नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ ले सबै नागरिकलाई पेन्सन दिने उद्देश्य राखेको छ। सबै नेपालीलाई यो योजनामा समेट्नेगरी यो योजना ल्याइएको कोषका प्रवक्ता उद्धव सिलवालले जानकारी दिए।
उनका अनुसार कम्तिमा मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइन्छ।
‘न्यूनतम मासिक ५ सय बचत गर्नुपर्छ। त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिन्छ,’ उनले सेतोपाटीसँग भने।
बचत गरेको रकमकै आधारमा सो व्यक्ति ६० वर्ष पूरा भएपछि पेन्सन पाउँछ।
‘नागरिकले यसरी जम्मा गरेको रकम कोषले विभिन्न क्षेत्रमा लगानी गर्नेछर सो लगानीको प्रतिफल समेत जोडेर ६० वर्ष पुगेपछि पेन्सनका रूपमा दिइने छ,’ सिलवालले भने।
जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन पाइनेछ। यदि कसैले बीचमै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता गरिने उनले बताए।
तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न पाइने छैन।
कृषि, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका वा अरू कुनै पनि निजी क्षेत्रमा कार्यरत नेपाली नागरिक यस योजनामा सहभागी हुन सक्छन्। मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि बचत गर्न सकिनेछ। तर बचत रकम मासिक कम्तिमा ५ सय हुनु पर्छ।
सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने र सो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न सघाउ पुग्ने कोषले जनाएको छ।
नागरिक लगानी कोष (व्यवस्थापन) विनियमावली, २०४८ को विनियम ३२ ले दिएको अधिकार प्रयोग गरी संचालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो।
पेन्सन पाउन योग्य हुने अवस्थाः
पेन्सन पाउन बचतकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तिमा १५ वर्ष योगदान (बचत) गरेको हुनु पर्नेछ। बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनका रूपमा भुक्तानी लिन सक्नेछन्।
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सनका रूपमा दिइने कोषले जनाएको छ।
पेन्सन पाउन योग्य सहभागीले पेन्सन पाउन सुरू गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम बराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ। तर, सहभागीसँग निजको अंशवण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान हुने छैन।
त्यस्तै बचतकर्ताको पेन्सन पाउने उमेर सुरू भएपछि श्रीमान श्रीमती दुवैको मृत्यु भएमा सम्बन्धित व्यक्तिको नाममा कोषमा रहेको बचत रकम निजहरूको कानुनी हकदारलाई प्रदान गरिनेछ।
कुनै बचतकर्ताको निवृत्तिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रूपमा प्रदान गरिने छ।
बचत रकम कसरी जम्मा गर्ने, के के चाहिन्छ कागजात?
सहभागी बचतकर्ताले जम्मा गर्नुपर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा विद्युतीय भुक्तानी मार्फत जम्मा गर्न सक्ने छन्।
बचतकर्ताले बैंकमा रकम दाखिला गरे पछि सोको जानकारी कोषलाई दिनु पर्नेछ। कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य उल्लेख गर्नु पर्नेछ।
यसका लागि व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य चाहिन्छ। सो आधारमा कोषले बचतकर्तालाई अलग्गै परिचयपत्र बनाइदिनेछ।
सहभागीलाई ऋण सापटी तथा अन्य सुविधा समेत प्राप्त हुन्छ
कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० प्रतिशतसम्म ऋण सापटी प्रदान गर्नेछ। यद्यपी यस्तो ऋण सुविधामा ऋण लिएको अवधिभर तोकिएको ब्याज भने तिर्नुपर्नेछ।
जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारका लागि नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई दस हजार रुपैयाँ एकमुष्ठ उपलब्ध हुनेछ। बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधि उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने छ।
दुर्घटनामा परी बचतकर्ताको मृत्यु हुन गएमा निजको नजिकको हकवालालाई दुर्घटना बीमा बापत एक लाख रुपैयाँसम्म प्रदान हुनेछ।