स्थानीय तहका आधा बढी संख्या अझै बैंक विहीन


एक वर्षको अवधिमा साढे २ सय स्थानीय तहमा नयाँ शाखा खोल्ने प्रतिबद्धता जनाएका बैंकहरुको प्रगति कमजोर देखिएको छ।

असारमा वाणिज्य बैंकहरुले उपस्थित नभएका २५० तहमा शाखा विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए। तर माघसम्म प्रतिबद्धताअनुसार जम्मा ३२ तहमा मात्रै शाखा थपिएका छन्। बाँकी २१८ तहमा यस आर्थिक वर्षभित्र शाखा विस्तार गर्ने उनीहरुको प्रतिबद्धता छ।

सात महिनामा जम्मा ३२ शाखा मात्रै थपेका बैंकहरुले यही गतिमा आर्थिक वर्षको अन्त्यसम्म प्रतिबद्धताअनुसार सबै तहमा शाखा पुर्याउन सक्ने छैनन्।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार माघसम्म कुल स्थानीय तहमध्ये आधा संख्यामा पनि वाणिज्य बैंकका शाखा पुग्न सकेका छैनन्।
७५३ मध्ये ३७४ तहमा वाणिज्य बैंकका शाखा पुगेका छन्। बाँकी ३७९ तह अहिले वाणिज्य बैंकका शाखाविहीन छन्।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल प्रतिबद्धताअनुसार शाखा विस्तार गर्न नसकिएको स्वीकार गर्छन्। ‘हामीले नै १ दर्जन बढी तहमा शाखाको प्रतिबद्धता जनाएका थियौँ, एउटामा खोल्यौँ, दुई वटा प्रक्रियामा छन्’ उनले भने ‘बाँकी तहमा घर नै पाउन सकेका छैनौँ।’

बैंकको शाखाका लागि उपयुक्त घरसहित, सुरक्षा र इन्टरनेटको पहुँच कमजोर देखिएकाले प्रतिबद्धताअनुसार शाखा विस्तार हुन नसकेको दाहालले बताए।

बाँकी १६१ स्थानीय तहमा बैंकहरु जान इच्छुक देखिएका छैनन्। विकासका पूर्वाधारको दृष्टिकोणले विकट रहेकाले कुनै पनि बैंकले प्रतिबद्धता नदेखाएका हुन्। यदी राज्यले चाँडो पूर्वाधार पुर्याएमा शाखा विस्तार पनि चाँडो हुने बैंकर्सको भनाइ छ।

वाणिज्य बैंकहरुलाई प्रतिबद्धता जनाएअनुसार यस आर्थिक वर्षभित्र शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकले यसअघि निर्देशन दिएको छ।

प्रतिबद्धता नआएका तहमा पनि शाखा संचालनका लागि राष्ट्र बैंकले विभिन्न सहुलियत कार्यक्रमहरु ल्याइसकेको छ। ति तहमा कम्तीमा दुई शाखा खोलेपछि मात्रै आगामी आर्थिक वर्षदेखि काठमाडौं र ललितपुरमा शाखा खोल्न पाइनेगरी व्यवस्था गरिएको छ।

त्यस्तै प्रतिशाखा एक करोड रुपैयाँ शून्य व्याजदरमा कर्जा प्रदान गर्ने र दुर्गम जिल्लाका सदरमुकाममा शाखा खोल्दा ५० लाख बिना व्याजदरमा कर्जा प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् माघ मसान्तसम्म कुन प्रदेशमा कति स्थानीय तहमा पुगे वाणिज्य बैंक ?

प्रदेश कुल स्थानीय तह बैंकका शाखा पुगेका तह
१३७ ७१
१३६ ६३
११९ ७१
८५ ४५
१०९ ६६
७९ २५
८८ ३३
कुल ७५३ ३७४

स्रोतः नेपाल राष्ट्र बैंक

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.