीलाई भुक्तानी गरिसक्नुपर्ने व्यवस्था छ।
ब्रोकर कम्पनीहरुलाई लगानीकर्ताले भोलिपल्ट खरिदको भुक्तानीस्वरुप चेक दिँदा सोको राफसाफ पनि पर्सिपल्ट मात्रै हुने गरेको छ। यसले गर्दा पनि केही समस्याहरु रहेको ओझा बताउँछन्।
लगानीकर्ताले भोलिपल्ट कनेक्ट आइपिएस वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसले सहजता र छिटो हुने उनको भनाइ छ।
‘हामीले सेयर खरिद गर्ने लगानीकर्तालाई पनि विद्युतीय माध्यमबाटै भुक्तानी गर्न सुझाव दिने गरेका छौँ’ ओझाले भने।
यद्यपि सीमित केही खरिदकर्ताले भुक्तानी ढिलाई गर्दैमा आफूहरुले बेचेका लगानीकर्तालाई भुक्तानीमा ढिलाई नगरेको उनको दावी छ।
‘किन्नेबाट ढिलो आयो भन्दैमा हामीले बेच्नेलाई ढिला गरेका हुँदैनौं, सकेसम्म कारोबार भएपछिको दुई दिनमै भुक्तानी गर्न लागि परेका हुन्छौँ’ उनले भने। क्रमिक रुपमा यी समस्या कम हुँदै जाने उनी बताउँछन्।
त्यस्तै सेयर बिक्री गरिसकेपछि भोलिपल्टै मेरो सेयरमार्फत इडिआइएस (इलेक्ट्रोनिक डेलिभरी इन्स्ट्रक्सन स्लिप) वा भौतिक रुपमै डेविट इन्स्ट्रक्सन स्लिप (डिआइएस) ब्रोकर कम्पनीहरुलाई दिनुपर्ने हुन्छ। त्यसपछि मात्रै बेचेको सेयर हस्तान्तरण गर्न बाटो खुल्छ।
खरिद गर्नेको डिम्याट खातामा सेयर नआएसम्म उसले त्यो सेयर बिक्री गर्न पाउँदैन। अर्थात सेयर खरिद गरेको ५÷६ दिनपछि मात्रै डिम्याट खातामा आउने र त्यसपछि बल्ल बिक्री गर्न पाइने अवस्था छ।
‘कहिलेकाहीं खरिद गरेको केही बेरमै अनेक घटनाक्रम निम्तिन्छ, स्टप लस गर्न गर्न खोजे पनि पाइँदैन’ खरेलले भने ‘५–६ दिन त धेरै लामो अवधि हो।’
सेयर घट्न लागेजस्तो अवस्था भएमा थप नोक्सान हुनबाट बच्नका लागि लगानीकर्ताले बीचमै बेचेर ‘स्टप लस’को रणनीति लिने गर्छन्।
हाल बजार बढिरहेको अवस्थामा कतिपयले कारोबारबाटै नाफा लिइरहने रणनीति लिएका हुन्छन्। राफसाफमा ढिलाई हुँदा सो रणनीति पनि कार्यान्वयन गर्न नपाएको अवस्था कारोबारीले भोग्दै आएका छन्।
बेलाबेलामा मेरो सेयरमा समेत समस्या आउँदा इडिआइएसमा ढिलाई हुने गरेको लगानीकर्ताको गुनासो छ।