नेप्से दुई वर्षयताकै न्यून विन्दुमा झर्‍यो


सेयर बजारको परिसूचक नेप्से २ वर्षअघिको विन्दुमा झरेको छ। २४ अंकले नेप्से झरेर १२ सय ३१ अंकमा कायम भएको छ।

यो अंक २०७२ साल माघ १७ गतेयताकै न्यून हो। सो दिन १२ सय २० मा अडिएको नेप्से भोलिपल्ट अर्थात १८ गते १२ सय ३८ बिन्दु पुगेर उकालो गति लिएको थियो।

कारोबार सुरु भएदेखि नै झरेको नेप्सेले २०७३ साल फागुनको न्यूनतम १२ सय ५२ को विन्दु समेत तोडेपछि सेयर बेच्नेहरु हतारिए। जसले गर्दा बजारले दुई वर्षअघिको विन्दु समाउन पुग्यो।

अर्कोतर्फ चैत मसान्तमा बैंकको व्याज बुझाउनुपर्ने र ‘मार्जिन कल’ समेत व्यहोर्नुपर्ने संभावना भएपछि हतासको मनस्थिति बढेको लगानीकर्ता नरेन्द्रराज मिश्रले बताए। घट्दा किन्नेहरुले पनि किनिसकेको र यतिबेला फेरि थप्नका लागि कतिपयसँग पैसा समेत नभएको उनले बताए।

‘तरलतामा सुधार आउन नसक्नु, सेयरको आपूर्ति धान्नेगरी माग सिर्जना नहुनु त घट्नुका कारण छँदै थिए’ उनले भने ‘त्यसमा पनि मार्जिन कल तथा व्याज भुक्तानी गर्नेले पैसाको जोहो गर्न थालेका हुन्।’

चैत मसान्तपछि बजारले सुधारको बाटो समात्न सक्ने उनले बताए। बजार घट्दै जाँदा लगानीकर्ताको मनोविज्ञानमा झन् त्रास थपिने गरेको उनले बताए।

बुधबार अन्तिम समयमा सम्हालियो
बुधबार नेप्से अन्तिम समयमा केही सम्हालिएको छ। २ बजेर ६ मिनेट जाँदा १२ सय २४ अंकमा झरेको नेप्से त्यसपछि बढ्दै गएर १३ सय ३१ अंकमा थामियो। यसले भोलिको दिनलाई केही आशावादी संकेत देखाएको छ। यद्यपी आधारभूत अन्य पक्षहरु बलियो नबनेसम्म बजारले टेवा नपाउने कतिपयको बुझाई छ।

त्यस्तै कारोबार रकम पनि केही बढेको छ। यस दिन ३७ करोड ८३ लाखको सेयर किनबेच भयो। बुधबार उत्पादनबाहेकका सबै उपसूचक झरेका छन्। सो उपसूचक ५८ अंकले बढ्यो।

युनिलिभरको मूल्य प्रतिकित्ता १५ सय १० रुपैयाँले बढ्दा समग्र उपसूचक नै बढेको हो। सबैभन्दा महँगो युनिलिभरको मूल्य बुधबार प्रतिकित्ता २६ हजार २११ कायम भएको छ। बैंकिङ २२, होटल २३, विकास बेंक १३, जलविद्युत २२, फाइनान्स ६, बिमा १८६, माइक्रोफाइनान्स ४८ तथा अन्य उपसूचक ९ अंकले घटे।

नेपाल लाइफ इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा देखियो। उसको ३ करोड ४६ लाखको कारोबार भयो। कम्पनीले ४२ प्रतिशत बोनसको घोषणा गरिसकेको छ भने बुक क्लोजको मिति नजिकिएपछि किनबेच बढेको हो।

नेपाल बैंकको २ करोडको कारोबार भयो। नविल, सानिमा तथा एभरेष्ट बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।  नाफाका आधारमा पनि यस दिन युनिलिभरका लगानीकर्ता अग्रस्थानमा रहे। प्रतिकित्ता १५ सय १० रुपैयाँ अर्थात ६ प्रतिशतले मूल्य बढेको छ।

गुडविल फाइनान्सको मूल्य ३ प्रतिशतले बढेको छ। प्रोग्रेसिभ फाइनान्सको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ। १५२ कम्पनीको कारोबार भएकोमा १० कम्पनीबाहेक सबैको मूल्य घटेको छ।

बजारको पुँजीकरण १४ खर्ब ४१ अर्ब कायम भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.