सेयर बजार घट्दा राजश्व गुम्यो


सेयर बजार बढ्दै गर्दा राजश्व बढ्ने र घट्दा गुम्दै जाने गरेको पाइएको छ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ४३ करोड ५५ लाख ८० हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा आधाभन्दा कम हो।

गत आवको सोही अवधिमा १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो। साउनदेखि फागुनसम्म करिब ३ सय अंकले नेप्से झरेको छ। साउन १ गते १५८३ अंकमा रहेको परिसूचक फागुन अन्तिमसम्म १२८५ अंकमा झर्यो। जसले गर्दा पुँजीगत लाभकरमा असर देखिएको छ।

सेयर बजार बढ्दै जाँदा पुँजीगत लाभकर धेरै उठ्ने गरेको र घट्दा कम हुने गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। ‘बढ्दाखेरि लगानीकर्ताको नाफा पनि बढ्छ, राजश्व पनि बढ्छ, घट्दा नाफा कम हुन्छ वा नोक्सानमै पनि बेच्छन्, यसले पुँजीगत लाभकरमा असर पर्छ’ उनले भने।

त्यसअघि आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४५ करोड २४ लाख पुँजीगत लाभकरवापतको राजश्व सेयर बजारबाट उठेको थियो। त्यस्तै आव २०७२/७३ मा १ अर्ब ३९ करोड उठेको थियो। २०७२ साउन महिनामा नेप्से सबैभन्दा उच्च १८८१ अंकसम्म पुगेको थियो।

हालका वर्षहरुमा मात्रै होइन, विगत लामो समयदेखि नै नेप्से र पुँजीगत लाभकरको सकारात्मक सम्वन्ध देखिँदै आएको छ। २०६५ भदौमा नेप्से ११७५ अंकमा पुगेकोमा सो वर्ष पुँजीगत लाभकर ९३ करोड उठेको छ। सो वर्षको नेप्से र पुँजीगत लाभकर दुवै त्यसअघिका वर्षकोभन्दा उच्च हो।

आर्थिक वर्ष २०६८/६९ मा नेप्से झरेर २९२ अंकसम्म कायम भयो। सोही आवमा ६८ करोड पुँजीगत लाभकर उठे पनि आव २०६९÷७० मा जम्मा १६ करोड ७९ लाखमा मात्रै सीमित भयो।

सेयरबाट भएको नाफामा व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत तथा संस्थागत लगानीकर्ताले १० प्रतिशतसम्म पुँजीगत लाभकर तिर्ने गरेका छन्। यदी बजार बढेमा उच्च मूल्यमा लगानीकर्ताले सेयर बेच्ने र त्यसको लाभकर पनि बढी हुने गर्दछ।

तर घटेका बेला लगानीकर्ताले नोक्सान नै ब्यहोरेर पनि सेयर बेच्ने भएकाले लाभकरमा प्रभाव परेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। लगानीकर्ताले नोक्सान ब्यहोरेर सेयर बेचेमा लाभकर तिर्नु पर्दैन।

सेयर लगानीकर्ताले भने लामो अवधिको लगानी र छोटो अवधिको लगानी छुट्याएर पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्।

विभिन्न देशमा लामो अवधिको लगानीका लागि पुँजीगत लाभकर छुट हुने व्यवस्था रहेको दावी गर्दै उनीहरुले नेपालमा पनि लागू गर्नुपर्ने माग गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.