उत्पादनमूलक क्षेत्रमा शिवम् सिमेन्टले पहिलो पटक प्रिमियममा आइपिओ जारी गर्दैछ। धितोपत्र बोर्डबाट आइपिओ जारी गर्नका लागि कम्पनीले स्वीकृति पाइसकेको छ।
८ लाख ८० हजार कित्ता स्थानीय (मकवानपुरबासी)का लागि र ४४ लाख कित्ता सर्वसाधारणका लागि प्राथमिक सेयर जारी हुने भएको हो। स्थानीयका लागि सम्भवतः साउन र सर्वसाधारणका लागि असोजमा सेयर निश्कासन हुने कम्पनीले जनाएको छ।
स्थानीयले प्रतिकित्ता ३ सयमा र सर्वसाधारणले प्रतिकित्ता ४ सयका दरले आइपिओमा आवेदन दिनुपर्नेछ। जसमा स्थानीयबाट प्रतिकित्ता २ सय र सर्वसाधारणबाट प्रतिकित्ता ३ सय रुपैयाँका दरले प्रिमियम रकम संकलन हुनेछ।
प्रिमियममा आइपिओ जारी हुने हुँदा कम्पनीको वित्तीय स्थिति लगानीकर्ताका लागि महत्वपूर्ण छ। त्यसमाथि दोस्रो बजारमा उस्तै प्रकृतिको (सिमेन्ट उद्योग) कम्पनीको कारोबार नभएकाले लगानीकर्तालाई दाँज्ने अवसर छैन।
हाल दोस्रो बजार घटेर न्यून बिन्दुमा आएका बेला कम्पनीले जारी गर्न लागेको आइपिओको मूल्यलाई कतिपयले महँगो भनिरहेका छन्।
आइपिओको वर्तमान मूल्यभन्दा पनि लगानीकर्ताले कम्पनीको वित्तीय स्थिति र आगामी दिनमा गर्ने प्रगति तथा संभावित प्रतिफल केलाउनु जरुरी हुन्छ।
यदी कम्पनीको वित्तीय स्थिति सबल बन्दै जाने हो र प्रतिफल बढ्दै जान्छ भने बजारमा सूचीकृत भएपछि उसको मूल्य पनि स्वभाविक रुपमा बढ्दै जान्छ। त्यसो भएमा लगानीकर्ताले प्रतिफलबाट मात्रै होइन, सेयरको मूल्यबाट पनि नाफा लिन सक्छन्।
एचआर गोयल ग्रुप, लक्की ग्रुप, सारदा ग्रुप, जेबी मारु ग्रुप, देवेनरा ग्रुप र भिमसरिया गु्रपको यसमा संयुक्त लगानी छ। संचालक समितिको अध्यक्ष सुरेन्द्र कुमार गोयल हुन्। निर्देशकहरुमा अमित मोर, सन्दिपकुमार सारदा, रघुनन्दन मारु र रोहित गुप्ता रहेका छन्।
२०६० साल जेठमा प्राइभेट कम्पनीका रुपमा दर्ता भएको शिवम् सिमेन्ट २०७२ साउनमा पब्लिकमा रुपान्तरण भयो। आर्थिक वर्ष २०६७/६८ देखि कम्पनीले व्यवसायिक रुपमा उत्पादन थालेको हो।
त्यसबेला दैनिक ७ सय टन सिमेन्ट र १२ सय टन क्लिङ्कर उत्पादन गर्ने क्षमता रहेको कम्पनीले हाल ३ हजार टन सिमेन्ट र १९ सय टन क्लिङ्कर उत्पादन गर्ने क्षमता राख्छ। सबैभन्दा ठूलो क्षमता भएको होङ्सी शिवम् सिमेन्ट यसको संयुक्त लगानीमा संचालित उद्योग हो। होङ्सीमा शिवम्को ३ अर्ब ३६ करोड अर्थात २६. ४ प्रतिशत लगानी छ।
सहायक कम्पनीमार्फत शिवम्ले होङ्सीमा संयुक्त लगानी गरेको हो। होङ्सीको दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ। यद्यपी होङ्सीबाट प्रतिफल आउन भने ४–५ वर्ष लाग्न सक्नेछ।
होङ्सीबाट प्रतिफल आउन थालेपछि स्वभाविक रुपमा कम्पनीको अहिलेको नाफामा वृद्धि आउनेछ।
वित्तीय स्थिति
विगत तीन वर्षलाई हेर्दा कम्पनीको वित्तीय स्थिति सबल बन्दै गएको देखिन्छ। कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७१/७२ मा ३ अर्ब ८७ करोड रुपैयाँको उत्पादन बिक्री भएकोमा चालु आर्थिक वर्षको चैतसम्म यो बढेर ७ अर्ब १० करोड पुगेको छ। अर्थात कम्पनीको व्यवसाय बढ्दै गएको देखिन्छ।
शिवम्को खुद नाफा पनि बढ्दै गएको छ। ७१/७२ मा ४१ करोड ५३ लाख खुद नाफा कमाएकोमा यस आवको चैतसम्म ९३ करोड ६७ लाख पुगेको छ। वर्षेनि नाफा बढ्दै गएकोमा आगामी दिनमा होङ्सीको प्रतिफल समेत आउने भएकाले अझ बढ्न जाने कम्पनीको अपेक्षा छ।
हाल सेयर पुँजी ३ अर्ब ८७ करोड रहेकोमा स्थानीय र सर्वसाधारणलाई आइपिओ जारी गरेपछि पुँजी ४ अर्ब ४० करोड पुग्नेछ।
चैत मसान्तसम्म कम्पनीको जगेडा कोषमा २ अर्ब १६ करोड रहेको छ। आइपिओपछि यसमा १ अर्ब ४९ करोड रुपैयाँ थपिन गई जगेडा कोष थप मजबुत हुनेछ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २५ पैसा छ। आर्थिक वर्ष ७२/७३ मा यस्तो आम्दानी ३८ रुपैयाँ ८९ पैसा रहेकोमा हाल पुँजी बढेसँगै कमी आएको हो। त्यतिबेला २ अर्ब रहेको सेयर पुँजी हाल ३ अर्ब ८७ करोड पुगेको छ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ चैत मसान्तसम्म १५५ रुपैयाँ ९१ पैसा छ। आइपिओको प्रिमियम थपिएपछि यो बढ्न जानेछ। विगत तीन आर्थिक वर्षमा वर्षेनि उसले १० दशमलव ५३ प्रतिशतले नगद लाभांश दिँदै आएको छ।