‘एटिएमले कामै गरेको छैन’ नयाँ बानेश्वरस्थित हिमालयन बैंकको काउन्टरमा छिरेकी युवतीले बाहिर प्रतिक्षा गरेका अर्का युवकलाई जानकारी दिइन्।
युवकले आफ्नो कार्डबाट पनि प्रयास गरे स्कृनमा देखायो ‘इन्भेलिड कार्ड, प्लिज कन्ट्याक्ट योर बैंक।’ बैंकमा कन्ट्याक गर्न शिवरात्रिको विदा परेको थियो।
नर्भिक अस्पतालमा नर्सको रुपमा कार्यरत उनले आफ्नो नाम भने बताउन चाहिनन्। ‘स्यालरी एकाउन्टमा पैसा आउँछ, यहाँको एटिएमले सितिमिति कामै गर्दैन’ शंखमुलमा बस्दै आएकी उनले गुनासो गरिन्।
उनी त एक प्रतिनिधी पात्र मात्रै हुन्। सम्बद्ध बैंकका एटिएमले काम नगर्दा दैनिक सयौं सर्वसाधारण समस्यामा पर्ने गरेका छन्। नयाँ बानेश्वर र न्यूरोडका एटिएम काउन्टरहरुको अध्ययन गर्दा हामीले ३८ प्रतिशत एटिएमले काम नगरेको पायौँ।
नयाँ बानेश्वरमा भोलिपल्ट अर्थात बुधबार बिहान ८ बजेतिर कुल १४ वटा वाणिज्य बैंकका एटिएम काउन्टरहरु भेट्यौँ। जहाँ ८ वटाले कामै गरेका थिएनन्। हिमालयन बैंकका दुई वटा एटिएम काउन्टर भए पनि दुवैले त्यस दिन पनि काम गरेका थिएनन्।
हिमालयनसहित सनराइज, कुमारी, जनता, एनएमबि, एभरेष्ट, ग्लोबल आइएमई तथा सिद्धार्थ बैंकका एटिएमले काम गरेका थिएनन्।
जतिबेला एनआइसी एसिया, नेपाल, इन्भेष्टमेन्ट, सानिमा, बैंक अफ काठमाण्डु र प्रभु बैंकका भने चलिरहेका थिए। त्यही चोकमा एउटा मञ्जुश्री फाइनान्सको एटिएम पनि काम नगरेको अवस्थामा देखियो।
नयाँ बानेश्वरको अध्ययनपछि न्यूरोडतिर लाग्यौँ। सोही दिन ९ बजेतिर यहाँका २० वटा वाणिज्य बैंकका एटिएमहरु अध्ययन गर्यौैँ। यहाँ भने धेरैजसो संचालनमा थिए। ६ वटा बैंकका एटिएमहरु चलेका थिएनन्।
नविल, जनता, सिटिजन्स, बिओके, राष्ट्रिय वाणिज्य, इन्भेष्टमेन्ट बैंकका एटिएमले ९ बजेतिर काम गरेका थिएनन्।
नेपाल, कृषि विकास, लक्ष्मी, सनराइज, सिद्धार्थ, सानिमा, नेपाल बंगलादेश, एनआइसी एसिया, मेगा, प्रभु, एभरेष्ट, एनसिसी, एनएमबि तथा ग्लोबल आइएमईका भने संचालनमा थिए।
केही बैंकका एटिएम न्यूरोडमा संचालनमा हुँदा नयाँ बानेश्वरमा चलेका थिएनन् भने केही नयाँ बानेश्वरमा चले पनि न्यूरोडमा चलेका थिएनन्।
हुन त बुधबार चलेका एटिएमहरु अर्को दिन नचलेका हुन सक्छन् भने त्यस दिन नचलेका एटिएम अर्को दिन चलेका हुन सक्छन्। तर दैनिक रुपमा नचलेका एटिएमको संख्या उल्लेख्य देखिनुलाई सामान्य रुपमा लिनु व्यवस्थापकीय कमजोरी हुनेछ।
यसरी एटिएमहरु नचल्दा धेरैले आफ्नै पैसा निकाल्न पनि अनावश्यक शुल्क तिर्नुपरेको छ। एउटा बैंकको कार्ड त्यही बैंकका एटिएममा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन। तर अर्को बैंकको एटिएममा प्रयोग गर्दा थप शुल्क काटिएको हुन्छ।
मौज्दातबारे जानकारी लिँदा वा नगद झिक्दा छुट्टाछुट्टै शुल्क काटिने गरेको छ। मेगा बैंकका कार्ड डिपार्ट प्रमुख राकेश श्रेष्ठका अनुसार एक पटक नगद झिक्दा अधिकतम ५० रुपैयाँसम्म काटिने गर्दछ। यसअघि २५० रुपैयाँसम्म काटिने गरे पनि हाल घटाइएको सम्वद्ध अधिकारीहरु बताउँछन्।
तर कतिपय अवस्थामा एक पटक मात्रै कार्डको प्रयोगबाट झिकिएको रकम अपुग हुन सक्छ। अधिकांश बैंकको एक पटक कार्ड प्रयोग गर्दा १५ हजारसम्म पैसा निकाल्न मिल्छ। त्योभन्दा बढी रकम चाहिएको अवस्थामा धेरै पटक कार्ड प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ।
यसरी पटकैपिच्छे अर्को बैंकको एटिएममा कार्ड प्रयोग गर्दा शुल्क तिर्नुपर्ने बाध्यता छ। यदी नेटवर्क साझेदार भएका बैंकका हकमा भने २०, २५ वा ३० रुपैयाँसम्म शुल्क काटिने गरेको श्रेष्ठले बताए।
एटिएम नचल्ने समस्याका कारण थप शुल्क मात्रै होइन, समयसँगै गाडी भाडा वा इन्धन समेत खर्चिनुपर्ने वाध्यता कार्डवहाकलाई छ।
हाल नेपालमा एससिटी, भिसा तथा नेसनल पेमेन्ट नेटवर्कका कार्ड बैंकहरुले खातावाललाई दिने गरेका छन्। यी कार्ड र मेसिनले सपोर्ट गर्ने नेटवर्क नमिलेमा रकम निकाल्न मिल्दैन।
इमेर्जेन्सी अवस्थामा अर्को बैंकको एटिएमबाट निकाल्नुपरेको पैसामा काटिने शुल्क धेरैले सामान्य मानेका होलान्। तर दैनिक रुपमा यत्तिका संख्यामा एटिएम नचलेको भेटिनुले बैंकहरुको व्यवस्थापनका सवालमा भने प्रश्नचिन्ह भने थपिएको छ।
आखिर किन बारम्बार एटिएममा समस्या आउँछ ?नविल बैंक कार्ड डिपार्टका सुपरभाइजर अनुप दुवाडीका अनुसार एटिएममा समस्या देखिनुको प्रमुख कारण नेटवर्कको समस्या नै हो।
नेटवर्कले काम नगर्दा सिस्टम नै अवरुद्ध भई काम नहुने उनले बताए। त्यसबाहेक सानातिना पार्टपूर्जाहरु बिग्रिँदा पनि यस्तो समस्या आउने गरेको उनले जानकारी दिए। केही अवस्थामा भने पैसा सकिँदा एटिएमले काम गर्दैन। ‘पैसा सकिन लागेको जानकारी हामीले पहिले पाइहाल्छौँ, त्यस्तो केसमा आधा घण्टाभित्रै मेसिन सुचारु गर्न सक्छौँ’ उनले भने ‘तर नेटवर्कमै समस्या देखिए, केही बढी समय लाग्न सक्छ।’
ति समस्या समाधानका लागि बैंकले पहल गरिरहेको पनि उनले बताए। हिमालय बैंक कार्ड डिपार्टका अधिकारी शिवसुन्दर श्रेष्ठले कतिपय अवस्थामा धुलोले सेन्सरमा अवरुद्ध गर्ने भएकाले त्यतिबेला पनि एटिएम नचल्ने बताउँछन्। यद्यपी एटिएम नचलेको अवस्थामा आफूहरुले तुरुन्त कारण पत्ता लगाई समाधान गर्ने गरेको उनले दावी गरे।
‘शाखा नभई एटिएम मात्रै संचालन भएको अवस्थामा केही समय लाग्ने गरे पनि शाखासहित संचालनमा भएकाको हकमा भने एटिएमको समस्या धेरै समय रहन पाउँदैन’ उनले भने ‘२४ सै घण्टा संचालन हुने मेसिनमा बेलाबेलामा त अवश्य समस्या आउँछ नै।’
त्यस्तै पैसा अड्किने समस्या भएमा पनि एटिएमले काम नगर्ने गरेको उनको भनाइ छ। पुराना तथा पट्टिएका नोटका कारण पैसा अड्किने समस्या आउने उनले बताए।
‘हामीसँग नेटवर्क विच्छेद भइसकेपछि, त्यस ठाउँको एटिएम नचलेको थाहा हुन्छ, त्यसपछि हामी समस्याको समाधानतिर लाग्छौँ’ उनले भने।
नेटवर्कले काम नगर्ने अवस्था आएमा आफूहरुलाई पहिले नै जानकारी हुने गरेको कार्ड डिपार्टका अधिकारीहरु बताउँछन्। कतिपय अवस्थामा मेसिनका सामानहरु आउन समय लाग्ने हुँदा एटिएम त्यत्तिकै रहीरहने गरेको सम्वद्ध अधिकारीहरु बताउँछन्।