आउँदो वर्षका यी दिन बन्द रहनेछन् बैंकहरु


नेपाल राष्ट्र बैंकले आउँदो वर्ष बैंकहरु बन्द रहने विदाका दिनको सूची सार्वजनिक गरेको छ। वैशाखदेखि कात्तिक १५ सम्म तथा माघदेखि चैतसम्म बैंकहरुले अपह्रान्ह ४ बजेसम्म कारोबार गर्नेछन्।

सूचीअनुसार कात्तिक १६ देखि माघ १५ सम्म १० बजेदेखि अपह्रान्ह ३ बजेसम्म र शुक्रबार १० देखि साढे १२ बजेसम्म बैंकिङ कारोबार हुने छ।
बैंकहरु वैशाख १ गते नयाँ वर्ष परेकाले बन्द रहनेछन्। १७ र १८ गते बुद्ध जयन्ती तथा मजदुर दिवसले बन्द रहनेछन्।

भोटेजात्रा, गाइजात्रा, घोडेजात्रा र इन्द्रजात्राका दिन काठमाडौं उपत्यकाका बैंक बन्द रहनेछन्। असोज ३ गते संविधान दिवसका दिन बैंक बन्द रहनेछन्।

दसैँमा फूलपातीदेखि एकादशीसम्म (असोज ३० देखि कात्तिक ३ सम्म) बैंकहरु बन्द रहनेछन्। तिहारमा कात्तिक २१ गते लक्ष्मीपूजा, २२ गते गोवद्र्धन पूजा र २३ गते भाइटिकाका परेकाले बैंकिङ कारोबार बन्द रहनेछ।

फागुन २० गते शिवरात्रि र २४ गते महिला दिवसका दिन बैंकहरु बन्द रहने छन्। चैत ६ गते परेको होलीका कारण पहाडी क्षेत्रका ५८ जिल्लामा र भोलिपल्ट तराईका जिल्लाका बैंक बन्द रहनेछन्। यी दिनबाहेक सरकारले बीचमा घोषणा गरेका बिदाका दिन बैंकहरु बन्द रहन सक्ने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै विभिन्न जाति तथा धर्मावलम्बीका चाडपर्वमा सम्बद्ध कर्मचारीहरुलाई विदा दिइएको छ। शनिबार बैंकहरु बन्द रहनेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.