सेयर बजारमा यतिबेला ‘हट केक’का रूपमा उदाएको छ नेपाल पुनर्बीमा कम्पनी। सो कम्पनीको मात्रै बजारमा दुई दिन १–१ अर्बभन्दा बढी रकमको कारोबार भएको रेकर्ड छ।
८ महिनाअघि मात्रै प्राथमिक सेयर (आइपिओ) निश्कासन गरेको कम्पनी अहिले बजारमा टेलिकमपछि सबभन्दा बढी शक्तिशाली बनेको छ।
अर्थात सबभन्दा धेरै पुँजीकरण भएको कम्पनीमा यो दोस्रो हो। मंगलबार बजार बन्द हुँदा कम्पनीको कुल पुँजीकरण १ खर्ब ६२ अर्ब पुगेको छ। यो कम्पनीमा ४४ प्रतिशत सरकारी स्वामित्व छ। ३९.९ प्रतिशत विभिन्न जीवन, निर्जीवन कम्पनी र संस्थाहरूको लगानी छ भने १६ प्रतिशत सर्वसाधारणको।
यो कम्पनीको प्राथमिक सेयर भर्ने सबैले ४० देखि ५० कित्तासम्म पाएका थिए। गत चैतमा ५ हजार रुपैयाँको ५० कित्ता सेयर पाएकाहरूले मंगलबार बजारमा प्रतिकित्ता १६९९ रुपैयाँसम्म बेच्न सके।
५० कित्ता बेच्दा ८४ हजार रुपैयाँको हाराहारीमा अर्थात ५ हजारको लगानीले ७९ हजार नाफा कमाए। तर ठूलो रकममा हिजोआज सो सेयर खरिद गर्नेहरूलाई भने जोखिम बढेको छ। अर्कोतर्फ बजारले नयाँ रेकर्ड बनाएको छ। यतिबेला बजारमा नयाँ लगानीकर्ता धेरै थपिएका छन्।
जसले गर्दा नयाँ लगानीकर्ता जुनसुकै बेला बुल ट्र्यापमा फस्न सक्ने जोखिम समेत छ। नेपाल पुनर्बीमा कम्पनीको मूल्य वृद्धिलाई भने धेरैले अस्वभाविक रुपमा लिएका छन्।
कम्पनीले यस आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। कोरोनाको असर र बीमा कम्पनीहरूले समयमै विवरण नदिँदा आफूहरूको वित्तीय विवरण प्रकाशनमा ढिलाई भएको कम्पनीका सिइओ शंकरकुमार रायमाझी बताउँछन्।
‘म आफै पनि संक्रमित भएँ, समयमै बीमा कम्पनीहरुले विवरण पनि दिएका छैनन्,’ रायमाझीले सेतोपाटीसँगको कुराकानीमा भने।
प्रथम त्रैमासिक रिपोर्ट समेत नआएको कम्पनीको मूल्य सेयर बजारमा किन बढिरहेको छ त? कतिपयले सेयर बजारमा यो कम्पनी ‘सुन्निएको’ टिप्पणी गर्छन्।
लगानीकर्ता पिताम्बर शर्मा खरेल भन्छन्, ‘कम्पनीको वास्तविक अवस्थाभन्दा मूल्य अधिक भएका कम्पनी धेरै नै छन्, पुनर्बीमा कम्पनी एउटा उदाहरण हो।’
सेयर बजारका जानकार दिलिप मुनंकर्मी भन्छन्, ‘लगानी गर्दा जुनसुकै कम्पनीको व्यवसायिक अवस्था, मुनाफा, लाभांस क्षमता र प्रतिफल हेर्नैपर्छ।'
दैनिक रुपमा सेयर किन्ने र बेच्नेहरूका कारण जस्तोसुकै कम्पनीको मूल्य पनि आकासिन सक्छ। तिनै किन्ने बेच्नेहरूले नै सामाजिक सञ्जालका पेजमा अनेक प्रचार गरिरहेका हुन्छन्।
पुनर्बीमा कम्पनीको हकप्रद आउने, अर्को वर्ष लाभांश दिने जस्ता हल्ला समेत सामाजिक सञ्जालमा चल्ने गरेका छन्। हल्लाका भरमा लगानी नगर्न सुझाउँछन् मुनकर्मी, ‘लगानी गर्दैगर्दा लहलहै होइन कम्तिमा इपिएस, पिइ, नेटवर्थ, बुकभ्यालु, ग्रोथरेट र सुशासन हेरेर निर्णय गर्नुपर्छ।’
पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट यो आर्थिक वर्ष लाभांश दिन नसक्ने घोषणा गरिसकेको छ। यो वर्ष मात्रै होइन, आगामी वर्ष पनि कम्पनीले लाभांश दिन नसक्ने निश्चित छ। कोरोना बीमाको भुक्तानीका लागि कम्पनीलाई १ अर्बको दायित्व सिर्जना हुँदैछ।
विभिन्न बीमा कम्पनीहरूमा झण्डै ३९ हजारले कोरोना बीमाको दावी गर्दै आवेदन दिएकोमा करिब ११ हजारलाई १ अर्ब बढी रकम भुक्तानी भइसकेको छ। अहिले भुक्तानी हुन बाँकी रहेको दावीलाई मात्रै हेर्दा पनि थप साढे २ अर्ब खर्च हुनेछ।
कोरोना बीमाको भुक्तानी मापदण्डअनुसार सुरूको १ अर्ब रुपैयाँसम्म निर्जीवन बीमा कम्पनीहरूले, त्यसपछिको १ अर्ब रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले ब्यहोर्नुपर्नेछ।
कम्पनीका सिइओ रायमाझीले कोरोना बीमामा १ अर्ब रुपैयाँको दायित्व स्पष्ट भइसकेको उल्लेख गरे।
‘१ देखि २ अर्ब रुपैयाँसम्म पुनर्बीमाले ब्यहोर्ने भनेर मापदण्डमा स्पष्ट उल्लेख छ, यसले हाम्रो नाफामा ठूलो असर पार्नेछ’ सेतोपाटीसितको कुराकानीमा उनले भने।
२ अर्बभन्दा बढी भुक्तानी गर्नु परेमा बीमा समितिमा दायित्व जानेछ। अर्कोतिर कम्पनीको वित्तीय अवस्था नै कमजोर छ।
गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले जीवन बीमा व्यवसायबाट १७ करोड र निर्जीवनबाट १ अर्ब ६ करोड रुपैयाँ गरी १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी जम्मा १२ रुपैयाँ ३७ पैसा छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ। मंगलबारको बजार मूल्यलाई तुलना गर्ने हो भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिइ रेसियाे) १३१ गुणा छ, यसको अर्थ प्रतिसेयर कमाइका लागि हुने लागत एकदमै महँगो छ।
बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा पनि कारोबारी हावी छन्। लगानीकर्ता खरेल भन्छन् ‘छोटो समयमै सेयर बेच्नका लागि मूल्य बढिरहेका कम्पनीमा कारोबारीहरू लाग्छन्, जसले गर्दा धेरै माग सिर्जना हुन्छ, मूल्य बढ्छ।’
यसरी अत्याधिक मूल्य बढ्दै गएका कम्पनीको सेयर कुनै बेला बेच्न पनि नपाउने अवस्था आउन सक्नेतर्फ लगानीकर्ता सजग रहनुपर्ने उनको सुझाव छ।
जीवन र निर्जीवन बीमा कम्पनीले संभावित जोखिम बाँडफाँडका लागि विभिन्न 'पोलिसी'को पुनर्बीमा गरेका हुन्छन्। पुनर्बीमाको शुल्क र सोकाे लगानीबाट आर्जित प्रतिफल नै पुनर्बीमा कम्पनीको आम्दानी हाे।
यो स्वदेशको एक मात्र पुनर्बीमा कम्पनी हो। अर्थात उस्तै प्रकृतिको अरू कम्पनी छैनन्।
हरेक बीमा कम्पनीहरूले पुनर्बीमा गर्दा २० प्रतिशत रकम स्वदेशी पुनर्बीमा कम्पनीमा नै गर्नुपर्ने व्यवस्था छ।
यद्यपि कतिपय कम्पनीले सोभन्दा बढी रकम स्वदेशमै पुनर्बीमा गर्न थालेका छन्। हाल १९ जीवन बीमा कम्पनी र २० निर्जीवन गरी ३९ कम्पनी संचालनमा छन्।
त्यति मात्रै होइन, कम्पनीले भारतलगायत अन्य एसियाली मुलुकबाट समेत व्यवसाय ल्याउन सक्छ।
‘भारतका प्रधानमन्त्रीको फसल बीमा योजना लगायतको पुनर्बीमा भएको छ, भारत मात्रै नभई एसियाली अन्य मुलुकबाट पनि व्यवसाय आउन थालेको छ’ सिइओ रायमाझीले भने।
हरेक वर्ष करिब ८ अर्ब रुपैयाँ पुनर्बीमाका लागि बाहिरिने गरेको छ। सोको २० प्रतिशत अर्थात करिब १ अर्ब ४० करोड रुपैयाँ रकम स्वदेशी बीमाका कारण बाहिरिनबाट जोगिन्छ।