सेयर बजारको परिसूचक नेप्से गत बिहीबार ८ अंकले बढ्दा लगानीकर्ता पिताम्बर शर्मा खरेलको पोर्टफोलियो भने घटेको थियो।
कारोबार भएका कयैन दिन नेप्से बढ्दा पनि उनको पोर्टफोलियो घट्छ वा नेप्से घट्दा पनि उनको पोर्टफोलियो बढ्छ। त्यसकारण उनले आजकाल नेप्से परिसूचकमा ध्यान दिँदैनन्, बरू आफूसँग भएका कम्पनीको घटबढ मूल्य मात्र हेर्छन्।
नेप्से परिसूचकले उनीजस्ता सयौं लगानीकर्ताका पोर्टफोलियोलाई आक्कलझुक्कल मात्रै 'म्याच' गर्छ।
किनकि नेपालको सेयर बजारलाई सीमित कम्पनीले नचाएका छन्। सीमित कम्पनीको थोरै कित्ता कारोबारमै मूल्य बढ्दा नेप्से बढ्ने र मूल्य घट्दा नेप्से घट्ने हुन्छ।
सेयर बजारमा ५ कम्पनी 'बाहुबली'का रूपमा चिनिन्छन्। ती कम्पनी हुन् नेपाल टेलिकम, पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोष।
विगत चार महिनामा यी कम्पनीको मूल्य अत्यधिक बढेको छ, जसले गर्दा समग्र नेप्से नै उच्च दरले बढेको छ।
कसरी हल्लाउँछन् यी कम्पनीले नेप्सेकै परिसूचक?
पहिले बुझौं पुँजीकरण। कुल सूचीकृत सेयर संख्याको बजार मूल्य नै पुँजीकरण हो। बजारमा २१२ कम्पनी सूचीकृत छन्।
अहिले सेयर बजारको कुल पुँजीकरण (बजारमा सूचीकृत सम्पूर्ण सेयरको कुल मूल्य) २६ खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ। तर यी ५ कम्पनीको मात्रै बजार हिस्सा (पुँजीकरण) २३.७७ प्रतिशत अर्थात ६ खर्ब २६ अर्ब रूपैयाँ छ।
नेपाल टेलिकमको १५ करोड कित्ता सेयर सूचीकृत छ जुन सबभन्दा धेरै हो। कम्पनीको अन्तिम मूल्य प्रतिकित्ता ११८० रूपैयाँ हुँदा पुँजीकरण सबभन्दा धेरै १ खर्ब ७७ अर्ब रूपैयाँ छ।
१० करोड कित्ता सेयर सूचीकृत पुनर्बीमाको बजार मूल्य प्रतिकित्ता १५४९ रूपैयाँ छ। पुँजीकरण १ खर्ब ५४ अर्ब ९० करोड हुन आउँछ।
१० करोड ८ लाख कित्ता सेयर सूचीकृत नबिलको बजार मूल्य प्रतिकित्ता ११२० रूपैयाँ छ। पुँजीकरण १ खर्ब १२ अर्ब हुन आउँछ।
नेपाल लाइफ इन्स्योरेन्सको बजार मूल्य प्रतिकित्ता १९०० रूपैयाँ छ भने सूचीकृत सेयर संख्या ५ करोड ४९ लाख ६१ हजार छ। बजार पुँजीकरण १ खर्ब ४ अर्ब रूपैयाँ हुन्छ। नागरिक लगानी कोषको पुँजीकरण ७९ अर्ब रूपैयाँ छ।
अब जानौं, नेप्सेको परिसूचक कसरी निर्धारण हुन्छ?
समान्यतः चालु बजार पुँजीकरणलाई आधार बजार पुँजीकरणले भाग गरेर १ सयले गुणा भएपछि नेप्से निर्धारण हुन्छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार वि.सं. २०५० माघ ३० गते सबै कम्पनीको पुँजीकरणलाई १ सय मानेर नेप्सेको गणना सुरू भएको हो।
मानौं सो दिन बजारको पुँजीकरण १० अर्ब थियो, भोलिपल्ट अर्थात फागुन १ गते पुँजीकरण १० अर्ब ५० करोड पुग्यो।
अब यहाँ (१०.५०×१००÷१०) = १०५ हुन आउँछ। अब नेप्से ५ अंकले बढेर १०५ भएको मानियो। सोही गणना विधि अहिलेसम्म चलिआएको छ।
यो विधिअनुसार पुँजीकरण रकममा हुने परिवर्तन नै नेप्सेको परिसूचक तलमाथि हुनु हो।
अब मानौं, यी पाँचै कम्पनीको १०–१० कित्ता सेयर १–१ रूपैयाँ मूल्य बढेर खरिदबिक्री भयो भने ती कम्पनीको सूचीकृत सबै सेयरको मूल्य बढेको ठहरिन्छ।
अरू कम्पनीको मूल्य स्थिर रहेका अवस्थामा नेप्से करिब २३ अंकले बढेको हुन्छ। सेयर विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, 'यी कम्पनीको १०–१० कित्ता सेयर कारोबार हुँदा पनि नेप्से परिसूचकमा तीव्र उतारचढाव ल्याइदिन्छ। यसको अर्थ नेप्सेको गणना तौल मिलेको छैन।'
यहीकारण नेप्सेका सूचक बढ्दा पनि लगानीकर्ताको पोर्टफोलियो घटेको हुने वा नेप्से घटेका बेला पोर्टफोलियो बढ्ने अवस्था रहेको उनी बताउँछन्।
नेप्से परिसूचक र पुँजीकरणका पछाडि नलाग्न सुझाउँछन् सेयर बजारका जानकार दिलीप मुनंकर्मी।
बजारमा आएको सीमित सेयरका आधारमा सूचीकृत सबै सेयरको मूल्य निर्धारण गरेर त्यसकै आधारमा नेप्से गणना गर्नु उचित नहुने उनी बताउँछन्।
'१० कित्ता सेयर कुनै दिन ५ रूपैयाँ बढेर बिक्री हुँदैमा, सो दिन त्यो कम्पनीको सूचीकृत १० करोड कित्ता नै ५ रूपैयाँ बढेर बिक्री भएको मान्न मिल्छ र?' उनले प्रश्न गरे।
नेप्सेको अंकभन्दा पनि कम्पनीको वित्तीय स्थिति राम्ररी केलाएर मात्रै लगानी गर्न उनी सुझाउँछन्।
नेप्सेका प्रवक्ता पराजुली संसारका धेरै मुलुकले अवलम्वन गरेको विधिअनुसार नै 'भ्यालु वेट'का आधारमा नेप्से परिसूचक गणना हुने गरेको बताउँछन्।
पुँजीकरणको गणना नै भ्रामक
सेयर बजारको कुल पुँजीकरण पनि भ्रमपूर्ण छ। अर्थात गणना विधि नै वैज्ञानिक छैन।
बजारमा एउटै कम्पनीको संस्थापक र साधारण गरी दुई किसिमका सेयरको कारोबार हुन्छ। कारोबारमा संस्थापक र साधारण सेयरको मूल्य पनि फरक फरक छ।
बजारमा सबैजसो कम्पनीको साधारणभन्दा संस्थापक समूहको सेयर मूल्य सस्तो छ। तर कुल पुँजीकरण गणनामा ती दुवै प्रकारको सेयरलाई साधारण मूल्यसँग गणना गरिएको छ।
बजारको पुँजीकरण नै भ्रामक रहेको बताउँछन् मुनंकर्मी।
'एउटै कम्पनीको संस्थापक र साधारण सेयरको मूल्य बजारमा फरक फरक छ। तर पुँजीकरण गर्दा साधारणकै सरह मानेर गणना गरिएको छ। यो झनै भ्रामक छ,' उनले भने।
यसलाई उदाहरणबाट बुझौं-
सेयर बजारमा ए कम्पनीको कुल १ करोड कित्ता सेयर सूचीकृत छ, जसमा ४९ लाख कित्ता साधारण सेयर र ५१ लाख कित्ता संस्थापक छ।
साधारण सेयरको मूल्य ५ सय रूपैयाँ छ र संस्थापकको मूल्य ४०० छ भने वास्तविक बजार पुँजीकरण (४९ लाख×५००+५१ लाख×४००) ४ अर्ब ४९ करोड हो। तर नेप्सेको गणना विधिमा (१ करोड×५००) ५ अर्ब मानिएको छ।
'कि संस्थापक र साधारण दुवैको सेयर मूल्य एउटै हुनुपर्यो, कि संस्थापक र साधारणको अलग अलग मूल्यमै गणना हुनुपर्यो,’ मुनंकर्मी भन्छन्।