हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने चर्चा चलेको छ। यो चर्चाका पछाडि बलिया आधार पनि छन्।
साधारणसभामा इन्भेष्टमेन्ट बैंकले मर्ज प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण रूपमा अख्तियारी दिने प्रस्ताव गर्दैछ। बैंकको साधारणसभा माघ ८ गते बस्दैछ।
त्यस्तै हिमालयन बैंकले पनि साधारणसभाबाट मर्जका सबै प्रक्रिया सञ्चालक समितिलाई सुम्पिँदै छ। हिमालयनको सभा पुस २७ गते बस्दैछ।
दुवै बैंकको साधारण सभाबाट अख्तियारी हस्तान्तरण प्रस्ताव पारित भएपछि एकअर्कासँग गाभिने प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ।
समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न परामर्शदाता, मूल्यांकनकर्ता नियुक्ति गर्ने लगायत सबै प्रक्रिया दुवै बैंकका सञ्चालक समितिले पूरा गर्नेछन्।
प्रारम्भिक डिडिएपछि मूल्य निर्धारणमा मोटामोटी सहमति भए मर्जका लागि अरू प्रक्रिया अघि बढ्ने बताउँछन् इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे।
सेतोपाटीसँगको कुराकानीमा अध्यक्ष पाण्डेले भने, 'अहिले मोटामोटी रूपमा प्रारम्भिक डिडिए गर्ने काम भइरहेको छ। अझै १–२ महिना यसमै लाग्नेछ।'
प्रारम्भिक डिडिएपछि दुवै बैंक मर्जका लागि राजी हुनसक्छन्।
'प्रारम्भिक डिडिएपछि नै कतिपय कुरा उहाँहरूलाई चित्त नबुझ्न सक्छ, कतिपय हामीलाई। यदि सहमति भएमा सेयर कारोबार रोक्ने र एमओयु गर्ने काम हुनेछ,' उनले भने।
दुई बैंक मर्जमा जाने बलियो आधार उनीहरूको पारिवारिक सम्बन्ध पनि हो।
हिमालय शमशेर राणाले हिमालयन बैंक स्थापना गरेका हुन्। उनी अहिले बैंकको सञ्चालक समितिमा पनि छन्। उनका छोरा अशोक शमशेर राणा बैंकका सिइओ हुन्।
उता इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे हिमालय शमशेरका ज्वाइँ हुन्।
पारिवारिक सम्बन्ध भएका कारण पनि यी बैंकलाई एकअर्कासँग मर्जका लागि राष्ट्र बैंकले नै जोड गर्दै आएको छ।
मौद्रिक नीतिले समेत यी बैंकहरूलाई मर्जका लागि दबाव सिर्जना गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको ११८ नम्बर बुँदामा भनिएको छ, 'एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरू र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्न/गाभिने व्यवस्था मिलाइनेछ।'
पाण्डे र जबराका पारिवारिक कम्पनीहरूको सेयर स्वामित्व दुवै बैंकमा छ।
हिमालयन बैंकमा छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर स्वामित्व छ। छायामा इन्भेष्टमेन्टका अध्यक्ष पाण्डेको पारिवारिक लगानी छ। सो बैंकमा आभा इन्टरनेसनलको ११.३८ प्रतिशत स्वामित्व छ, आभामा हिमालय शमशेर राणाको लगानी छ।
व्यक्तिगत आफ्नो नाममा भने हिमालयन बैंकको कत्ति पनि संस्थापक सेयर नरहेको पाण्डेले बताए।
हिमालयन बैंक स्थापनामा पनि उनको भूमिका छ।
'मेरै पहलमा लाइसेन्स लिएको हो। बैंक स्थापित गर्नमा मैले १२ वर्ष मिहेनत गरेको छु,' पाण्डेले भने।
दुवै बैंकलाई नजिकबाट बुझेका उनी मर्जका लागि सकारात्मक छन्। मर्जबाट दीर्घकालीन रूपमा बैंक बलियो हुने, लागत घट्ने, सेयर धनीलाई सुहाउँदो प्रतिफल, ग्राहकलाई द्रुत राम्रो सेवा पुग्ने भएकाले राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए।
'मर्ज गराएर बैंकहरू कमी भएमा राष्ट्र बैंकलाई पनि नियमनमा सजिलो हुने भयो। यदि हामी मर्ज भयौं भने सबभन्दा ठूलो पुँजीको बैंक हुनेछौं,' कुराकानीकै क्रममा पाण्डेले भने।
राष्ट्र बैंकले मर्जका लागि दुई बैंकलाई पनि प्रोत्साहन गरेको उनले स्पष्ट पारे। मर्जका लागि स्वाप रेसियो निर्धारण नै मुख्य विवादको विषय बन्दै आएको छ। तर हिमालयन र इन्भेष्टमेन्ट दुवै पक्ष त्यसमा लचक छन्।
'दुवै बैंकका सेयरधनीलाई चित्तबुझ्दो गरी नै मर्जका लागि सहमति हुन्छ। एकले अर्कोलाई डोमिनेट गर्ने पक्षमा छैनौं,' पाण्डेले भने।
धेरै वित्तीय सूचकमा दुवै बैंक राम्रा छन्। दुवैको साधारण सेयर मूल्यमा पनि त्यति ठूलो अन्तर छैन।
बुधबार बजार बन्द हुँदा हिमालयनको सेयर मूल्य प्रतिकित्ता ५४९ रूपैयाँ कायम भएको छ। १४ प्रतिशत सेयर बोनसपछि बैंकको मूल्य समायोजन भइसकेको छ। इन्भेष्टमेन्टको मूल्य बुधबार ५१० रूपैयाँ छ। सो बैंकले १३ प्रतिशत सेयर बोनस घोषणा गरे पनि मूल्य समायोजन भइसकेको छैन।
आर्थिक वर्ष २०७६/७७ सम्मको वित्तीय विवरणअनुसार इन्भेष्टमेन्टको कुल सम्पत्ति २ खर्ब ३ अर्ब र हिमालयनको १ खर्ब ५५ अर्ब रूपैयाँ बराबरको छ।
मर्ज भएमा कस्तो हुनेछ बैंक?
मर्जपछि बैंकको कर्जा प्रवाह २ खर्ब ४० अर्ब बढी हुनेछ। निक्षेप ३ खर्ब १२ अर्ब हुनेछ। पहिलो त्रैमासिक विवरणअनुसार हिमालयनको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा ९९ अर्ब ३८ करोड छ। सो अवधिमा इन्भेष्टमेन्टको निक्षेप १ खर्ब ८४ अर्ब र कर्जा प्रवाह १ खर्ब ३९ अर्ब छ।
गत आर्थिक वर्षको वित्तीय विवरणलाई आधार बनाउँदा बैंकको वार्षिक नाफा ५ अर्बभन्दा बढी हुनेछ। गत आर्थिक वर्षकै दुई बैंकको नाफा जोड्दा ५ अर्ब ११ करोड हुन आउँछ।
एकै ठाउँ भएका कतिपय शाखा बन्द हुने तथा अन्य लागत कम हुने भएकाले नाफाको आकार अझ ठूलो हुन सक्नेछ।
अहिले घोषणा भएको बोनस सेयरबाहेक बैंकको चुक्ता पुँजी २३ अर्ब ६१ करोड हुनेछ, जुन सबभन्दा उच्च हुनेछ। जगेडा कोषको आकार सवा २० अर्बको हुनेछ।