बैंकहरुमा निक्षेप बढेसँगै सेयर बजार उकासिएको छ। राष्ट्र बैंकका अनुसार चैत ९ गतेदेखि १६ गतेसम्म बैंकिङ प्रणालीमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। यस अवधिमा कर्जा प्रवाहभन्दा निक्षेपको दर दुई गुणाले बढेको छ।
बैंकहरुमा निक्षेप बढेको सूचना लगानीकर्ताले पाएसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो। गभर्नर डा. चिरञ्जिवी नेपालले बुधबार लगानीकर्तासँग गरेको भेटवार्ताका क्रममा निक्षेपमा सुधार आएको जानकारी गराएका थिए। ‘अब निक्षेप बढ्दै जान्छ, सेयर बजारलाई यसले सकारात्मक असर पार्दछ, तपाईहरु घट्दा आत्तिने काम नगर्नुहोस्’ उनले भने।
विगत तीन दिनको अवधिमा नेप्से परिसूचक ५६ अंकले बढेको छ। मंगलबार ६, बुधबार २७ र बिहीबार २३ अंकले नेप्से बढेको छ। त्यस्तै विगत १० दिनको अवधिलाई हेर्दा नेप्से ८२ अंकले बढेको छ। चैत १२ गते ११६८ अंकमा रहेको परिसूचक बिहीबार १२५० अंकमा पुगेर बन्द भएको छ।
पछिल्ला दिनमा कारोबार रकम समेत उल्लेख्य बढेको पाइन्छ। मंगलबार २१ करोडको कारोबार हुँदा बुधबार ३३ र बिहीबार ६१ करोडको सेयर किनबेच भयो।
विकास खर्च बढ्दै जाँदा त्यसले निक्षेपमा सुधार आउने र निक्षेपमा सुधार आइसकेपछि बजारलाई प्रभाव पार्ने विश्लेषकहरु बताउँछन्। ‘निक्षेप बढ्दा, व्याजदरमा स्थिरता वा गिरावट आउँछ, स्वभाविक रुपमा सेयर बजार बढ्नमा टेवा पुग्दछ’ एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरेले भने।
निक्षेप बढेका बेला लगानीकर्ताले न्यून व्याजदरमा सेयर धितो राखेर ऋण लिने र पुनः सेयरमै परिचालन गर्ने भएकाले बजारलाई सकारात्मक प्रभाव पार्ने गरेको उनले बताए।
नेप्सेको ट्रेन्ड लाई हेर्दा पनि साउन भदौमै उच्च अंकमा पुग्ने गरेको पाइन्छ। २०७३ साउन १२ गते १८८१ अंकमा नेप्से पुगेको थियो, जुन आजसम्मकै सबैभन्दा धेरै अंक हो। यस आर्थिक वर्षलाई मात्रै हेर्ने हो भने साउन २२ गते १६६५ अंकमा रहेको नेप्से त्यसयता त्यो विन्दु समाउन सकेको छैन।
२०६५ भदौमै ११७५ अंक पुगेर नेप्सेले त्यसअघिका सबै रेकर्ड तोडेको थियो।
साउन भदौमै नेप्से अधिक अंकमा पुग्नुको अर्थ बैंकहरुमा अधिक निक्षेप संकलन हुनु एउटा कारण रहेको घिमिरेले बताए। ‘यतिबेला निक्षेप बढ्ने र व्याजदर घट्ने भएकाले पनि बजार उच्च अंकमा देखिने गरेको हो’ घिमिरेले भने ‘अर्को प्रमुख कारण भनेको कम्पनीहरुले लाभांश घोषणा गर्ने समय हो।’
कम्पनीहरुले दिने लाभांशको दर यदी व्याजदरभन्दा बढी हुने देखेमा लगानीकर्ताले ऋण नै लिएर पनि किन्ने गरेका छन्।
पछिल्ला दुई वर्ष मात्रै हेर्ने हो भने फागुन/चैतमा नेप्सेले न्यूनतम अंक बनाएको देखिन्छ। २०७३ सालको न्यूनतम विन्दु फागुन १ गते १२५२ अंकमा रह्यो। २०७४ सालको चैत १२ गते वर्षभरिकै सबैभन्दा कम ११६८ अंकसम्म नेप्से झरेको छ। यद्यपी चैत सकिन केही दिन बाँकी रहेकाले न्यूनतम अंक यही नै दर्ज हुन्छ भन्न सकिने अवस्था छैन।
फागुन, चैतमा बजार घट्नुमा निक्षेपको अभाव हुनु प्रमुख कारण हो। यो बेला निक्षेप अभावकै कारण व्याजदर अधिक हुने र व्याजदरको प्रभाव बजारमा पर्ने गरेको विश्लेषकहरुको भनाई छ। ‘सेयर बेचेर धेरै व्याजमा पैसा बचत गर्ने, अर्कोतर्फ ऋण लिएर किन्नेलाई व्याज बढी पर्दछ’ घिमिरेले भने ‘व्याज निर्धारण गर्ने प्रमुख साधन त निक्षेप नै हो।’
विगतका वर्षहरुलाई हेर्दा पनि अब विकास खर्च बढ्ने भएकाले निक्षेपमा स्वभाविक सुधार आउने गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए। ‘अहिले निक्षेपमा सुधार मात्रै आएको हो, साउन भदौसम्म बढ्दै जानेछ’ थापाले भने।
निक्षेप बढेपछि व्याजदरमा त्यसले प्रभाव पार्ने उनले बताए। निक्षेप र कर्जाको माग तथा पूर्तिले नै व्याजदर निर्धारण हुने बैंकर्स बताउँछन्। साउन, भदौमा निक्षेप बढी संकलन हुने गरेको थापाको अनुभव छ।
निक्षेप संकलन बढ्ने भएकाले नै त्यो बेला व्याजदर समेत घट्ने गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
यस आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साउनमा ९.७ प्रतिशत वाणिज्य बैंकहरुको औसत आधार व्याजदर रहेकोमा माघमा १०. १९ प्रतिशत पुगेको छ। फागुनमा यो अझ बढ्ने देखिन्छ।
२०७३ सालको साउनमा ६. १ प्रतिशत बैंकरुको आधार व्याजदर दर रहेकोमा फागुनमा ८. ३ प्रतिशत पुगेको थियो।