‘अलि वर आउनुहोस्, फेरि पत्रकारले सम्वन्ध राम्रो छैन भनिदिन्छन्’ बुधबार पुँजी बजार एक्स्पोमा रिवन काट्दै गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर डा. चिरञ्जिवि नेपाललाई यही वाक्य बोल्दै अगाडि ताने।
गभर्नर अगाडि गएपछि खतिवडाले रिबन काटे र स्टलहरुको सँगै अवलोकन गर्दै दुवै एउटै मञ्चमा बसे। घरि सँगै बसेका धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की त घरि गभर्नर नेपालसँग अर्थमन्त्रीको कानेखुसी कुरा हुन्थ्यो।
सितिमिति एउटै मञ्चमा नदेखिने हुँदा अर्थमन्त्री र गभर्नरको यो उपस्थिति भिन्न देखियो। यसअघि राष्ट्रिय वाणिज्य बैंकको एक कार्यक्रममा खतिवडाले गभर्नरलाई लक्षित गर्दै ‘राष्ट्र बैंकमाथि पनि कोही छ भन्ने कुरा बुझ्नुपर्छ’ भनेका थिए।
उनले नराम्रो काम गरेमा गभर्नरलाई पनि कारबाही हुन्छ भन्ने आशयले यस्तो वाक्य बोलेका थिए। ‘मैले नराम्रो काम गरेमा मलाई पनि कारबाही हुन्छ’ भनी उनले स्पष्ट बोलेका थिए। जुन कार्यक्रममा गभर्नरको उपस्थिति थिएन, डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी थिए।
अर्थमन्त्री नहुँदैदेखि खतिवडाले राष्ट्र बैंकका केही कामकारबाहीप्रति सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए। बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी वृद्धिको निर्णय होस् या नियमनका विषय, उनले असन्तुष्ट जनाउँदै आएका थिए। अर्थमन्त्री भइसकेपछि उनले गभर्नरलाई असहयोग गरेका गुनासाहरु टड्कारो रुपमा उठ्दै आएका छन्।
गभर्नर नेपाली कांग्रेसको सरकारका पालामा नियुक्त भएका हुन् भने अर्थमन्त्रीलाई एमालेले नियुक्त गरेको हो। फरक पार्टीगत हिसाव त एकातिर छँदै थियो, बाहिर नै आलोचनात्मक टिप्पणीहरु सुनिन थालेपछि दुवैबीचको सम्वन्ध नराम्रो रहेको भन्दै मिडियामा आइरहेको थियो। त्यही कुरालाई चिर्ने कोसिस गर्दै खतिवडाले गभर्नरलाई सँगै लिएर रिबन काटे।
केही बेर दुवै जना एउटै मञ्चमा देखिए पनि अर्थमन्त्रीले गभर्नरको भाषण सुनेनन्। आगामी बजेटको तयारीका कारण व्यस्तता बढेको भन्दै उनी पहिल्यै भाषण गरी निस्किए। गभर्नर भने अन्तिम समयसम्म बसे।
देखावटी रुपमा दुबैबीचको सम्वन्ध बुधबार राम्रो देखियो, तर सेयर बजार र लगानीकर्ताप्रति दिएका अभिव्यक्ति भने एकआपसमा विरोधाभासपूर्णजस्तै रहे।
अर्थमन्त्री खतिवडाले पुँजी बजारमा जोखिम पनि छ, सचेत भएर लगानी गर्नुपर्छ भन्दै गर्दा गभर्नरले भविष्यका लागि पुँजी बजार नै लगानीको सबैभन्दा राम्रो माध्यम भनेर टिप्पणी गरे।
बालबच्चालाई पनि पुँजी बजारबारे सिकाएर उनीहरुको बचत यसमै परिचालन गराइदिनुपर्नेमा उनले जोड दिए। त्यति मात्रै होइन, दुवैले आ–आफ्ना भनाईलाई उदाहरण नै दिएर प्रष्ट्याउने कोसिस गरे।
‘म जापानमा जाँदा त्यहाँ बालबच्चाले नै सेयरमा लगानी गर्नका लागि कार्यक्रममार्फत सन्देशमुलक प्रचार गरेको देखेँ’ गभर्नरले भने ‘त्यसकारण तपाईहरुले पनि आफ्ना बालबच्चाको बचत सेयरमा लगाइदिनुहोस्, भविष्य यसमै सुरक्षित हुनेछ।’
अगाडि बोलेका अर्थमन्त्री खतिवडाले जोखिम लिन तत्पर हुनेलाई मात्रै सेयर बजारमा लगानी गर्न आग्रह गरे। उनले भने ‘धेरै नाफा लिन खोज्नेहरु, जोखिम लिन पनि तयार हुनुपर्छ, यदी जोखिम लिन सक्नुहुन्न भने कम जोखिम हुने अन्य इन्स्ट्रुमेन्ट तपाईले छान्न सक्नुहुन्छ।’
गभर्नरले जापानको उदाहरण दिँदा अर्थमन्त्रीले भने आफ्नै साथीको उदाहरण दिए।
‘साथी रिटायर्ड भएपछि सञ्चय कोषबाट निकालेको सबै रकम सेयरमा लगानी गर्यो, मसँग पछि आफू डुवेको गुनासो गर्यो’ खतिवडाले भने ‘तर मैले बैंकमा निक्षेपका रुपमा जम्मा गरेँ, कमै भए पनि व्याजको लाभ लिएँ।’
सेयर बजारमा धेरै नाफा हुन सक्ने, जोखिम पनि त्यहीअनुसार रहेको उनले तर्क गरे। उनले थपे ‘घाटा भएमा सरकारलाई धारे हात नलगाउनुहोस् र नाफा भए पनि सरकारलाई दिनु पर्दैन।’ यद्यपी बजारको विकासका लागि सही नीतिहरु बनाउने काममा भने आफूले सहयोग गर्ने उनको भनाइ छ।
लहैलहमा सेयर बजारमा लाग्न नहुनेतर्फ सचेत गराउन अर्थमन्त्रीले अर्को भेंडाको उदाहरण समेत दिए। ‘अगाडि भएको कुनै भेंडालाई डोरी लगाएर उफार्ने हो भने पछाडिका भेंडा डोरी नलगाए पनि उफ्रिन्छन्’ खतिवडाले भने ‘अगाडिको भेंडाले जे गर्छ, पछाडिकोले देखेपछि त्यही गर्छ।’
अर्थमन्त्रीले सेयर बजारबारे जानकारी नभएकाहरुले अरुको देखावटीमा लगानी गर्न नहुने बताउँदा गभर्नरले भने हुम्ला, जुम्ला, कालिकोट लगायत विकट मानिएका सबै जिल्लाका सर्वसाधारणले सेयरमा लगानी गर्नेगरी वातावरण बनाउनुपर्ने बताए।
गभर्नरले पुँजी बजारको विकासबिना अर्थतन्त्र सबल बन्न नसक्ने बताए। कुनै पनि आयोजनामा सरकारी लगानीले मात्रै विकास सम्भव नहुने उनले दावी गरे। ‘पव्लिकबाटै लगानी जुटाएर, आयोजनाहरु बनाउने हो, आयोजनाले दिने सबै लाभ पनि पव्लिकलाई नै वितरण गर्ने हो’ उनले भने।
भारत र चीनको सेयर बजार धेरै माथि पुगेको बताउँदै उनले नेपालको बजार अति नै तल रहेको टिप्पणी गरे। धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर डा. नेपालले पुँजी बजारको विकासका लागि गर्नुपर्ने धेरै कामहरु बाँकी रहेको औंल्याए।
अर्थमन्त्रीका भनाईप्रति सजग भएर सुनेका लगानीकर्ताले अन्तिम समयमा गभर्नरले उक्साएका वाक्यमा भने बीचबीचमै ताली पिट्ने गर्थे।